एक वर्षमा ३ लाख बिदेसिए
काठमाडौ, श्रावण ४ - मुलुकमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा कामको खोजीमा बिदेसिनेको संख्या आर्थिक वर्ष ०६६/०६७ मा झन्डै ३ लाख पुगेको छ । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ७९ हजार ९ सय बढी हो । मुलुकको रोजगार बजारमा बर्सेनि ४ लाख व्यक्ति थपिने गरेकामा त्यसको ७५ प्रतिशत कामदार जागिरका लागि बिदेसिने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार गत आर्थिक वर्ष (०६६/०६७) मा अघिल्लो आव (०६५/६६) मा भन्दा ३५ दशमलव ४२ प्रतिशतले बढीले काम खोज्दै बिदेसिए । गत आवमा २ लाख ९४ हजार ९४ कामदार बिदेसिएका थिए । एक वर्षमा बिदेसिने कामदारको यो संख्या हालसम्मको सबैभन्दा उच्च हो । अघिल्लो वर्ष यो संख्या २ लाख १७ हजार १ सय ६४ मात्रै थियो । यस्तै यो वृद्धिदर पनि हालसम्मकै उच्च रहेको विभागले जनाएको छ ।
मलेसिया जाने संख्यामा भएको उच्च वृद्धिका कारण गत वर्ष बिदेसिनेको संख्यामा ठूलो परिवर्तन आएको हो । गत आवमा बिदेसिएका कुल कामदारमध्ये झन्डै ४० प्रतिशत मलेसिया गएका छन्् । 'गत आवमा १ लाख १३ हजार ९ सय नेपाली मलेसिया गएका थिए,' विभागले भनेको छ । बिदेसिने संख्यामा भएको उच्च वृद्धिले रेमिट््यान्स प्रवाहमा बढ््ने आशा गरिएको
छ । यसबाट मुलुकले भोगिरहेको शोधनान्तर घाटा सम्बोधनमा सहजता हुने अनुमान छ ।
धेरै कमाइ हुने मुलुकमा काममा जानेले बढी रकम पठाउँछन् । तर खाडी र मलेसिया जाने कामदार धेरै भएकाले रेमिट््यान्स वृद्धिमा खासै ठूलो आशा गर्न नसकिने विज्ञहरूको भनाइ छ । यसका लागि धेरै तलबमा कामदार लैजाने ठाउँलाई प्राथमिकता राख्नुपर्ने उनीहरूको भनाइ छ ।
गत आवको सुरुका महिनामा अघिल्ला वर्षको सोही अवधिको तुलनामा बिदेसिनेको संंख्यामा गिरावट आए पनि पछिल्ला महिनामा भएको उच्च वृद्धिले समग्र तथ्यांकमा ठूलो परिवर्तन आएको हो ।
विभागका अनुसार गत आवको साउन, भदौ, असोज र कात्तिकमा बिदेसिने कामदारको संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा घटेको
थियो । 'त्यसपछि भएको उच्च वृद्धिले गत आवमा सबैभन्दा बढी कामदार बिदेसिए,' विभागले जनाएको छ । गत आवको वैशाखमा अघिल्लो वर्षको सोही महिनाकोे तुलनामा १ सय ६२ प्रतिशत बढी कामदार बिदेसिएका थिए । वैशाखमा २९ हजार १ सय ४० कामदार बाहिरिएका थिए । गत वर्ष मलेसियापछि सबैभन्दा बढी कामदार लैजाने देशमा साउदी अरब छ । त्यहाँ ६३ हजार ७ सय गए । तेस्रो स्थानको कतारमा ५७ हजार ३ सय ४० गएका छन्् । त्यस्तै संयुक्त अरब इमिरेट््समा ३३ हजार ८ सय ४० नेपाली गए । कुवेतमा ८ सय २ सय ५५ र ओमानमा ३ हजार २ सय ८५ नेपाली गएका छन्् ।
विभागले तथ्यांक राख्न सुरु गरेपछि सबैभन्दा बढी कामदार गएको वर्ष पनि यही हो । विभागका अनुसार आव ०६३/६४ मा २ लाख ४ हजार कामदार बिदेसिए । कही बढेर आव ०६४/६५ मा २ लाख ४९ हजारले काम खोज्दै मुलुक छाडे भने ०६५/६६ मा घटेर २ लाख १९ हजार मात्र बिदेसिएका थिए ।
असारमा मात्र ३३ हजार बिदेसिए
आव ०६६/६७ को अन्तिम महिनामा असारमा ३२ हजार ८ सय ७६ नेपाली काम खोज्दै बिदेसिएका छन् । एक महिनामा बिदेसिने कामदारको यो संख्या हालसम्मकै सबैभन्दा बढी हो । यीमध्ये झन्डै आधा मलेसिया गएका हुन्् ।
यसअघि जेठ महिनामा ३१ हजार ६ सय ३६ कामदार बिदेसिएको वैदेशिक रोजगार विभागले जनाएको छ । गत आवको सुरुका महिनामा औसतमा २० हजारको हाराहारीमा कामदार बिदेसिने गरेकामा पछिल्ला महिनामा लगातार बढेर जेठ र असार महिनामा दैनिक एक हजारभन्दा बढी कामदार बिदेसिएका हुन् ।
आर्थिक वर्ष ०६५/६६ र ०६६/६७ को तुलनात्मक समीक्षा
महिना/आव ०६५/६६ ०६५/६६ परिवर्तन प्रतिशत
साउन २३१०० १९४९२ -१५.६२
भदौ २५०११ २२७२७ -९.१३
असोज १७३९१ १४४६२ -१६.८४
कात्तिक २०५१४ १९५१५ -४.८७
मंसिर १८६८७ २३४०५ २५.२५
पुस १७३७८ २४१८० ३९.१४
माघ १८२७८ २५९४८ ४१.९६
फागुन १७५०० २११५८ २०.९०
चैत १८०९९ २९५५५ ६३.३०
वैशाख १११०५ २९१४० १६२.४०
जेठ १२७१८ ३१६३६ १४८.७५
असार १७३८३ ३२८६९ ८९.१३
चार वर्षमा बिदेसिएकाको संख्या
०६३/६४ २,०४,५३३
०६४/६५ २,४९,०५१
०६५/६६ २,१९,९६५
०६६/६७ २,९४,०९४
प्रकाशित मिति: २०६७ श्रावण ४ ०८:२७

















तपाईंको प्रतिकृया