एउटाले पिउँछ, अर्कालाई पिर्छ
काठमाडौ, श्रावण १६ - बसमा सँगै सिटमा बस्ने व्यक्तिलाई रिनाले चुरोट नखान अनुरोध गरिन् । सुनेको नसुन्यै गर्दै धूवाँ उडाइरहेको उसले चुरोट सिध्याएर ठुटो मात्र फ्याँक्यो ।
पाँच महिनाकी गर्भवती रिना मात्र होइन, आफू धूमपान नगर्ने भए पनि अरूले उडाएको धूवाँ सेवन गर्न बाध्य हुने यहाँ थुप्रै छन् । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन विधेयक पारित नभएकाले सार्वजनिक स्थलमा चुरोट खानबाट रोक लगाउनुका साथै यस्ता व्यक्तिलाई दण्डित गर्न सकिने अवस्था छैन ।
प्रस्तावित कानुनमा सुर्तीजन्य विज्ञापन गर्न नपाइने, बेच्नलगायत सार्वजनिक स्थलमा धूमपान गर्दा कारबाही र दण्ड दिन सक्ने, बट्टाको न्यूनतम ७५ प्रतिशत भागमा सुर्तीजन्य पदार्थ हानिकारक रहेको सन्देश र चित्र उल्लेख गर्नुपर्ने, नाबालकलाई बेच्न र किन्न पनि नहुनेलगायत प्रावधान छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार चुरोटको धूवाँको सम्पर्कमा रहेकालाई फोक्सोको क्यान्सर हुने सम्भावना ३० प्रतिशत वृद्घ िहुन्छ । विश्वमा मृत्यु हुने प्रमुख ८ कारणमध्ये ६ वटाको जोखिमको कारक धूमपान हो ।
'चुरोट नखानेहरू आफूअगाडि अरूलाई चुरोट खानबाट रोक्न सक्दैनन्,' स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. बाबुराम मरासिनी भन्छन्, 'संसद्ले यो कानुन पास गरिदिएको भए यस्तो स्थिति रहने थिएन ।' नेपालले संसद्मार्फत सुर्तीजन्य पदार्थ नियन्त्रण नियमनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरे पनि तीन वर्षभित्र कानुन बनाइसक्नुपर्ने प्रक्रिया पूरा गर्न नसकेको मरासिनी बताउँछन् ।
धूमपान गर्नेको छेउमा बस्नेलाई समेत फोक्सोको क्यान्सर, दम, मुटु, श्वास प्रश्वास, प्रजनन क्षमता लगायतका समस्या हुने र विभिन्न रोग लाग्ने सार्क क्षयरोग केन्द्रका निर्देशक एवं छाती रोग विशेषज्ञ काशीकान्त झा बताउँछन् ।
धूमपानको नकारात्मक असर बालबालिकामा अझ बढी देखिन्छ । कम तौलका शिशु जन्मनुको प्रमुख कारण धूमपान रहेको चिकित्सा तथ्यपत्रमा उल्लेख छ । धूवाँले बालबालिका र परिवारको अन्य सदस्यका लागि समेत स्वास्थ्य सम्बन्धी समस्या उत्पन्न गर्छ ।
'धूमपान नगर्ने व्यक्ति यदि दिनहुँ दुई प्याकेट चुरोट खाने व्यक्तिसँग रहन्छ भने उनको मूत्र निकोटिनस्तरका अनुसार तीन सिगरेट बराबरको धूमपान गर्छन्,' छाती रोग विशेषज्ञ डा. झा भन्छन्, 'मुलुकमा भने जनचेतना अभावले अपरोक्ष धूमपानलाई सामान्य कुराको रूपमा लिइन्छ ।'
अमेरिकन क्यान्सर सोसाइटीका अनुसार चुरोटको धूवाँले वयस्कलगायत बालबालिकामा समेत दम, ब्रोङकाइटिस, निमोनियो, अन्य श्वासप्रश्वासको संक्रमण र कानको संक्रमण गराउँछ । अमेरिकास्थित इन्भारामेन्टल प्रोटेक्सन एजेन्सीले क्यान्सर उत्पन्न गराउने कारकमा चुरोटको धूवाँलाई पहिलो समूहअन्तर्गत वर्गीकरण गरेको छ ।
यस्तै अमेरिकन मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित एक अध्ययनले वातावरणमा भएको धूवाँले गर्दा रक्सी पसलका वेटर र बेट्रेसलाई फोक्सोको क्यान्सर हुने सम्भावना दुई गुणा बढी हुने देखाएको छ ।
चुरोटसम्बन्धी विभिन्न तथ्यपत्रका अनुसार एउटा चुरोट करिब १३ मिनेटसम्म बल्छ । धूमपान गर्नेहरू एक मिनेटमा सरदर दुई सर्को अर्थात् ४ सेकेन्ड धूवाँ तान्छन् । सर्को तानेर फोक्सोबाट बाहिर फ्याँक्ने धूवा र सर्को नतान्दा वातावरणमा गइरहेको धूवाँले धूमपान नगर्ने व्यक्तिलाई प्रभावित गरिरहेको हुन्छ ।
सार्वजनिक स्थलमा धूमपान निषेध कानुन लागू नभएसम्म स्वास्थ्य रक्षा अभियानअन्तर्गत सबैले यस्तो गर्नेलाई हतोत्साहित गर्नुपर्ने धारणा नेपाल चिकित्सक संघको अध्यक्ष डा. केदारनरसिंह केसीको छ । 'चुरोट खानेले आत्महत्या गरिरहेका छन् तर उसको छेउमा रहेका निर्दोषहरूलाई समेत मृत्युको मुखमा भने धकेल्न पाइँदैन,' डा.केसी भन्छन्, 'सार्वजनिक स्थलमा धूमपान गर्नु मानव अधिकारको हनन मात्र नभई अरू निर्दोषलाई मृत्युतर्फ धकेल्ने प्रयाससमेत हो ।'
प्रकाशित मिति: २०६७ श्रावण १६ ०८:२२

















तपाईंको प्रतिकृया