प्रधानमन्त्री निर्वाचनका विषयमा माओवादीभित्र दुई धार
सहयोगी लिङ्कहरू
काठमाडौ, भाद्र २२ - सातौं पटक पनि प्रधानमन्त्री चयन हुन नसकेपछि माओवादी अन्यौलमा परेको छ । उसको पक्षमा समर्थन बढेकाले आउँदो निर्वाचनमा सरकार बन्ने सम्भावना देखेको छ ।
माओवादीले मात्र उम्मेदवार फिर्ता लिंदा सहमति बन्ने सम्भावना न्यून भएको र त्यबाट कांग्रेसलाई सजिलो हुने निश्कर्ष उसको छ । आउँदो निर्वाचनमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सभासदको मत प्राप्त गर्न सक्ने संकेत माओवादीले पाएको छ । फोरमको समर्थन र फोरम लोकतान्त्रिकभित्रको विवादले उसलाई उत्साहित बनाएको छ । त्यसैले असोज १० गते हुने प्रधानमन्त्री निर्वाचनलाई 'एक पटक हेर्ने' मनस्थितिमा माओवादी पुगेको छ ।
यसअघि उसले छैटौं चरणको निर्वाचनपछि यो प्रक्रियामा पुनर्बिचार गर्ने पक्षमा देखिएको थियो । अध्यक्ष पुष्पकमल दाहालले 'मुलुकलाई चक्रव्युहु' बाट मुक्त गर्न निर्वाचन प्रक्रियामा पुनर्बिचार गर्ने बताएका थिए ।
कांग्रेसले उम्मेदवार फिर्ता नगरेसम्म प्रक्रियामा सहभागी भइरहने स्थायी समिति सदस्य बर्षान पुनले बताए । 'यो प्रक्रियाबाट कांग्रेस पछाडि नहटेसम्म माओवादी हट्दैन' उनले इकान्तिपुरसंग भने- 'त्यसबेला प्रक्रिया जारी राख्नुपर्ने हुन्छ ।'
उनले उम्मेदवार फिर्ता लिएरपछि के गर्ने भन्ने बिषयमा माओवादी स्पष्ट छैन । माओवादीले उम्मेदवार फिर्ता लिएर संसदीय प्रक्रिया छाड्नु उचित नहुने बिचार पनि माओवादीमा छ । 'यो संसदीय प्रक्रिया छाडेर के गर्ने भन्ने स्पष्ट छैन' एक स्थायी समिति सदस्यले भने- 'त्यसकारण यही प्रक्रियामा सहभागी हुनु बाध्यता छ ।'
सचिब सीपी गजुरेलले निर्वाचन 'गाईजात्रा जस्तो' भएको भन्दै प्रक्रियबारे पुनर्बिचार गर्नु पर्ने अवस्था आएको बताए । 'यो प्रक्रिया गाईजात्रा जस्तो भएको छ' उनले भने- 'यसमा कति दिन जाने ? अब पार्टी दह्रो निर्णय गर्नुपर्ने बेला आएको छ ।'
मंगलबारको निर्वाचनपछि प्रधानमन्धी माधबकुमार नेपालसंग माओवादी अध्यक्ष दाहालले 'यसै लाज भयो, उसै लाज भयो' आफूसंग भनेको बताएका थिए । यसबाट दाहाल निर्वाचन प्रक्रियाबाट पछि हट्ने मनस्थितिमा नभएको संकेत मिल्छ ।
आफ्नो पक्षमा समर्थन गर्ने पार्टी थपिएकाले सरकार बन्न संभावना उसले देखेको छ । 'फोरम लोकतान्त्रिकका सभासद्लाई सिंहदरबारमा नरोकेको भए मंगलबारै हाम्रो सरकार बन्थ्यो' प्रवक्ता दीनानाथ शर्माको दाबी छ- 'अर्को निर्वाचनमा फोरम लोकतान्त्रिकका सभासदले माओवादीलाई मत दिने बताएका छन् ।'
यसअघि माओवादीले उम्मेदवार फिर्ता लिन तयार भएको बताएर सहमतिको पक्षमा देखाउन खोजेका छ । यसले एमालेलाई तटस्थ बस्न बल पुर्याएको छ । एमाले तटस्थ बस्नु भनेको अन्ततः माओवादीको सरकार बन्ने वातावरण बन्नु हो । ऊ तटस्थ बसेकै कारण मुलुक अनिर्णको बन्दी भएको भन्दै मधेशी जनअधिकार फोरम माओवादीलाई समर्थन गर्ने पक्षमा देखियो । फोरम लोकतान्त्रिकका पनि तटस्थ नबस्न नेतृत्वलाई दबाव पर्न थालेको छ ।
'अहिले उम्मेदवार फिर्ता लिने सोचेका छैनौ' उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने- 'अर्को निर्णय नहुँदासम्म यही प्रधानमन्त्री प्रक्रिया जारी रहन्छ ।' यो प्रक्रियाबारे छलफल गर्न बिहीबार माओवादीले स्थगित केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकको सरकार निर्माण प्रक्रिया सम्बन्धी प्रस्ताव छ ।
प्रकाशित मिति: २०६७ भाद्र २२ ११:५९














तपाईंको प्रतिकृया