सुन आयातमा प्रतिबन्ध
अध्यादेश तत्काल ल्याउन व्यवसायीको आग्रह
काठमाडौ, भाद्र १७ - नेपाल सरकारले भोलि भदौ १८ गतेबाट लागू हुनेगरी सुनको आयातमा प्रतिबन्ध लगाएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ अनुसार अर्को व्यवस्था नभएसम्मका लागि भोलिदेखि सुनको आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार बाहृय मुलुकबाट ठूलो परिमाणमा सुन आयात हुँदा विदेशी मुद्राको सञ्चितीमा प्रतिकूल असर पर्ने भएकाले मन्त्रालय सुन आयातमा प्रतिबन्ध लगाउने निर्णयमा पुगेको हो ।
नेपाल र भारतको सुनसम्बन्धी भन्सार दरलाई समान बनाउन सरकारले करिब दुई महिनाअघि ल्याएको अध्यादेश शुक्रबारबाट सकिँदैछ । अहिले संसद चलिरहेकोले अर्को अध्यादेश ल्याउन सकिने अवस्था छैन भने संसदको अर्को बैठक भदौ २० गतेमात्र बोलाइएको छ । शुक्रबारबाट अध्यादेशको म्याद सकिने र यसलाई बचाउने आधार केही नभएपछि सुनको आयातमा तस्करी हुने आशङ्काले सरकार यसको आयातमै प्रतिबन्ध लगाउने निर्णयमा पुगेको हो ।
भारतमा भन्दा नेपालमा सुनको आयातमा भन्सार दर कम भएकोले त्यसलाई समानता कायम गर्न सरकारले गत चैतमा सुनको भन्सारसम्बन्धी अध्यादेश जारी गरेको थियो । नेपालमा प्रतिदस ग्राम सुनको आयातमा रु १३० भन्सार दर कायम गरिएको छ भने भारतमा प्रतिदस ग्राम रु तीन सय भारु भन्सार दर रहेको छ ।
भारतले आर्थिक वर्ष २०१०/११ मा सुनको आयातमा प्रति दस ग्राम दुई सय भारुलाई बढाएर तीन सय भारु भन्सार दर पुर्याएपछि यसअघि पनि नेपाल भारतबीच सुन आयातको भन्सार दरमा भिन्नता रही आएकोमा अहिले आएर त्यो झन फराकिलो भएकाले नेपालबाट भारततर्फ सुनको तस्करी बढ्ने ठूलो खतरा रहेको थियो ।
अध्यादेशमार्फत् सरकारले प्रति दस ग्राम सुनको आयातमा रु चार सय ७० कायम गरेको छ । सो अध्यादेश जारी भएको दुई महिनामा पनि सदनको बैठक बस्न नसकेकोले गत असारमा पुनः अध्यादेश जारी गरेको थियो ।
तर असारमा अध्यादेश जारी भई सदन सञ्चालन हुँदा पनि माओवादीले माधव नेपाल नेतृत्वको सरकारले राजीनामा नदिएसम्म कुनै पनि विधेयक ल्याउन नदिने भनेपछि उक्त अध्यादेश संसदमा टेबुल हुन सकेको थिएन ।
अध्यादेश टेबुल नहुँदै प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यतालिका सदनमा प्रस्तुत भएकोले अन्य कार्यतालिकाले सदनमा प्रवेश पाउन सकेको छैन ।
यसैबीच मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले आर्थिक विधेयक, २०६७ संसदमा प्रस्तुत गर्ने निर्णय गरेकोले त्यसलाई जतिसक्दो चाँडो पारित गर्न नेपाल सुन चाँदी व्यवसायी सङ्घले आग्रह गरेको छ ।
सङ्घका महासचिव मणिरत्न शाक्यले अहिले बजारमा सुनको आपूर्ति कम भइरहेको बेला तीज र अन्य चाडबाडमा सुनको आपूर्ति बन्द हुँदा झन ठूलो सङ्कट आउनसक्ने उल्लेख गर्दै यसबाट सुनको मूल्यमा वृद्धि हुने सम्भावना रहेको बताए ।
सुनको भन्सार दर नबढाइए यसको आयात रोक्न सङ्घले सरकारलाई पहिला नै सुझाव दिएको बताउँदै उनले भने- 'तर यो लामो समयसम्म जानु हुँदैन, सबै दल सुनको आयातलाई प्रतिबन्ध लगाउने पक्षमा छैनन्, त्यसैले चाँडोभन्दा चाँडो यसलाई खुलाई ग्राहक र व्यापारीलाई राहत दिनुपर्छ ।' रासस
प्रकाशित मिति: २०६७ भाद्र १७ ०९:१०

















तपाईंको प्रतिकृया