बर्सेनि घरबास सार्दै
श्रीलंका टापु (सुनसरी), भाद्र १२ - जलालघाटका राजेन्द्र उराव बर्सेनि घर सार्दै आएका छन् । घरबासको चटारोले ३ वर्षअघि छोरीको विहे गर्ने सोच बनाए पनि उनले सकेका छैनन् । कोसी नदीको कटानले उनको घर बगाउँदै आएको छ । यसवर्ष पनि उनले एउटी छोरीको बिहे गर्ने तारतम्य मिलाएका थिए । 'मंसिरमा जेठी छोरीको बिहे गर्ने निधो गरेका थियौं,' राजेन्द्रले भने, 'तर के गर्ने ? भएको घर पनि कोसीले बगाइसक्यो ।' पाँच दिनयता कोसीमा आएको बाढीले राजेन्द्रसँगै भागवत, चन्द्र, श्रीप्रसाद, टुप्पा र चिलियाका कारु चौधरीको घर बगाइसकेको छ । 'घरसँगै मकै लगाएको खेत पनि बगायो,' राजेन्द्र भन्छन्, 'मकैको उब्जनीबाट आएको रकमले छोरीको बिहे गर्ने सपना थियो, त्यो यो वर्ष पूरा हुन सकेन ।'
जलालघाटका सय बिघाभन्दा बढी खेतीयोग्य जमिन कोसीले कटान गरिसकेको छ । स्थानीय कारु चौधरीको पीडा पनि कम छैन । भएका दुइटा घरसहित बाली लगाएको सबै खेत कोसीले खाएपछि छिमेकीको घरमा शरण लिएर बसेका छन् । 'अब बगर हेर्नु शिवाय केही भएन,' उनी भन्छन् । उनको परिवारमा ७ सदस्य छन् ।
श्रीलंका टापुकै सिसौली घाटमा पसल गर्दै आएकी संजा माझीको छोरीसित भेट नभएको वषर्ाैं बित्यो । माध्यमिक तह पढ्न उदयपुरमा रहेकी छोरीलाई पटकपटक भेट्न जाने उनको इच्छा कोसीको बाढीले पूरा हुन दिएन । 'गाउँमा विद्यालय छैन, यहाँबाट सधैँ जान आउन समस्या छ, त्यही भएर छोरीलाई डेरामा राखेर पढाएकी छु,' उनले भनिन्, 'छोरीलाई पढाउन राखेको त परदेशै पठाएजस्तो भयो ।' चारैतिरबाट कोसीले घेरिएको सुनसरीको श्रीलंका टापुका करिब १२ हजार परिवारका पीडा उस्तै
छ । ऐलानीमा बसोवास गरिरहेका उनीहरूलाई प्रत्येक वर्ष घर सार्नुपर्ने बाध्यता रहेको महेन्द्रनगर गाविसका बुद्धिमान माझीले बताए । यहाँ सुनसरीको महेन्द्रनगर र प्रकाशपुरको ३ वडावासी २५ वर्षदेखि बसोबास गर्दै आएका छन् । पछिल्लो समय सुनसरीको अरू गाविस, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, झापा, मोरङलगायत विभिन्न ठाउँमा घर बनाएर बस्दै आएका छन् । ०२२ सम्म सप्तकोसी नदी उदयपुरको बेलकाबाट बग्दा उनीहरू अहिले रहेको टापुभन्दा पूर्व क्षेत्रमा बस्थे । त्यसपछि ०३८ देखि ०४२ सम्म भएको कटानले नम्बरी घरखेत बगाएपछि पुरानो बासस्थानभन्दा पश्चिम ऐलानी जग्गा टापुमा बस्दैआएको गंगा घिमिरेले बताए ।
सबैजसो परिवारले गाई पालेका छन् । वर्षा सुरु भएपछि भने उनीहरूले दूध बेच्न पाएका छैनन् । गाईपालन र मकै खेती यहाँको मुख्य पेसा हो । तर कोसीले मकै खेती बगाइसकेको र गाईको दूध पनि बजार पुर्याउन नसकेकाले भोकमरी लाग्ने स्थिति रहेको उनीहरू बताउँछन् । स्थानीय राजेन्द्र उरावले राज्यको उपस्थिति नभएको मात्र होइन, दलका नेतासमेत कोही नआएको बताए ।
प्रकाशित मिति: २०६७ भाद्र १२ ०८:३६

















तपाईंको प्रतिकृया