छैटौं पटक पनि हारे दाहाल र पौडेलले (प्रत्यक्ष जानकारी)

(6 Votes)
कान्तिपुर संवाददाता

८१

काठमाडौं, भाद्र २० - प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ भयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बहुमत पुर्‍याएनन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट आइतबारमात्र अलग भएको मधेसी जनअधिकार फोरम प्रधानमन्त्री निर्वाचनमा सहभागी भएन । फोरमको बैठक 'संविधानसभामै निर्णय गर्ने' भन्दै सकिएको थियो । 

आइतबारको निर्वाचनमा पनि एमाले, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध फोरम लोकतान्त्रिक, तमलोपा र सद्भावना, नेकपा माले, नेकपा संयुक्त लगायतका दल तटस्थ बसे । 

कुनै एक उम्मेदवारले बहुमत प्राप्त नगरेसम्म मतदानको प्रक्रिया दोहोरिँदै जाने संसद् नियमावलीको व्यवस्थाअनुसार आइतबार छैटौं पटक पनि दाहाल र पौडेलबीच प्रतिस्पर्धा भएको हो ।

  निर्वाचनबारे प्रत्यक्ष जानकारी (ताजा जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्)

- कार्यव्यवस्था परामर्स समितिको बैठकले आगामी बैठक मंगलबार दिउँसो ३ बजे बस्ने निर्णय गरेपछि आइतबारको संसद् बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।

-   प्रधानमन्त्री निर्वाचनका लागि अर्को मिति तय गर्न व्यवस्थापिका संसद्को बैठक आधा घण्टाका लागि स्थगित भएको छ । कार्यव्यवस्था समितिको बैठकपछि बस्ने संसद् बैठकले प्रधानमन्त्री चयनका लागि नयाँ तिथि घोषणा गर्ने छ ।

-    पौडेलले पनि स्पष्ट बहुमत (३०१) पुर्‍याउन नसकेपछि उनको प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरेका छन् ।

-    कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल छैटौं पाँचौ पटक पनि पराजित भएका छन् । उनको पक्षमा १२२  मत परेको थियो । यस्तै पौडेलको विपक्षमा २४२  र तटस्थमा १७२ मत परेको छ । मतदान प्रक्रियामा ५३६ सभासद सहभागी भएका थिए ।

-    पौडेलको प्रस्तावका सम्बन्धमा मत विभाजन सुरु भएको छ । कांग्रेस सभासदहरु पक्षमा मतदान गर्न गएका छन् भने माओवादी, एकीकृतलगायतका सभासद विपक्षमा मतदान गर्न गएका छन् । एमाले, मधेसवादीसहित साना दलका सभासदहरुले तटस्थमा मतदान गरेका छन् ।

-    संविधानसभा बैठक बाहिर रहेका सभासदहरुलाई भित्र प्रवेश गर्नका लागि पाँच मिनेटसम्म घण्टी बजाइएको छ ।

-    कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलका प्रस्तावक शेरबहादुर देउवाले पौडेललाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी गरेको प्रस्तावलाई पुनः निर्णायार्थ पेस गरिएको छ ।

-    संविधानसभा बैठक बाहिर रहेका सभासदहरुलाई भित्र प्रवेश गर्नका लागि पाँच मिनेटसम्म घण्टी बजाइएको छ ।

-    दाहालले स्पष्ट बहुमत (३०१) पुर्‍याउन नसकेपछि उनको प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरेका छन् ।

-    माओवादी उम्मेदवार पुष्पकमल दाहाल आज छैटौं पटक पनि पराजित भएका छन् । उनको पक्षमा २४०  मत परेको थियो । यस्तै दाहालको विपक्षमा १०१ र तटस्थमा  १६३  मत परेको छ । मतदान प्रक्रियामा  ५०४  सभासद सहभागी भएका थिए ।

-    मतदानका बेला बन्द गरेका प्रवेशद्वारा खोल्न सभामुखले आदेश दिएका छन् ।

-    सभामुख सुवासचन्द्र नेम्वाङले आफ्नो मत सच्याउन चाहने सभासदहरुका लागि तीन मिनेटको समय प्रदान गरेका छन् । सच्याउन चाहने सभासदहरुले ड्यासमा गएर मत सच्याउन सक्ने नेम्वाङले जानकारी दिएका छन् ।

-    मतदान सकिएपछि मतगणना सुरु भएको छ । संसदका कर्मचारीहरुले अहिले मतगणना गरिरहेका छन् ।

-    मतदान सकेर सभासदहरु फर्किनेक्रम सुरु भएको छ । 

-    तटस्थमा मतदान गर्ने सभासदहरु छुट्टै स्थानमा गएका छन् । यस्तै प्रस्तावको पक्षमा मतदान गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु आफूलाई छुट्याएको स्थानमा गएका छन् । विपक्षमा मतदान गर्न कांग्रेसका सभासदहरु छुट्टै स्थानमा गएका छन् ।

-    माओवादीका पुष्पकमल दाहालका प्रस्तावक बाबुराम भट्टराईले दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी गरेको प्रस्तावलाई पुनः निर्णायार्थ पेस गरिएको छ ।

-    संविधानसभा बैठकभित्र प्रवेश गर्ने सवै ढोकाहरुलाई बन्द गर्न सभामुखको निर्देशन ।

-    संविधानसभा बाहिर रहेका सभासदहलाई बैठकमा प्रवेश गर्नका लागि सूचना दिन पाँच मिनेटसम्म घण्टी बजाइएको छ ।

-    विभाजन घण्टा बज्न सुरु भएको थियो, यो ५ मिनेटसम्म बजिह्यो ।

-    सभामुख सुवासचन्द्र नेम्वाङले निर्वाचन प्रक्रियाबारे जानकारी गराएका छन् ।

-    प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसद् बैठक सुरु भएको छ । बैठक सुरु भएको जनाउ घण्टी बज्न सुरु भएको छ ।

-   संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट आजमात्र अलग भएको मधेसी जनअधिकार फोरम प्रधानमन्त्री निर्वाचनमा सहभागी भएन ।

-   यसअघि प्रधानमन्त्री चयनका लागि बसेको व्यवस्थापिका संसदको बैठक समयमै सुरु भएपछि आज भने अधिकांश सभासद्हरु बैठकस्थलमा पुगेका छन् । चौथो चरणको निर्वाचनमा सभासद्हरु ढिला आउँदा धेरै मतदान दिनबाट बञ्चित भएका थिए ।

-    प्रधानमन्त्रीका उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल संविधानसभा बैठकस्थलमा आइपुगेका छन् । यस्तै एमाले अध्यक्ष झलनाथ खनालसहित २६ वटै दलका शीर्ष नेता तथा सभासद्हरु संविधानसभामा उपस्थित छन् ।

-    लगातार भएका निर्वाचनमा पनि दलहरु प्रधानमन्त्री चयन गर्न असक्षम भएको भन्दै दबाबका लागि संविधानसभा बाहिर जनजाति महासंघका पदाधिकारी तथा अधिकारकर्मीहरु धर्नामा छन् ।

-    पाँच पटकसम्म भएको निर्वाचनमा पनि प्रधानमन्त्री चयन हुन नसकेपछि आज पुनः चुनाव हुँदैछ । निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल मैदानमा छन् ।      

 

 

प्रकाशित मिति: २०६७ भाद्र २० ०३:१७

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।