प्रधानमन्त्री नछानिंदा उत्पन्न हुने खतारप्रति सचेत हुनु: राष्ट्रपति
सहयोगी लिङ्कहरू
काठमाडौ, श्रावण ८ - राष्ट्रपति रामवरण यादवले संसदबाट प्रधानमन्त्री चुनिन नसक्दा र पटक-पटक त्यही प्रक्रिया दोहोरिँदा जनतामा नकारात्मक धारणा उत्पन्न हुन सक्ने खतराप्रति सचेत हुन प्रधानमन्त्री माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।
राष्ट्रपति यादवलाई भेट्न पुगेका प्रधानमन्त्रीसंग भएको समसामयिक राजनीतिक छलफलका क्रममा उनले उक्त आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार बिष्णु रिजालका अनुसार प्रधानमन्त्रीले नेपालको अन्तरिक संविधान, २०६३ को धारा ३८ (२) अन्तरगत व्यवस्थापिका-संसदबाट प्रधानमन्त्रीको चयन हुन नसकेको अवस्थामा कसरी अघि बढ्न सकिन्छ भन्नेबारेमा छलफल गरेका थिए ।
प्रधानमन्त्री नेपालले आफूसँग सुविधाजनक बहुमत हुँदाहुँदै पनि राष्ट्रिय सहमतिकै लागि राजीनामा दिएको चर्चा गर्दै राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्नेमा आफू दृढ रहेको बताएका थिए ।
दुई नेताबीच व्यवस्थापिका-संसदमा दुई पटक प्रधानमन्त्री पदको निर्वाचन भइसक्दा पनि कुनै निष्कर्ष निस्किन नसकेको परिस्थितिका बारेमा छलफल भएको थियो । स्रोतका अनुसार प्रधानमन्त्रीले माओवादीका कारण राष्ट्रिय सहमति कायम हुन नसकेको जानकारीसमेत गराएका थिए ।
प्रकाशित मिति: २०६७ श्रावण ८ ०४:३५
















तपाईंको प्रतिकृया