नेतृत्वका कारण कांग्रेसमा समाजवाद र राष्ट्रियताको मुद्दा कमजोरः युवा नेता

  • नेतृत्वका कारण कांग्रेसमा समाजवाद र राष्ट्रियताको मुद्दा कमजोरः युवा नेता सन्दर्भ बीपी जयन्ती

(0 Votes)
कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र २५ - बाह्रौ महाधिवेशन सफल पार्ने अभियानका साथ नेविसंघले शुक्रबार ललितपुरस्थित पार्टी कार्यालयमा बृक्षरोपण गरेको छ । वीपी जयन्तीको सन्दर्भ समेत पारेर राखिएको कार्यक्रममा नेविसंघका पूर्व अध्यक्षहरुले १२ वटा विरुवा रोपेका थिए ।

वीपी जयन्तीकै अवसरममा आयोजित छुट्टै कार्यक्रममा कांग्रेस युवा नेताहरूले संक्रमणकालीन अवस्थामा हुन लागेको पार्टीको महाधिवेशनमा चुनाव भन्दा वैचारिक पक्षलाई जोड दिन नेतृत्वलाई दबाब दिएका छन् ।

पार्टीका तीनै शीर्ष नेता उपस्थित कार्यक्रममा उनीहरूले नेतृत्वको असक्षमताले गर्दा नै बीपीले स्थापित गरेको प्रजातान्त्रिक समाजवाद र राष्ट्रियताका मुद्दा कमजोर हुँदै गएको उल्लेख गरे ।

महाधिवेशनमा प्रस्तुत गर्न पार्टीको केन्द्रीय समितिद्वारा तयार पारेको दस्ताबेजमा प्रजातान्त्रिक समाजवाद र राष्ट्रियताका मुद्दालाई प्राथमिकता नदिइएकोप्रति युवा नेताहरुले नेतृत्वको आलोचना गरेका हुन् ।

बीपीको ९७ औं जन्मजयन्तीका अवसरमा नेविसंघद्वारा राजधानीमा आयोजित 'बीपी चिन्तन र युवा विद्यार्थीको भूमिका' विषयक अन्तरक्रियामा उनीहरूले बीपीले अघि सारेको प्रजातान्त्रिक समाजवाद र राष्ट्रियताको मुद्दामा आधारित भएर पार्टी महाधिवेशनले स्पष्ट नीति र कार्यक्रम ल्याउनपर्नेमा जोड दिएका हुन् ।  

युवा नेताहरू चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गुरु घिमिरे, बद्री पाण्डे, उमेशजंग रायमाझीलगायतले राजनीतिक प्रणाली परिवर्तन भए पनि मुलुक र पार्टीलाई लोकतान्त्रिक पद्धतिमा डोर्‍याउन नसक्दा नै कांग्रेस कमजोर भएको बताए । उनीहरूको भनाइ कार्यवाहक सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेलसहितका नेताप्रति लक्षित थियो । परिवर्तनलाई व्यवस्थापन गर्न नसक्दा राष्ट्रियता कमजोर हुँदै गएको ठम्याइ उनीहरूको थियो ।

'संघीयता अहिले होटल र भट्टीमा बसेर नक्सांकन गर्ने माध्यम बनेको छ । गणतन्त्र ल्याएर बेइजिङ, दिल्ली र वासिङ्टनमा राजधानी बनाउने काम भएको छ,' भण्डारीले भने, 'हामीले खोजेको पञ्चायती राष्ट्रियता होइन । परिवर्तनलाई व्यवस्थापन गर्न नसक्दा अहिले राष्ट्रियतामाथि नै खतरा उत्पन्न भएको छ ।'

नेविसंघका पूर्वअध्यक्ष शर्माले पैसा र बलले शक्ति आर्जन गर्ने प्रवृत्तिलाई रोक्न नसकेमा महाधिवेशन हुनु र नहुनुमा अर्थ नरहने बताउँदै बीपीको समाजवादी कार्यक्रम महाधिवेशनमा घोषणा हुनुपर्ने बताए । 'संर्घषमा अब्बल रहेको कांग्रेस प्रजातान्त्रिक समाजवाद छाड्दा सत्ता सञ्चालनमा दुर्बल हुँदा संगठन कमजोर भएको हो,' उनले भने ।

अर्का विद्यार्थी नेता बद्री पाण्डेले सरकार सञ्चालन गर्दा पार्टी नेताहरूले उदारवादको मात्रै पक्षपोषण गरेर समाजवादलाई लाञ्छित गर्ने गरेको बताए । 'सुविधाभोगी नेता बनाउने उदारवादको अन्त्य हुनुपर्छ र व्यवहारमा समाजवाद खोज्नुपर्छ,' पाण्डेले भने, 'युवाहरूले पनि सुविधाभोगी राजनीति नभएर त्यागको राजनीति गर्नु पर्छ ।'

प्रकाशित मिति: २०६७ भाद्र २५ ०५:२२

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।