ज्वरोका कारण दुईको मृत्यु/ विद्यालय बन्द
सहयोगी लिङ्कहरू
कावासोती, भाद्र १७ - भाइरल ज्वरोका कारण दुई विद्यार्थीको मृत्यु भएपछि नवलपरासीको नारायणी गाविसमा रहेको जनता उच्च माविको पठनपाठन बन्द भएको छ ।
वर्षाका कारण प्रदूषित पानी पिउनाले अधिकांश विद्यार्थी बिरामी परेकाले विद्यालय बन्द गर्नु परेको विद्यालयले जनाएको छ ।
ज्वरोले कक्षा ६ मा पढ्ने जानकी कुमाल, र अङ्गे्रजी माध्यमको युकेजीमा पढ्ने दिपेन अधिकारीको मृत्यु भएपछि विहीबारदेखि तीनदिन विद्यालय बन्द गर्ने निर्णय गरेको विद्यालयका प्राचार्य भरत तिवारीले बताए ।
ज्वरोका कारण विद्यालयमा समेत विद्यार्थीको कम उपस्थिति भएकाले विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेका हौं, प्राचार्य तिवारीले भने । सात सय विद्यार्थी रहेको विद्यालयमा मुस्किलले तीन सयको हाराहारीमा विद्यालय आउन थालेको र सबै विद्यार्थी ज्वरोका कारण विद्यालय आउन नसकेको अभिभावकले जानकारी गराएकाले विद्यालय बन्द गराएको उनले बताए ।
बर्षाको प्रदूषित पानीका कारण विद्यार्थीमा भाइरल ज्वरो बढेकाले आइतबार विद्यालय मै चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकको सहयोगमा एक दिन स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको उनले बताए ।
वातावरणमा आएको परिवर्तनसागै विद्यार्थी बिरामी परेकाले आफूहरुले स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने कार्यक्रम गर्न लागेको उनले बताए ।
भाइरल ज्वरोको प्रकोप बढेका नारायणी कोल्हुवा, कुमारवर्ती गाविसका विद्यालयहरुमा विद्यार्थीको उपस्थिति अत्यन्त कम भएको जनता सिद्ध मावि नारायणीका प्रधानाध्यापक पिडकबहादुर महत्तोले बताए ।
शिक्षक विद्यार्थी सबै बिरामी परेका छन् । जेनतेन गरेर विद्यालय सञ्चालन गरेका छांै, उनले भने ।
दैनिक २०/३० जना बिरामी आउने चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले एक सयको हाराहारीमा आउने गरेको केन्द्रका प्रमुख डा राजकुमार पाण्डेले बताए । केन्द्रमा आउने बिरामीमध्ये ८० प्रतिशत भाइरल ज्वरोको बिरामी आउने गरेको उनले बताए ।
चितवन डेंगुको उच्च जोखिममा रहेकाले नजिकै रहेको नवलपरासीमा पनि आउन सक्ने भएकाले ज्वरोका बिरामीको रगत प्ररीक्षण गर्दा अहिलेसम्म डेंगुको लक्षणहरु नभेटिएकाले ज्वरोकै कारण आत्तिन नपर्ने उनले बताए । एक हप्तादेखि स्वास्थ्य संस्थाहरुमा समेत बिरामीको चाप अत्याधिक बढेको स्थानीय स्वास्थ्य क्लिनिकका जीवन सापकोटाले बताए ।
प्रकाशित मिति: २०६७ भाद्र १७ ०१:१३
















तपाईंको प्रतिकृया