प्रधानमन्त्री चुनाव पाँच दिनपछि

(0 Votes)
कान्तिपुर संवाददाता

काठमाडौं, भाद्र २ - प्रधानमन्त्री पदका बुधबारका लागि तय भएको निर्वाचन पाँच दिनपछि सारिएको छ । माओवादी सभासद् रामकुमारी यादवको निधनका कारण प्रधानमन्त्री निर्वाचनको पूर्वनिर्धारित कार्यक्रम सारिएको हो ।

कार्यब्यवस्था परामर्श समितिको बुधबार बसेको बैठकले आगामी भदौ ७ गते दिउँसो तीन बजेका लागि निर्वाचन सारिएको संसद् सचिवालयका सह-सचिव लवप्रसाद गौतमले जानकारी दिए ।

शोक प्रस्ताव पारित गरेपछि नियमित कार्यसूचिमा प्रवेश नगर्ने संसदको सामान्य परम्परा अनुसार प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सारिएको हो । मंगलबार बस्ने बैठकले शोक प्रस्ताव पारित गर्ने छ । सदनमा अति महत्वपूर्ण कार्यसूचीका भएको अवस्थामा भने पूर्वनिर्धारित कार्यक्रम सकेर मात्र शोक प्रस्ताव पारित गर्ने पनि गरिएको छ । तर चुनावका लागि सहमति नजुटेकाले निकास निस्कने सम्भावना नभएपछि निर्वाचन सार्न दलहरु सहमत भएका छन् ।

सभामुख सुवास नेम्वाङको कार्यकक्षमा माओवादी, कांग्रेस र एमालेका मुख्य सचेतकहरुबीच मंगलबार भएको अनौपचारिक छलफलमा चुनाव सार्ने सहमति भएको थियो । मधेशमा विशेष प्रभाव र भावनात्मक सम्बन्ध राख्ने नेतृ भएकाले पनि माओवादीले यादवको शोकमा प्रधानमन्त्री निर्वाचन कार्यक्रम स्थगन गर्न प्रस्ताव गरेको थियो । गत शुक्रबार राजधानीको आफ्नै डेरामा खाना पकाउने ग्याँस चुहिएर भएको आगलागीमा परि गम्भीर घाइते भएकी सभासद् यादवको शनिवार नयाँ दिल्लीको एक अस्पतालमा निधन नभएको थियो ।

शोक प्रस्ताव पारित गरी स्थगित बैठक लगत्तै अर्कोदिन गर्ने संसदीय परम्परा छ । तर कांग्रेसले बिहप्बार र शुक्रबार पार्टी जिल्ला अधिवेशनको पूर्व निर्धारित कार्यक्रम रहेकाले ती दिनहरुमा निर्वाचन कार्यक्रम राख्न नसकिने जनाउ दिएको थियो ।

यसअघि साउन २, ५, ७, १७ र २१ गते भएका मतदानमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द पौडेल दुवै आवश्यक बहुमत जुटाउन असफल भएका थिए । दलहरुबीच बहुमतीय सरकारका आवश्यक गठनबन्धन नबनेकाले बुधबार निर्वाचन भए पनि परिणाम नआउने निश्चित प्रायः थियो । विगतका चार निर्वाचनमा झैं तटस्थ बस्ने एमाले र मधेशी मोर्चाको अडान नफेरिएसम्म कुनैपनि उम्मेदवारले बहुमत पुर्‍याउन सक्ने अवस्था छैन ।

प्रकाशित मिति: २०६७ भाद्र २ ०२:४५

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।