उचाइको पुलमा अन्तिम धोको...

(4 Votes)
कान्तिपुर संवाददाता

पर्वत, भाद्र २ - यहाँ निर्मित मुलुककै अग्लो झोलुंगेपुलमा अन्य दिनको तुलनामा आइतबार निकै घुँइचो देखिन्थ्यो । पुलमा आवतजावत गर्नेहरूसमेत पुलको छेउ र बीच भागमा बसेर पुलमा भइरहेका गतिविधि नियाल्ने प्रयास गरिरहेका थिए ।

लोकदोहोरी गायक भीम बी पौडेल र विष्णु माझीको स्वरमा तयार भएको 'अन्तिम धोको' नामक एल्बमको दुइटा गीतको भिडियो सुटिङले सबैलाई पुलसम्म तानेको थियो । अग्लो पुलमा पहिलोपटक छायांकन गरिएको भिडियोको अधिकांश दृश्य पुलमा छायांकन गरिएका छन् ।

पुलको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक अग्लो पुलमा म्युजिक भिडियो छायांकन भएको हो । १ सय ३५ मिटर अग्लो पुलमा पौडेलको उक्त एल्बमको 'सम्झी ल्याउँदा यो मन रोको छ...' र 'पाएमा बिदा म घर आउँला...' नामक गीतको भिडियो छायांकन गरिएको हो ।

कटुवाचौपारी गाविसलगायत दर्जनभन्दा बढी गाविसलाई सदरमुकाम कुश्माबजारसँग सीधै जोड्ने गरी निर्मित उक्त पुलको बीचभागको दृश्य भिडियोमा कैद गरिएको छ । सशस्त्र प्रहरी बलमा प्रहरी हवल्दारका रूपमा कार्यरत पौडेल यहीँका स्थानीय बासिन्दा हुन् ।

भिडियोमा स्थानीय सिसेफ नेपालका कलाकारहरूले अभिनय गरेका छन् । आईभीएम फिल्मस् काठमाडांैको निर्देशनमा भिडियो निर्माण गरिएको हो । भिडियोमा मनीषा क्षेत्री र तिलकुमारी पुनले मुख्य रूपमा अभिनय गरेका छन् । पर्यटन वर्षको सुरुवात् सँगै मुलुककै पहिचान बोकेको अग्लो पुललाई म्युजिक भिडियोमार्फत् चिनाएर बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भडियो छायांकन पुलमा गरिएको सिसेफ नेपालका कोषाध्यक्ष थमनारायण पौडेलले बताए ।   

 पौडेल जनताको सुरक्षामा खटिँदै सांगीतिक क्षेत्रमा पनि हात हाली स्वर निखार्ने सुरमा

छन् । गएको वर्ष उनले 'धनीसँग जाउली जानलाई...' नामक गीतिएल्बम बजारमा ल्याएका थिए । तर उनको यो म्युजिक भिडियो भने पहिलो हो ।  चार वर्षअघिदेखि राष्ट्रसेवकको पदक भिरेका पौडेलले आफूलाई कलाकारिताको क्षेत्रमा प्रवेश गर्न साथी, समाज र अग्रज कलाकारले हौसला र प्रेरणा दिएकाले यो क्षेत्रमा आएको बताउँछन् ।

भिडियो मौसमअनुकूल ३ दिनसम्म पुलमा छायांकन गरी दुई साताभित्र बजारमा ल्याउने आईभीएम फिल्मस्का निर्देशक जीवन रसाइलीले बताए । पुल सञ्चालनमा आएको ५ महिना अवधिमा पहिलोपटक म्युजिक भिडियो सुटिङ भएको पुल निर्माण समितिका अध्यक्ष शिव शर्मा पौडेलले बताए । पौडेलले पुलमा म्युजिक भिडियो र चलचित्र सुटिङका लागि आउने भन्ने गरे पनि अहिलेसम्म नआएको बताए ।  

 

प्रकाशित मिति: २०६७ भाद्र २ ०९:०१

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।