जनक शिक्षाका १ सय ४३ कर्मचारी निष्कासित

  • कर्मचारीको विरोध

(1 Vote)

भक्तपुर, श्रावण ३ - जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले केन्द्रमा कार्यरत १४३ जना कर्मचारीलाई निष्कासन गरेको छ ।

केन्द्रमा बढ्दो घाटा नियन्त्रण गर्न एवम् ओभरस्टाफिङ घटाउन दैनिक ज्यालादारीमा कार्यरत सानोठिमीस्थित केन्द्रीय कार्यालय तथा पोखरा, धनगढी, भैरहवा, नेपालगन्जलगायतका क्षेत्रीय कार्यालयका कर्मचारीलाई निष्कासन गरेको केन्द्रका प्रवन्ध सञ्चालक रामचन्द्र सिलवालले बताए ।

जनक शिक्षाको घाटा थेग्न नसक्ने अवस्थामा पुगेकाले यसलाई चुस्त पार्न व्यवस्थापनले ३२ वटा बुँदा तय गरी कार्य अगाडि बढाएको छ । त्यसभित्र बढी भएका कर्मचारी कटौती, अनावश्यक गाडीको प्रयोग रोकेर तेल जोगाउने, बाहिरबाट नयाँ काम ल्याउने, पाठयपुस्तक समयमै छाप्नेलगायतका कार्य रहेको सिलवालले बताए । केन्द्रलाई घाटाबाट जोगाएर आत्मनिर्भर बनाउने प्रयास थालेको बताउँदै उनले मासिक रु १० देखि १५ लाख नोक्सान कम गर्दै लगेको दाबी गरे ।

यता जनक शिक्षा कर्मचारी सङ्घका अध्यक्ष चित्रराज आचार्यले भने प्रवन्ध सञ्चालक सिलवालले भ्रष्टाचारमा लिप्त हुँदै गएको आरोप लगाउँदै पूर्वाग्रहीरूपमा कर्मचारी निष्कासन गरेको आरोप लगाए । जनक शिक्षा ज्यालादारी कर्मचारीको कारण नभई भ्रष्टाचारका कारण घाटामा गएको बताउँदै उनले कर्मचारी निष्कासनमा एमाले पक्षधर कर्मचारी मात्रै परेको दाबी गरे ।

दैनिक तीन सिफ्ट चल्ने केन्द्रमा आजदेखि १० देखि ५ बजेसम्म एक सिफ्ट मात्र चलाएर अर्डर आएका काम नगरी केन्द्र डुबाउन खोजेको आरोप लगाउँदै उनले चरम भ्रष्टाचार रोक्न व्यवस्थापन सक्रिय नभएको आरोप लगाए ।

प्रवन्ध सञ्चालक सिलवालले बिनाटेन्डर दुईहजार मेटि्रकटन कागज खरिद गरी कमिसन खाएको, लेखा समितिले केन्द्रलाई डुबाउन खोजेको भन्दै कालोसूचीमा राखेको, साहित्य प्रकाशनसँग कमिसन खाएर कागज ल्याएको आरोप पनि आचार्यले लगाए ।

प्रकाशित मिति: २०६७ श्रावण ३ ०४:०७

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।