सभासद् पन्त भन्छन्, 'संविधान निर्माणको काम तलब नलिएरै गर्नुपर्छ'

(0 Votes)
कान्तिपुर संवाददाता

विराटनगर, वैशाख १८ - जेठ १४ मा नयाँ संविधान नआउने अवस्थामा म्याद थपिने भए सभासदले बिना ज्याला खट्नुपर्ने सभासद सुनीलबाबु पन्तले बताएका छन् । समलिंगी, तेस्रोलिंगी तथा यौन अल्पसंख्यकहरूको तीन दिने क्षमता अभिवृद्धि तालिम समापनमा आइतबार यहाँ आयोजित कार्यक्रममा उनले भने, ‘मस्यौदामा धेरै राम्रा कुरा समावेश भएका हुन् । तर, अहिले संवैधानिक समितिले ती कुरा सदनमा लैजाने वातावरण नबन्दा सभासद बेकामे भएका छन् ।’

प्रमुख दलहरूले धेरै समय सरकार बनाउने र मन्त्रालय बाँडफाटमै लगाएपछि संविधान निर्माणको बहस ओझेलमा परेको भनाइ उनले राखे । ‘अब पनि संविधानका सवालमा गंम्भीरता नहुने हो भने संक्षिप्त मस्यौदा ल्याउन पनि गाह्रो छ, उनले भने,‘तीन महिनालाई म्याद थपिन्छ भने सभासदहरू बिना सुविधा राज्यको कामका लागि खट्न तयार हुनुपर्छ ।’

यौन तथा लैंगिक अल्पसंख्यकहरू कुनै आरक्षणभन्दा प्रतिष्पर्धामा विश्वास राख्ने बताउँदै त्यसका लागि राज्यले वातावरण बनाउनुपर्ने उनले बताए । भने, ‘मैले पनि प्रतिनिधित्व गरेको क्षेत्रमा जवाफ दिनुपर्छ । मस्यौदामा हाम्रा कुरा समावेश भएकै हुन् । तर, संविधान बेटुंगे भएर अन्यौल भएको छ ।’ संविधानसभा विघटन गरेपनि हालकै प्रकृतिको प्रतिनिधित्व हुने भन्दै म्याद थपे सभासद र विषयगत समितिहरू बिना सुविधा काम गर्न तयार हुनुपर्नेमा उनको जोड थियो । ‘सुविधा नलिइ खट्ने कुरामा हाम्रा केही मित्रलाई मर्का पर्छ नै । तर, तयार हुनैपर्छ, उनले भने ‘म्याद थप्दै राज्यको सुविधा खाएर संविधान नदिने हो भने जनतालाई कहिलेसम्म ढाँट्ने ?’ सोमबार हुने युवा सभासदको छलफलले त्यस्तो कुन नयाँ निर्णय गर्नेमा आफु आशावादी रहेको उनले सुनाए । संविधानका लागि दलहरूको रवैयालाई जनताले चुप लागेर हेरीबस्नुको साटो दह्रो दवावको खा“चो अहिलेको आवश्यकता भएको उनले बताए ।

प्रकाशित मिति: २०६८ वैशाख १८ ०२:३९

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।