युनियन पदाधिकारीले मजदुर कुटे

(0 Votes)
प्रतिमा बाँस्कोटा

काठमाडौ, श्रावण ४ -  आन्दोलनको विपक्षमा उभिएको भन्दै माओवादीको ट्रेड युनियन महासंघसम्बद्ध किरण सु उद्योगको ट्रेड युनियन पदाधिकारी समेतले उद्योगका कामदारलाई सोमबार कुटपिट गरेका छन् । युनियनका सचिव पुष्प गुरुङसहितको समूहले उद्योगका आधा दर्जन कामदारलाई कुटपिट गरेको पीडितले बताएका छन् ।

अखिल नेपाल टे्रड युनियन महासंघको केन्द्रीय कार्यालयलाई आन्दोलनबारे जानकारी गराएको निहुँमा आफूहरूमाथि कुटपिट भएको कामदार अर्जुन खत्रीले बताए ।

'उद्योग बन्द भएको महिना दिन बित्न

लागे पनि केन्द्रीय कार्यालयलाई थाहा नभएको सुनेपछि जानकारी गराउन पेरिसडाँडा गएका थियौं,' उनले भने, 'फर्केर साथीहरूलाई बताउँदा कुटाइ खायौं ।' दिउँसो ४ बजे टे्रड युनियनका इकाई समितिका पदाधिकारीले खत्रीसहित विष्ण्ुानाथ अधिकारी, राजु ओझा, बुद्धिबहादुर भण्डारी, टेकबहादुर भण्डारी, देवबहादुर खड्का र हरिनाथ योगीलाई कुटपिट गरेका थिए । आफूहरूलाई उद्योग छेवैमा रहेको 'मजदुर सहुलियत पसल' मा लगेर कुटपिट गरेको पीडितले बताए । 'मोबाइल अफ गराएर लात्ताले हान्दै मोसो दले,' खत्रीले भने । 

सोमबार बिहान ८ बजे महासंघ कार्यालय पेरिसडाँडा पुगेका मजदुरलाई अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय महासचिव रामकुमार कार्कीले उद्योगमा जारी आन्दोलनबारे महासंघ अनभिज्ञ रहेको बताएका थिए । 'महासंघमा आन्दोलनबारे कुनै पत्र वा बोधार्थ दर्ता गरिएको छैन,' कार्कीलाई उद्धृत गर्दै खत्रीले भने ।

छब्बीस दिनदेखि बन्द निर्यातमूल्ाक उद्योग सञ्चालन अनिश्चित भएपछि कामदारहरू विभाजित हुन थालेका हुन् । कामदार उद्योग सुचारु गरी समस्या समाधानको प्रयास गर्नुपर्ने पक्षमा उभिन थालेका छन् । 'छाक टार्ने बाटो बन्द भएको छ,' खत्रीले भने, 'समाधानको पहल होला भनेर महासंघ गुहारेका हौं ।'   

खत्री माओवादी सम्बद्ध उद्योग इकाई समितिअन्तर्गतको शाखा कमिटी अध्यक्ष हुन् ।  'हाम्रो उद्देश्य काम गरिरहेका मजदुरलाई व्यवस्थापनले हटाओस् भन्ने थिएन,' उनले दुःखेसो पोखे, 'उद्योग चाँडो खुलोस् भन्ने सदिच्छा राख्नु पनि अपराध ठहरियो ।' कुटपिटमा संलग्न भनिएका केशर प्रधानले कुटपिटमा संलग्न र कुटाइ खाने उद्योगका मजदुर नभएको जिकिर गरे । 'व्यवस्थापनबाट पैसा लिएर कम्पनीका कर्मचारीहरू मजदुर बन्दै महासंघ केन्द्रीय कार्यालयमा पुगेकाहरूलाई किन गएको भनेर सोधेकोसम्म हुँ,' उनले भने, 'कुटपिट गरेको छैन ।' व्यवस्थापनले आन्दोलन तुहाउन षड्यन्त्र गरिरहेको आरोप उनले लगाए । 

माओवादी सम्बद्ध टे्रड युनियनका सदस्यहरूले सोमबार पनि उद्योग वरपर विरोध प्रदर्शन गरेका थिए । बिहान ९ बजेदेखि उनीहरूले व्यवस्थापनविरुद्ध चर्को नाराबाजी गरेका थिए । 

प्रहरीले उजुरी दर्ता गरेन

उद्योगका सुपरभाइजरमाथि दुव्र्यवहार कुटपिट गर्ने विरुद्ध व्यवस्थापनले दर्ता गराउन खोजेको उजुरी प्रहरीले दर्ता गर्न इन्कार गरेको छ । म्याद गुज्रेपछि आएकाले दर्ता गर्न नसकेको महाराजगन्ज वृत्तका डिएसपी दीपक थापाले बताए ।

यस्तै आइतबार उद्योगको मूल ढोका वेल्डिङ गरी आवतजावत बन्द गराउने विरुद्ध उद्योगले दर्ता गराउन खोजेको जाहेरी पनि दर्ता भएको छैन । सोमबार कामदारविरुद्ध कुटपिट गर्ने विरुद्ध सार्वजनिक अपराधअन्तर्गत जाहेरी दर्ताको प्रयास गरिने व्यवस्थापनले जनाएको छ ।

 

प्रकाशित मिति: २०६७ श्रावण ४ ०८:३५

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।