कामचलाउ सरकारको वैधतामा प्रश्न

(3 Votes)
लोकमणि राई

काठमाडौ, भाद्र २५ - राष्ट्रसंघीय महासचिव बान कि मुनले सरकारको वैधतामाथि प्रश्न उठाउँदै अनमिनको कार्यादेशबारे नयाँ सरकारसँग छलफल गरी निक्र्यौल गर्नुपर्ने धारणा राखेका छन् । उनले अनमिनको समयावधि पुरानै कार्यादेशमा थप्न सुरक्षा परिषद्समक्ष आग्रह समेत गरेका छन् ।

महासचिवले नेपालमा कामचलाउ सरकार भएको र राजनीतिक दलहरू सरकार निर्माणमा केन्दि्रत रहेको उल्लेख गर्दै अनमिनको भूमिकाबारे नयाँ सरकारसँग छलफल गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

'यो परिस्थितिमा विधिवत् गठन हुने सरकारसँग आवश्यक छलफलका लागि समय उपलब्ध गराउन हालकै कार्यादेश थमौती गर्न म परिषद्समक्ष आग्रह गर्छु,' उनले बुधबार परिषद्मा प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले सरकारको वैधतामा प्रश्न गर्ने काम राष्ट्रसंघको नभएको प्रतिक्रिया दिए ।

'नेपालको संविधान र कानुनी प्रक्रिया अनुसार गठन भएको सरकारको वैधतामाथि प्रश्न उठाउने काम राष्ट्रसंघको होइन,' मन्त्री पोखरेलले कान्तिपुरलाई भने, 'राष्ट्रसंघको पक्ष राष्ट्र भएकाले उसले सरकारको प्रस्तावको सम्मान गर्नुपर्छ, कुनै एक पक्षको कुरामा लाग्नु हुँदैन ।'

नयाँ सरकारसँगको छलफलबाट भूमिकामा स्पष्टता नआए अनमिनको कार्यादेश अन्त्य गर्नेलगायत अन्य वैकल्पिक उपायमा जाने प्रस्ताव पनि बानले परिषद्समक्ष गरेका छन् । 'छलफलबाट मिसनको भूमिकामा स्पष्टता नआए वा विस्तृत शान्ति सम्झौता र हतियार तथा सेनाको व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताका पक्षहरूले सेनाहरूसम्बन्धी प्रतिबद्धता पूरा गर्न समय तोकी यथार्थपरक प्रतिबद्धता र अनमिनको अनुगमन अन्त्य गर्नेमा सहमति जनाउने सम्भावना नभए अनमिनको कार्यादेश अन्त्य गर्ने सम्भावनाका साथै अन्य वैकल्पिक उपायहरू प्रस्ताव गर्छु,' उनको प्रतिवेदनमा उल्लेख छ ।

विस्तृत शान्ति सम्झौताको आशय विशेष समितिका माध्यमबाट आधार निर्धारण गरी माओवादी सेना समायोजन तथा पुनःस्थापना गर्नुपर्ने र मन्त्रिपरिषद्बाट निर्धारण हुने नेपाली सेनाको लोकतान्त्रीकरण गर्नुपर्ने रहेको राष्ट्रसंघको बुझाइ छ । 'दुवै सेनाको भविष्य तत्काल सम्बोधन नभए दुःखले आर्जिएको शान्ति प्रक्रियाको सफलतामा आउने गम्भीर परिणामप्रति धेरै अघिदेखि सचेत गराउँदै आएको छु,' प्रतिवेदनमा भनिएको छ, 'शिविरमा व्यग्रता बढ्ने र समय बित्दै जाँदा सहमति जनाएका प्रतिबन्ध पालना गर्न राज्य र सेनालाई कठिनाइ हुनेप्रति मैले पहिल्यै ध्यानाकर्षण गराइसकेको छु ।'

बानले सम्झौता र वार्ताजस्ता सहमतीय प्रक्रियाबाट समाधान हुनुपर्ने बताएका छन् । उनले शान्ति प्रक्रियाका पक्षहरूलाई गम्भीर र अनवरत राजनीतिक संवादका लागि गरिएका प्रयास अझ बढाउन आह्वान गरेका छन् । उनले भनेका छन्, 'समय बित्दै जाँदा राजनीतिक सन्दर्भमा पहिलेका सम्झौता उल्लंघनका घटना थपिँदै जाने भएकाले सबै पक्षले नेपाली सेना र माओवादी लडाकुबारे भएका प्रतिबद्धता सम्मानका लागि अझ बढी प्रयास गर्नुपर्छ ।'

उनले प्रतिवेदनमार्फत अनमिनको भूमिकाको बचाउ पनि गरेका छन् । 'कार्यादेश बाहिरका विषयमा मुछेर मिसनलाई पटकपटक बलिको बोको पनि बनाइएको छ,' उनले भनेका छन्, 'राष्ट्रसंघको इच्छा अनमिनले आफ्नो काम सकोस् र फर्कोस् भन्ने हो ।

 

 

प्रकाशित मिति: २०६७ भाद्र २५ ०८:२९

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।