कोइराला प्यानल अझै बनेन
काठमाडौ, भाद्र २५ - कांग्रेस संस्थापन पक्षमा महामन्त्रीका दाबेदारबीच विवाद भएपछि महाधिवेशन सुरु हुन एक साता बाँकी रहँदा पनि सभापतिका प्रत्यासी सुशील कोइरालाको प्यानल बन्न सकेको छैन । संस्थापन पक्षका नेताहरूले बिहीबार अपराह्न महामन्त्रीका पाँचै जना दाबेदारलाई राखेर छलफल गराउन खोज्दा पनि सहमति हुन नसकेकाले प्यानल बन्न ढिलाइ भएको हो ।
स्रोतका अनुसार कांग्रेस नेतृ सुजाता कोइरालाले कुनै पनि आकांक्षीलाई महामन्त्रीको उम्मेदवारी छाड्न तयार भइनन् । सुजाताले कार्यवाहक सभापित कोइराला र उपसभापति रामचन्द्र पौडेललगायत नेतालाई 'तपाईंहरूले कहिले पो मलाई सहयोग गर्नुभएको थियो र मैले किन छाड्ने ?' भन्दै आग्रहलाई अस्वीकार गरेकी थिइन् ।
महामन्त्रीका अरू चार आकांक्षी उपसभापति प्रकाशमान सिंह, सहमहामन्त्री अर्जुननरसिंह केसी, नेता रामशरण महत र कृष्ण सिटौलाले आफूलाई नै उम्मेदवार बनाउनुपर्ने अडान व्यक्त गर्दै कोइराला, पौडेललगायतका नेताले गर्ने निर्णयलाई आफू मान्ने धारणा छलफलमा राखेका थिए । पाँचै जना आकांक्षीले आफू उम्मेदवार भएमात्र संस्थापन पक्षले महामन्त्री जित्ने दाबी गरेका छन् ।
कोइराला र पौडेललगायतले सुजातालाई उनीबाहेकका चार जनामध्ये कुनै एकलाई प्रस्ताव गर्न आग्रह गरे पनि उनले नमानेपछि निर्णय हुन नसकेको स्रोतले बतायो । सुजाताले संस्थापन पक्षले आफूलाई उम्मेदवार बनाए पनि नबनाए पनि आफू महामन्त्रीमा उठेरै छाड्ने बताएकी थिइन् ।
उता सभापतिका अर्का प्रत्यासी वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले एक साताअघि नै महामन्त्रीमा विमलेन्द्र निधि र कोषाध्यक्षमा महिला नेतृ चित्रलेखा यादवलाई उठाउने सर्वसम्मत निर्णय गरी प्रचार अभियान सुरु गरिसकेको छ ।
तेस्रो धारले समेत सभापतिमा भीमबहादुर तामाङ र महामन्त्रीमा नरहरि आचार्यलाई उठाउने निर्णय गरी देशव्यापी प्रचार थालिसकेको छ ।
महामन्त्रीको किचलोले गर्दा देउवा पक्ष बलियो हुने हो कि भन्ने चिन्ता संस्थापन पक्षका नेता तथा कार्यकर्तामा बढेको छ ।
छलफलमा महामन्त्रीमा सुजातालाई उठाउँदा परिवारवादको आरोप लाग्ने र त्यसले देउवा पक्षलाई बल पुग्ने भन्दै सम्झाउने प्रयास गर्दा उनले तत्कालीन सभापति गिरिजाप्रसादले महामन्त्रीमा सुशीललाई ल्याएको उदाहरण दिँदै परिवारवादको कुरा नझिक्न भनेकी थिइन् ।
'मलाई बर्सिदिन आग्रह गर्नुभयो, उहाँहरूले जसलाई निर्णय गरे पनि म पनि उठ्छु, मैले छलफलबाट बाहिरिँदा पनि त्यही भनेको छु,' सुजाताले कान्तिपुरसित भनिन् ।
संस्थापन पक्षले कोषाध्यक्षमा दीपकुमार उपाध्याय र पद्मनारायण चौधरीमध्ये एकलाई उम्मेदवार बनाउने सम्भावना छ । छलफलमा सहभागी केही नेताले भने महामन्त्रीका दाबेदार कुनै एकलाई कोषाध्यक्षको उम्मेदवार हुन मनाउनुपर्ने धारणा राखेका थिए ।
प्रकाशित मिति: २०६७ भाद्र २५ ०८:३०

















तपाईंको प्रतिकृया