राजधानीमा पनि खेताला शिक्षक छानविन

(1 Vote)
कान्तिपुर संवाददाता

काठमाडौं, भाद्र २२ - सरकारी विद्यालयमा 'खेताला शिक्षक रहे/नरहे' को बारे छानविन गरिने भएको छ । तीनवटै जिल्लामा शिक्षा समितिको छुट्टाछुट्टै बैठक बसी छानविन गर्ने निर्णय गरेका हुन् ।

'यो विषयलाई हामीले गम्भीररूपले लिएका छौं', समितिको बैठकपछि काठमाडौंका शिक्षा अधिकारी ज्ञानी यादवले ईकान्तिपुरसित भने, 'तत्काल विद्यालय निरीक्षकलाई एकिन विवरण माग गर्ने निर्णय भएको छ ।' काठमाडौंमा प्रावि, निमावि र मावि तह गरी ४ हजार १ सय ५६ शिक्षक कार्यरत रहेको उनले जानकारी दिए ।

ललितपुरका शिक्षा अधिकारी नारायण भट्टराईले जिल्लाभरिमा १ हजार ५ सय ६३ शिक्षक कार्यरत रहेको जनाएका छन् । 'आफूखुसी सट्टा शिक्षक छन्/छैनन् छानविन गर्ने क्रममा छौं', उनले भने, 'विद्यालयका प्रधानाध्यापकलाई जानकारी नदिई सम्पर्कमा नआएका भन्ने खबर पनि पाएकाले अब त्यस्ता शिक्षकलाई कारबाहीको प्रक्रियामा लाउँछौं ।'

राजधानीका अधिकांश सरकारी विद्यालयमा काज सरुवा भएर काम गर्ने शिक्षक छन् । जसमा व्यावहारिक समस्या देखाएर काजमा रहे पनि राजनीतिक प्रभावका आधारमा बस्दै आएका छन् । देशकै सानो जिल्ला भक्तपुरमा प्रावितर्फ ८ सय ७२, निमाविमा २ सय ५ र माविमा १ सय ७७ शिक्षक कार्यरत रहेको त्यहाँका कर्मचारीले जनाएका छन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता जनार्दन नेपालले सबै शिक्षा कार्यालयहरूमा शिक्षकका स्थिति, गतिविधि अविलम्ब पठाउन र कारबाही प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेको जनाएका छन् । 'जिशिअहरूलाई तथ्यांक लेऊ, नियम मिच्नेलाई कारबाही प्रक्रिया चलाऊ भनेर पत्राचार भइसकेको छ', उनले कान्तिपुरसित भने, 'ठाउँठाउँमा त्यस्ता गल्ती गर्ने शिक्षकले राजीनामा दिन थालेको पनि खबर आएको छ ।' शिक्षा कार्यालयले अनुगमन र मूल्यांकन कार्य प्रभावकारी बनाउन राजनीतिक दलहरू तथा अन्य पक्षले समेत सहयोग गर्नुपर्ने उनले जोड दिए ।

प्रकाशित मिति: २०६७ भाद्र २२ १२:११

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।