मर्छु र म सम्झना हुन्छु...

(1 Vote)
कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण १६ - गायक फत्तेमान शुक्रबार साँझको पलेँटीमा अरू बेलामा भन्दा बढी रौसे भेटिए- गायन, हाउभाउ र शैलीमा । उमेरमा ७४ पार हुन लागेका यी गायक भर्खरै ४७ टेकेका हुन् कि झैं लाग्थ्यो, गला र रियाज सुन्दा ।

'आत्माले सुन्ने श्रोता भए भने आत्माले गाउन पाइन्छ । 'आत्मा-आत्माको मिलन हो गीत भनेको,' उनले सुरुमै आत्माको कुरा झिके । अनि सुनाए-

'बतासले तलाउमा टेकिदेला कि

तिम्रो तस्बिर लेखूँ भन्छु मेटिदेला कि ?'

विक्रम सुब्बाको गीत र आभाषको संगीतमा निकै गहिरो अर्थ थियो, श्रोतालाई संवेदित बनाउने । ६ वर्षको अन्तरमा तेस्रोपटक पलेँटी-गायनमा आएका फत्तेमान संगीतको व्याख्यान पनि सुनाउँथे

बी-बीचमा । 'संगीतमा सागर छ, मैले थोपा मात्रै टिप्न सकेको छु,' उनी विनीत पनि देखिन्थे । नबिसाईकन एकपछि अर्को गीत सुनाइरहँदा अलिक अप्ठेरो भएको हो कि भन्ने भान भइरहेको थियो सामु बसेका श्रोतालाई । 'बूढो मान्छे गाह्रो हुन्छ अलेली,' भन्दै थिए उनी ।

'मर्छु र म डुंगा बन्छु

आँउदा नदी तार्न सकूँ

मर्छु र म सम्झना हुन्छु

आँउदा आँसु झार्न सकूँ'

पालो थियो, नयाँ गीतको । संगीतकार आभाषले कवि मञ्जुलको 'साइँली मोरीलाई' गीतसंग्रहबाट रोजेको एउटा गीत गायक फत्तेमानले गाउने अभ्यास थालेको दस दिन मात्रै भएको रहेछ । सामुमा बसेका कवि मञ्जुलले सुनाए, 'मैले यो गीत १७/१८ वर्षको उमेरमा लेखेको थिएँ ।' अनि फेरि ताली बज्यो, गीतको भाव र गहिराइ मनन गर्दर्ै ।

'उसबेला एउटा गीत रेडियोमा गाउँदा १० रुपैयाँ पाइन्थ्यो,' फत्तेमान अर्को एउटा गीतको सन्दर्भमा भन्दै थिए, 'वाद्यवादक, गायक सबै एकसाथ भेला हुनुपथ्र्यो । अहिलेजस्तो टुक्रा-टुक्रा सिर्जना हुँदैनथ्यो । महाकवि देवकोटाको एउटा गीत 'मैले भनेँ खै त मलाई' को सन्दर्भमा उनी आफ्नो जुगको कुरा भन्दै थिए । २०२८ सालतिर रेडियोमा रेकर्ड गराएको यो गीतमा अम्बर गुरुङको संगीत रहेछ ।

'मदिरा नपिउँ त के पिउँ

विष पिउन आँट भएन

बेहोस नभई एक क्षण पनि

जिउन आँट भएन'

पालो थियो, मदिरा गीतको । डा. राममान तृषितको गीतमा फत्तेमानको आफ्नै संगीत रहेछ यसमा । '२०४२ सालतिर तयार गरेको हुँ तर बाहिर त्यति सुनाउन पाएको छैन,' उनी भन्दै थिए । अर्कातिर मदिरापानमा कहिल्यै सरिक नभएका गीतकार रत्नशमशेर थापाको एउटा गीतको पालो आएको थियो । गीत भने मदिरापानकै थियो । 'रत्नजी चिया र चुरोटमा रात बिताउनुहुन्छ, ट्वाँट भने खानुहुन्न,' फत्तेमान रसिक बनेर भन्दै थिए । अनि आफूले झन्डै बिर्सिसकेको रत्नशमशेरको यो गीत सुनाए-

