तेहृ वर्षिया बालिका सुत्केरी/ बुहारी स्वीकार गर्नुपर्ने भएपछि केटाको परिवार नै फरार

(20 Votes)
घनश्याम गौतम

३०

अन्तरजातीय प्रेम विवाह गर्ने प्रलोभनमा पारेर धुर्कोट बस्तु गाविस- ३ का रामचन्द्र पाण्डेसंगको यौन सम्पर्कबाट जन्माएकी छोरी र दलित किशोरी । उनी १३ वर्ष ७ महिनाकी भइन् । पाण्डेको परिवारै फरार छ । तस्विर: घनश्याम गौतम ।

गुल्मी, भाद्र १९ - दलित किशोरीलाई बुहारीको रुपमा स्वीकार गर्नुपर्ने दबाब बढ्दै गएपछि यहाँको एक परिवार घर नै छोडेर फरार भएको छ । अन्तरजातीय विवाहको आशामा गरेको यौन सम्पर्कबाट रहेको गर्भबाट किशोरीले भने शनिवार जिल्ला अस्पतालमा बच्चा जन्माएकी छन् ।

धुर्कोट बस्तु गाविस-३ का टामलाल पाण्डेको परिवार गाउँकै दलित युवतीलाई बुहारीको रुपमा स्वीकार गर्नुपर्ने भएपछि शुक्रवारदेखि फरार छन् । अन्तरजातीय विवाहको प्रलोभन देखाई पाण्डेका १८ वर्षिय छोरा रामचन्द्रले गाउँकै दलित किशोरीसंग गत मंसिर देखि यौन सम्पर्क गर्दै आएको बताइएको छ । किशोरीको उमेर सुत्केरी हुने दिनसम्ममा १३ वर्ष ७ महिना पुगेको छ ।

किशोरीकी आमा सुमित्रा नेपालीका अनुसार युवती गत मंसिरमा पहिलो पटक रजस्वला भएकी थिइन । त्यसपछि रजस्वला नभएकाले गर्भ मंसिर महिना कै भएको अनुमान अस्पतालले गरेको छ । युवतीले माघ महिनामा गर्भ रहेको बताउँदै आएकी थिईन । प्रसव पीडाले च्यापेपछि शनिवार अस्पताल भर्ना गरिएकी उनले अस्पतालमै छोरी जन्माएकी छन् । बच्चाको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।

विवाह गर्छु भनेपछि मंसिरमा पहिलो पटक यौन सम्पर्क भएको र त्यसपछि माघमा भएको किशोरीले बताइन् । यौनसम्पर्कबाट गर्भ रहन्छ भन्ने समेत जानकारी नभएकी किशोरीले पेटमा बच्चा चल्न थालेपछि संगै पढ्ने साथीहरुसंग आफ्रनो पेटमा चल्ने गरेको बताएकी थिइन् । साथीहरुले स्कुलकै शिक्षिकासंग कुरा गरेपछि मात्र बालिकाको पेटमा गर्भ रहेको शंका गरिएको थियो । 'स्कुलका मेडमहरुले भनेपछि मात्र मलाई पनि थाहा भएको हो', आमा सुमित्राले भनिन् ।

जेठमा अर्घाखाँचीको सन्धिखर्क पुगेर परीक्षण गर्दा गर्भ रहेको थाहा भएपछि केटाका परिवारले गर्भपतन गराउने प्रयास गरेको आमा सुमित्राले बताईन । '२०/२५ हजार दिन्छौं भनेका थिए', सुमित्राले भनिन्, 'नमानेपछि केटा जेठ देखि नै फरार छ ।'  युवक फरार हुनासाथ उनीहरुले जिल्ला प्रशासनमा न्याय माग्दै उजुरी दिएको दलित महिला संघकी अध्यक्ष कमला बरालले बताईन । 'तर पनि गाउँमै मिलाउने पहल भएकाले प्रशासनमा दवाव गरेनौं ', बरालले भनिन् 'साउन २७ गतेबाट प्रशासनमा दवाव दिंदादिदै परिवार नै फरार भए ।'

जिल्ला प्रशासनले युवकका बाबु टामलाल पाण्डेलाई दुई साता अघि झिकाएको थियो । बाबुले छोरा लिएर आइतवार आउने प्रतिबद्धता जनाएपछि तारेखमा छोडिएको थियो । आइतवार नआएपछि प्रहरी लगाएर ल्याउन लागेका बेला परिवार नै शुक्रवार देखि फरार भएका हुन् ।

पाण्डे परिवारले घरमा रेखदेखका लागि युवकका मामा पोमलाल भण्डारी र मामा घरकै हजुरआमालाई जिम्मा दिएको छ । आफुहरुलाई घर र गाईभैसी हेरिदिनु हामी केही दिनमा आउँछौं भनेर दिदी भिनाजु हिडेको भएपनि कहाँ गएको भन्ने जानकारी आफुलाई नभएको पोमलालले बताए । 

उत्पीडित समुदाय उत्थान केन्द्रका अध्यक्ष गणेश विश्वकर्माले युवक परिवारले सहज रुपमै जिम्मा नलिएमा दलित अधिकारकर्मी र मानवअधिकारबादीलाई रोहबरमा राखेर प्रशासनको पहलमा पाण्डेकै घरमा किशोरी र बच्चालाई भित्र्याईदिने बताए ।

किशोरी र युवक दुवै स्थानीय पाञ्चायन उच्च माविका कक्षा ६ र ९ का विद्यार्थी हुन् । अस्पतालमै बच्चा जन्माएकी बिपन्न परिवारकी बालिकालाई प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको पहलमा महिला विकास कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ ।

 

 

 

 

प्रकाशित मिति: २०६७ भाद्र १९ ०२:३६

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।