रागिनीको गाईजात्रा

(0 Votes)
कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र ४ - चित्रकार रागिनी उपाध्याय गाईजात्रे चित्रसहित ५३औं एकल कला प्रदर्शनीमा उत्रिँदै छिन् । गाईजात्रा आउने चार दिनअगावै बिहीबार उनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा गाईजात्रे चित्र प्रदर्शनीबारे गफिरहेकी थिइन् । 'मुलुकमा बार्‍है महिना गाईजात्रा भइरहेको छ,' शनिबारदेखि सुरु हुने 'गाईजात्रा नेपाल-२०१०' शीर्षकको चित्र प्रदर्शनीबारे उनले भनिन्, 'मुलुकमा भइरहने अनेक गाईजात्राबारे चित्र कोर्दै राखेकी थिएँ, तिनै चित्रलाई बाहिर ल्याउन चाहेकी हुँ ।'   

महजोडीद्वारा उद्घाटन गरिने प्रदर्शनीमा उनले गाईलाई देश र जनताको विम्बमा उभ्याएकी छन्, सिंहलाई शक्ति, सत्ता र कुर्सीको रूपमा । बिहीबारको पत्रकार भेटघाटमा उनले 'बाँडिएको नेपाल' शीर्षकको चित्र औंल्याउँदै मुलुक अहिले विभाजित मानसिकताबाट अघि बढिरहेको बताइन् । चित्रमा एउटा गाई चार रंग र भागमा विभाजित छ । टाउको र अघिल्तिरको खुट्टामा उभिएकी गाई गर्भवती छ, उसको नाभीबाट निस्केको तार एउटा नबल्ने बल्भमा जोडिएको छ । 'हिन्दु परम्प्ारामा गाईलाई आमा मानिने हुनाले यसलाई मातृभूमिको रूपमा उभ्याएकी हुँ,' चित्रबारे उनले भनिन्, 'यो नबल्ने बल्भचाहिँ हाम्रो भविष्य, जुन अँध्यारो छ ।'    

गाईलाई सिंहरूपी कुर्सीले निलेको चित्र पनि उनले प्रदर्शनीमा राख्दै छिन् । गाईजात्रे गतिविधिलाई हँसिमज्जाकको रूपमा लिइने भए पनि उनले आफ्ना चित्रहरू हाँसोभन्दा पनि वर्तमान राजनीतिले जनतालाई दिलाएको रोदन, क्रन्दन र निराशाको विषयमा भएको बताइन् । 'सबैतिर राजनीतिकरण छ,' उनले भनिन्, 'नेतालाई कुर्सी चाहिँदा हजारौं जनता सडकमा आउन सक्छन्, आफ्नै आधारभूत आवश्यकताका लागि चाहिँ किन बाहिर आउन सक्दैनन् ?' यो सन्दर्भलाई पनि चित्रमा समेटिएको बताउँदै उनले आफ्नो प्रदर्शनीबाट वर्तमान तीतो सत्यको उजागर हुने दाबी गरिन् ।

प्रकाशित मिति: २०६७ भाद्र ४ ०८:५७

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।