दुवै डिफेन्डिङ च्याम्पियन फाइनलमा

(0 Votes)
कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण १६ - पुरुष र महिला दुवैका डिफेन्डिङ च्याम्पियन शनिबार 'मोर्गन कप' आठौं महिला तथा नवौं पुरुष राष्ट्रिय बास्केटबलको फाइनलमा प्रवेश गरेका छन् । पुरुषतर्फ गोल्डेनगेट र महिलातर्फ प्राइम फाइनलमा पुगेका हुन् ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा गोल्डेनगेटले ह्वाइटहाउस 'ए' को चुनौती ९३-८३ ले समाप्त पार्‍यो । दुईपल्ट राष्ट्रिय लिगको उपाधि चुमिसकेको गोल्डेनगेट यसपल्ट पनि ट्रफी चुम्दै ह्याटि्रक गर्ने सुरमा छ । उसले सन् २००८ र २००९ मा उपाधि जितेको थियो ।

गोल्डेनगेटको ह्वाइटहाउस माथि यो लगातार २० औं जित हो । हालसम्म २० पल्ट आमनेसामने भएका यी दुई टिमबीचको खेलमा सधैं गोल्डेनगेटले बाजी मारेको

छ । सदिश प्रधानको उत्कृष्ट प्रदर्शन मदतले ह्वाइटहाउसले पहिलो क्वाटरमा २८-१६ को अग्रता लिएको थियो ।

सर्वाधिक ४४ स्कोर गरेका उनले पहिलो क्वाटरमा एक थ्री प्वाइन्टमा १३ अंक जोडै गोल्डेनगेटविरुद्ध पहिलो जित हात पार्ने बाटो तय गरेका थिए । ह्वाइटहाउसले गोल्डेनगेटविरुद्ध सुरुआती क्वाटरमा सधैं राम्रो खेल्ने गरे पनि उसले र्फम गुमाउने गर्छ । त्यसले गर्दा उसले सधैं गोल्डेनगेटबाट पराजय बेहोरे छ ।

अघिल्लो महिना भएको राष्ट्रव्यापी प्रतियोगिताको फाइनलमा पनि ह्वाइटहाउसले पहिलो क्वाटरमा अग्रता लिएर उपाधि गोल्डेनगेटलाई सुम्पेको थियो । ह्वाइटहाउसका युवा खेलाडीको जोसलाई गोल्डेनगेटका अनुभवी खेलाडीले पछार्न सफल भए ।

युक्तरामभक्त माथेमा, विक्रम जोशी, सदिश प्रधान जस्ता राष्ट्रिय खेलाडीको साथमा ह्वाइटहाउस मैदानमा उत्रेको थियो । अनुभवी राष्ट्रिय खेलाडी विपेन्द्र महर्जन, परेश श्रेष्ठ र रवीन्द्र महर्जनले ह्वाइटहाउसको फाइनल पुग्ने सपना चकनाचुर पारे ।

यसअघि दुईपल्ट उपाधि उचालिसकेको ह्वाइटहाउस पनि तेस्रो सफलताको खोजीमा थियो । उसले सन् २००३ र २००७ मा राष्ट्रिय बास्केटबलको उपाधि चुमेको थियो । दोस्रो क्वाटरमा उत्कृष्ट पुनरागमन गर्दै गोल्डेनगेट २४-१९ ले अगाडि रह्यो । मध्यान्तरसम्म गोल्डेनगेट ७ स्कोरले पछि थियो । तेस्रो क्वाटरको मध्यान्तरमा गोल्डेनगेटले खेलमा पहिलोपल्ट अग्रता लिएको थियो । ५४-५४ को बराबरी स्कोर रहेको स्थितिमा विपेन्द्रले २ स्कोर गर्दै खेल ५६-५४ को स्थितिमा ल्याए । गोल्डेनगेट तेस्रोमा २६-१३ को अग्रता लिन सफल भयो । चौथोमा २७-२३ स्कोर गर्दै उसले खेल जित्यो । गोल्डेनगेटका विपेन्द्रले ३१ स्कोर गरे ।

'खेललाई राम्रोसँग अध्ययन गर्दै खेल्यांै र जित हात पार्‍यांै,' गोल्डेनगेटका प्रशिक्षक विपिन्द्र कपालीले भने, 'सुरुदेखि अन्त्यसम्म हामीले एउटै गतिमा खेल्यौं ।' उता, डिफेन्स कमजोर हुँदा हार बेहोर्नु परेको ह्वाइटहाउसका प्रशिक्षक विकास शाहीले बताए । उनले भने, 'डिफेन्स कमजोर हुनु नै हारको कारण रह्यो । गोल्डेनगेटको टिममा अनुभवी खेलाडी छन् ।'

अब फाइनलमा गोल्डेनगेटले पेन्टागन वा नासाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

महिलातर्फ प्राइमले मोर्गनलाई सहजै ५३-२२ ले हरायो । जितसँगै प्राइमले लगातार दोस्रोपल्ट उपाधि जित्ने सपनालाई कायमै राखेको छ । प्राइम सबै क्वाटर आफ्नो पक्षमा पार्न सफल रह्यो । मोर्गनले कुनै पनि क्वाटरमा दोहोरो स्कोर गर्न सकेन ।

सुरुआतका तीनवटै क्वाटरमा प्राइमले मोर्गनभन्दा दोब्बर स्कोर गर्दै १०-५, १२-६ र १४-७ को अग्रता लियो । चौथो क्वाटर प्राइमले १७-४ ले आफ्नो पक्षमा पार्‍यो । प्राइमको जितमा ज्ञानु गौचनले २२ अंक योगदान गरिन् । प्राइम अब ह्वाइटहाउस र नासाबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

 

प्रकाशित मिति: २०६७ श्रावण १६ ०८:४८

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।