कमैया मुक्ति दिवसः मुक्तिपछि सुखभन्दा दुःखबढी
महेन्द्रनगर , श्रावण २ - अघिल्लो बर्ष सम्म उनीहरु जिल्लाका बिभिन्न शिविर बाट परम्परागत पोशाकमा सजिएर मुक्ति दिवस मनाउन सदरमुकाम पुग्ने गरेका हुन् । परम्परागत नाचगानमा रमाएर मुक्ति दिवस मनाउदै आएका कञ्चनपुरका मुक्त कमैयाहरु यसपाला भने एक कोठामा भेला भइ मुक्ति पछिका पीडा पोखेर शिविर फर्किए ।
कमैया मुक्त घोषणा भएको आइतवार एक दशक पुरा भएको अवसरमा उनीहरुले यहा जिल्ला विकास समितिको सभाकक्षमा भेला भइ गास वास र रोजगारीका लागि मुक्त कमैया एकजुट भएर अघि बढनु पर्नेमा जोड दिएका थिए । ' सक्कु मुक्त कमैया एकजुट हुइपरी , फुटक नाहि जुटक अधिकारके लाग अघि बढपरी ' यहि नाराका साथ आयोजित अन्तरकृयाका सहभागी मुक्त कमैयाहरुले मुक्तिको दश बर्ष वितिसक्ता पनि अवस्था झन झन कठिन बन्दै गएको पिडा पोखे । ' पहिले केहि राम्रो होला भनी वाजागाजा बजाएर नाचगान गरि रमाउथ्यौ अवस्था जस्ताको तस्तै छ दुख कहिल्यै नसकिने भयो ' वनहरा नदीको बाढी बाट बिस्थापित दयाअमरपुर शिविरकि कलावती चौधरीले भनिन् ।
'दश बर्षमा सुख दुख जसो भए पनि मुक्ति भने ठूलो कुरा हो , हामीले त दुखैमा दिन बितायौ हाम् वालवालिकाले हाम्रो जस्तो पिडा व्यहोर्नु नपरोस ' कार्यक्रममा बोल्दै स्थानिय नगरपालिका - ४ सालघारी कि लक्ष्मी चौधरीले भनिन् । ' हामी कमैया थियौ , पढन लेख्न पाएनौ हाम्ा वालवालिकाले राम्रो शिक्षा पाए दुख पाउने थिएनन् ' उनले भनिन् । कार्यक्रमका अधिकांस सहभागीले ५ कक्षा सम्म शिक्षा निशुल्क भए पनि माथिल्लो कक्षामा शुल्क बुझाउनु पर्ने भएकोले मुक्त कमैया शिविरका वालवालिका बिचैमा पढाइ छोडने गरेको बताए । ' आर्थिक अभावले पढन नपाएका उनीहरु घरखर्च जुटाउन वालश्रमिक र कमलरी बन्न विवस छन् ' नेपाल कमाशु समाज केन्द्रका अध्यक्ष भागीराम चौधरीले भने ।
कञ्चनपुरमा २०५७ सालमा लिइएको पहिलो लगतका ३ हजार ४५ र दुइबर्ष पछि पहिचान गरिएका १ हजार ४६० छुट कमैया समेत ४ हजार ५०५ मुक्त कमैया रहेकाछन् । ' गत पुस मसान्त सम्म को तथ्यांक अनुसार अव १ सय ९९ परिवारलाइ जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको भएपनि जग्गा दिन वांकी रहेको कञ्चनपुरका भूमिसुधार अधिकारी नवनीत कुमार चन्द बताउछन् । यो बाहेक नदी किनार क्षेत्रमा जग्गा पाएर बाढीका कारण २ बर्ष देखि बिस्थापित भएका ९३ परिवारलाइ सटृाभर्ना जग्गा उपलव्ध गराउने काम पुरा नभएको उनले बताए ।
मुक्त कमैया संग सरोकार राख्ने संस्थाहरु नेपाल कमाशु समाज केन्द्र , मुक्त कमैया समाज र मुक्त कमैया संघर्ष समितिले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा सहभागी महिलाहरुले मुक्तिको १० बर्ष अवधिमा खुशि थोरै दुख बढि भएको बताए । ' हामी अहिल बोल्न सक्छौ , सभा सम्मेलनमा भाग लिन्छौ अलिकता लेखपढ पनि जान्योै यो खुशिको कुरा हो ' देखतभूली गाविस खैरगढैया शिविरकि सुकमेली चौधरीले भनिन् - ' ५ कठ्ठा जग्गाले साच्चै भन्ने हो भने खानै पुग्दैन , हाम्रा श्रीमानहरु घर गुजाराका लागि रोजगारी खोज्दै भारत जानु पर्छ , केहि परिवार बाहेक प्राय सवैको बेहालछ '।
जिल्लाका १० गाविसका २७ शिविरमा बसोवास गर्ने मुक्त कमैयाहरु अव शिक्षा र रोजगारीको अवसर पहिलो प्राथमिकतामा पर्नु पर्ने बताउछन् । ' उच्च शिक्षा सम्म निशुल्क संगै रोजगारीको ग्यारेण्टी हुनु पर्छ ' भागीरामले भने । सहभागीहरुले साउन २ गतेलाइ सरकारले राष्ट्रि्य मुक्ति दिवस घोषणा गरी सार्वैजनिक विदा दिनु पर्ने माग गरेकाछन् ।
प्रकाशित मिति: २०६७ श्रावण २ ०७:३६

















तपाईंको प्रतिकृया