फोरमका सभासद्लाई मतदानमा सहभागी हुन दिइएन/अर्को चुनाव असोज १० गते
सहयोगी लिङ्कहरू
काठमाडौ, भाद्र २३ - मधेशी फोरम लोकतान्त्रिकका आधाभन्दा बढी सांसद माओवादीका पक्षमा देखिएपछि पार्टी नेतृत्वले बैठक लम्ब्याएर उनीहरुलाई मतदानबाट बञ्चित गरेको छ । पार्टीले औपचारिक रुपमा भने मंगलवार भएको सातौं चरणको प्रधानमन्त्री निर्वाचन बहिस्कार गरेको जनाएको छ ।
संसदमा मतदान प्रक्रिया अपरान्ह ३ बजे सुरु भएको थियो । उता लोकतान्त्रिकको संसदीय दल बैठक बिहान ११ बजेका लागि डाके पनि करिब २ बजेमात्रै सुरु गरिएको थियो ।
दलको बैठकमा आधाभन्दा बढी सभासद्ले माओवादीलाई मतदान गर्न दबाब दिएपछि अध्यक्ष विजयकुमार गच्छदारले बैठक लम्ब्याएर प्रधानमन्त्री चुनावमा भाग लिनबाट बञ्चित गरेको उनकै पार्टीका एक सभासद्ले बताए । लोकतान्त्रिकका २८ सभासद् छन् ।
करिब १५ सभासद्ले माओवादी उम्मेदवार पुष्पकमल दाहाललाई मत दिनुपर्ने धारणा राखेपछि संसद्मा मतदान सुरु भएपछि पनि बैठकलाई निरन्तरता दिइएको थियो । 'संसद्मा बैठक सुरु हुँदा भर्खर एजेण्डामा प्रवेश गरेका थियौं,' लोकतान्त्रिकका सभासद् तिलक रावलले भने ।
सभामुख सुवासचन्द्र नेम्वाङले घण्टी बजाएर संसद बैठक थाल्दा लोकतान्त्रिकका सभासद् आफ्नै दलको सिंहदरबास्थत कार्यालयमा छलफलमा व्यस्त थिए । 'मुलुकलाई अनिर्णयको बन्दी बनाउन हुन्न भनेर निर्णायक शक्तिलाई मत दिनुपर्छ भन्यौं,' सभासद् रावलले कान्तिपुरसित भने, 'अब हाम्रो पार्टी तटस्थ बस्न सक्दैन ।' यो पार्टी र ऊ पार्टीभन्दा पनि जसलाई दिंदा मुलुक निकासमुक्त हुन्छ उसैलाई मत दिने आफूहरुको भनाई रहेको रावलले जनाए ।
संविधानसभा दलको वैठकमा सभासद्हरु रावल, प्रमोदप्रसाद गुप्ता, वकिल मुसलमान, निलम बर्मा, करिमा बेगम, लिलादेवी मेहता, आशाकुमा सरदार, सेवकी दास, कौशल यादबलगायतले दाहालका पक्षमा मतदान दिन दबाब दिएका थिए ।
'कांग्रेसका उम्मेदवार पौडेलभन्दा माओवादीका उम्मेदवार दाहालको संभावना बढी भएकाले माओवादीलाई मत दिनु उचित ठानेका हौं,' रावलले थपे, 'जतिसक्दो छिटो मुलुकलाई निकास दिनुपर्ने मान्यता हो ।'
तर, अध्यक्ष गच्छदारले मंगलवारको चुनावमा कसैलाई पनि भोट नदिउँ भनेर बैठकलाई निरन्तरता दिएको लोकतान्त्रिकका नेता एवं कृषिमन्त्री मृगेन्द्रसिंह यादबले बताए । 'केही सभासद्ले तटस्थता तोडेर अघि बढौं भने पनि मंगलवारको चुनावमा तटस्थ बसौं भन्ने अध्यक्षको जोड थियो,' यादबले मंगलवार कान्तिपुसत भने, 'असोज १० को चुनावमा तटस्थता तोडिन सक्छ ।'
माओवादीलाई भोट हाल्न दबाब परे पनि पार्टीले अहिले नै त्यस्तो कुनै निर्णय नगरेको यादबले बताए । अर्को चुनावमा लोकतान्त्रिक एक्लै निर्णय गरेर मतदानमा भाग लिन सक्ने उनले जनाए ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका अन्य दुई घटक तमलोपा र सद्भावना पार्टी भने मंगलवारको बैठकमा तटस्थ नै बस्यो । मोर्चाबाट अलग भएको उपेन्द्र यादब नेतृत्वको मधेशी फोरमले पनि मंगलवारको बैठकमा मतदान गरेन । माओवादीलाई मतदान गर्नसक्ने संकेत गरेपनि अरु दलले साथ नदिएको अवस्थामा उसलाई मतदान गर्नु निरर्थक हुने भन्दै फोरमले मतदान नगरेको हो ।
आठौं चुनाव असोज १० गते
मंगलबार सातौं चरणको चुनावबाट समेत प्रधानमन्त्री चयन नभएपछि अर्को मतदान असोज १० गते हुने भएको छ । मंगलवारको सातौं चरणको चुनावमा पुष्पकमल दाहाल र रामचन्द्र पौडेलमध्ये कसैले स्पष्ट बहुमत हासिल गर्न सकेका थिएनन् ।
माओवादी उम्मेदवार दाहालले दुई सय ५२ मत पाए भने कांग्रेसका पौडेलले एक सय १९ । दाहालको मतदान हुँदा ५ सय २१ सभासद् सहभागी भएकामा एक सय ५९ मत तटस्थमा र विपक्षमा एक सय १० मत परेको थियो । त्यस्तै पौडेलको मतदानमा कुल ५ सय १५ सभासद् सहभागी भएकामा एक सय ५१ तटस्थ र दुई सय ४५ विपक्षमा परेको थियो ।
बहुमत हासिल गर्न तीन सय मत आवश्यक पर्छ । मंगलबारको चुनावमा पनि एमालेलगायत साना दल तटस्थ बसेका थिए ।
प्रकाशित मिति: २०६७ भाद्र २३ ०१:१९














तपाईंको प्रतिकृया