'साँझदेखि पिउन थाल्छु

पिउँछु रातभरि

आफैंलाई बिर्सिएर

हराउने गरी'

फत्तेमानले जम्मा एउटा मात्रै युगल गीत गाएका रहेछन्, तारादेवीसँग । युगल गाउन छेवैमा आएकी मीनासँग उनले 'घिन्ताङमा घिन्ताङ मादलै बज्यो, ढोल बज्यो धुम्धुम्ती...' सुनाए । उनले अर्जुन सापकोटाको 'रितबिना आउने सपनाहरूलाई...', बानिरा गिरीको 'हिजोआज सधंैंसधैं टुक्राटुक्रा निद्रा सुत्छु...', कालीप्रसाद रिजालको 'हाँस्न पनि गाह्रै रैछ/रुन पनि गाह्रै रैछ...,' तीर्थ श्रेष्ठको 'रातको सपना बाँकी हुन्न...' लगायतका गीत गाएपछि लामो सुस्केरा काढे, अनि

कमिजको गोजीबाट ल्वाङ झिक्दै खाए । छेवैमा बसेकी गायिका मीनालाई पनि सोध्न भ्याए, 'ल्वाङ खान्छ्यौ ?' पलेँटीमा बसेका श्रोताहरू त्यो घडी पेट मिचेरै हाँसिरहेका थिए ।

सधैंभन्दा बढी अनौपचारिक लाग्ने सांगीतिक साँझमा उनी छेवैमा हारमुनियम वादक बनेर बसिरहेका संगीतकार आभाषसँग बेलाबेलै कुम जोडेर फत्तेमान हाँसिरहेका थिए । 'सान्नानीको गालैमा कालो कोठी रैछ...' गीत गाउनुअघि पलेँटी कक्षको कुनामा बसेकी श्रीमतीलाई सम्बोधन गर्दै भने, 'यो गीत सान्नानीको हो, तिमी त ठूल्नानी पो हौ त, उतै बस है ।'

अनौपचारिक र रमाइलो लागे पनि निकै गहुँगा भाव र कुराहरू पनि फत्तेमान निकालिरहेका हुन्थे । 'सागर छ संगीतमा, मैले थोपा मात्रै झिक्न सकेको छु,' उनी भन्दै थिए, 'अहिले यति धेरै गीत एकैपटक गाउनुपर्दा म बूढो मान्छे गाह्रो हुन्छ अलिअलि...।'

पालो थियो- एउटा सदावहार गीतको । 'जुन गीतले मलाई गायक फत्तेमान बनायो' भनेर कवि यादव खरेलको गीत 'यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैलेकैले...' गीतको तारिफ गरिरहेका थिए फत्तेमान । छिनभरमै मञ्च छेउ अतिथि बनेर आएका गीतकार खरेलले भने, 'यही गीतले मलाई

पनि गीतकार यादव खरेल भनेर

पहिलोपटक चिनायो ।'  २०२५ सालमा रेडियो नेपालको गायन प्रतियोगितामा यो गीत प्रथम भएको रहेछ ।  

डेढ दर्जन गीत गाइसक्दा पनि सामुका श्रोताहरू टसमस नगरेपछि अन्त्यमा कवि माधवप्रसाद घिमिरेको एउटा अर्थपूर्ण, भावनामयी गीत सुनाए फत्तेमानले । गीतले सबैको ढुकढुकीलाई छुन्थ्यो-

'आजभोलि देख्तिनँ म

तिनी कता गइन् ?

राति त्यतै सिरानी होस्

तिनी जता गइन्'

 

प्रकाशित मिति: २०६७ श्रावण १६ ०८:४१

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।