कांग्रेसको ६१ जिल्लामा क्षेत्रीय अधिवेशन/१४ जिल्लामा हुन सकेन

(1 Vote)
कुलचन्द्र न्यौपाने

काठमाडौ, श्रावण १६ - कांग्रेसको दोस्रो चरण अन्तरगत ६१ जिल्लामा शनिबार क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । चौध जिल्लामा निर्वाचन हुन सकेन भने ताप्लेजुङमा शुक्रबार नै जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशन सम्पन्न गर्न केन्द्रीय नेताहरु एकसातादेखिनै जिल्ला/जिल्लामा भिडेका छन । यस अधिवेशनले पार्टीले क्षेत्रीय कार्यसमितिको अतिरिक्त महाधिवेशन र महासमिति प्रतिनिधि समेत निर्वाचित गर्ने भएकाले नेताहरु सरकार निर्माणको मुद्दा समेत छाडेर राजधानी बाहिर गएका हुन । सरकार निर्माणमा जुट्नु परेकाले कार्यबाहक सभापति सुशिल कोइराला, बरिष्ट नेता शेरवहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेलबीच भने राजधानी नछाड्ने सहमति भएको थियो ।

भदौ १० देखि राजधानीमा सुरु हुने पार्टीको १२ औं महाधिवेशनले भावी नेतृत्व छान्दै छ । नेतृत्वको लागि उम्मेदवार घोषणा गरीसकेका कोइराला र देउवा बीच गाउँ अधिवेशनदेखिनै चर्को प्रतिस्पर्धा छ । महाधिवेशनमा भाग लिने झन्डै २ हजार ९ सय महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ८ सय ८० क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुन्छन । महासमितिमा सदस्यमा १ हजार २ सय   निर्वाचित हुनेछन । शनिबारको निर्वाचनबाट २ हजार भन्दा बढी महाधिवेशन प्रतिनिधि र एक हजारजति महासमिति सदस्य निर्वाचित हुदैछन् ।   

निर्वाचन नभएकामध्ये १० जिल्लामा केन्द्रबाट निर्वाचन अधिकृत र सामाग्री पुग्न ढिलाई भएको कारण स्थगित गरिएको हो । ४ जिल्लामा सक्रिय सदस्य विवाद मिल्न बाँकी रहेकाले निर्वाचन हुन सकेन । ताप्लेजुङमा शुक्रबार सम्पन्न भएको जिल्ला अधिवेशनबाट सभापति केशव भट्टराई निर्वाचित भएका छन ।

केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीका अनुसार भक्तपुर, सप्तरी, डोटी, भोजपुर, डोल्पा, बाजुरा, सोलुखुम्बु, डडेलधुरा, तेह्रथुम, महत्तरी, र्सलाही, पर्सा, मुगु, कालीकोटमा अधिवेशन हुन नसकेको हो । उनले मुगु, कालीकोट, तेह्रथुम, डडेलधुरा, सोलुखुम्बु, बाजुरा, डोल्पा, भुजपुर र डोटीमा निर्वाचन अधिकृत र समाग्री पुग्नमा ढिलाई भएको र १७ गतेको प्रधानमन्त्रीको निर्वाचनका लागि सभासदहरु पर्कन नभ्याउने भएकाले शनिबार निर्वाचन हुन नसकेको जानकारी गराए । अधिकारीले बाँकी जिल्लामा २७ गतेअघिनै निर्वाचन सम्पन्न भईसक्ने बताए ।

महाधिवेशनका लागि प्रत्येक क्षेत्रबाट कम्तीमा दुइ महिला, एक दलित, एक आदिवासी जनजाति, एक मधेसी, मुस्लिम, अल्पसंख्यक र पिछडिएका वर्गको प्रतिनिधित्व हुनैपर्ने विधानले व्यवस्था गरेको छ । यसले महाधिवेशनमा कम्तीमा ५ सय महिला मात्रै निर्वाचित भएर आउने छन् । पाँच सयको हाराहारीमा आदिवासी जनजाति, दलितको प्रतिनिधित्व हुनेछ । त्यस्तै भ्रातृसंस्था तथा शुभेच्छुक संंस्थाबाट ९८ जना, विदेशस्थित नेपाली जनसर्म्पर्क समितिबाट कम्तीमा ४२ जनाको प्रतिनिधित्व हुनेछ । केन्द्रीय सभापतिले ३० जना मनोनीत गर्न पाउनेछन् । निर्वाचित, मनोनित र पदेन गरी महाधिवेशन प्रतिनिधि २९ सय र महासमिति सदस्य १३ सयको हाराहारीमा हुनेछन ।

केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य स्वतः महाधिवेशन र महासमिति सदस्य हुन्छन् । यसपालीको नयाू विधानले भ्रातृ संस्थाका अध्यक्ष स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरेको छ । सभासद क्षेत्रीय प्रतिनिधि पदेन रहेपनि महाधिवेशन प्रतिनिधिका लागि भने क्षेत्रीय अधिवेशनमा लड्नुपर्छ । त्यसबाहेकका नेताहरू गाउँ तहबाटै निर्वाचित भएर आउनु पर्ने हुन्छ । पदने महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हुने भएपनि कतिपय केन्द्रीय सदस्यहरु निर्वाचननै लडेका छन ।

यसपाली नेतृत्वमा गाउँ तहदेखिनै युवाहरुको बाहुल्यता बढेको छ । 'अहिलेसम्मको निर्वाचनमा युवाहरुको उत्साहजनक प्रतिनिधित्व देखिएको छ' अधिकारीले भने, 'यसले पार्टीले संगठनमा समेत प्रभाव पार्ने देखिएको छ ।'

 काठमाडौंको दश र ललितपुरको तीन निर्वाचन क्षेत्रमा शनिबार विवादर रहित ढंगबाट निर्वाचन सम्पन्न भएको छ । काठमाडौको एक नम्वर क्षेत्रमा हिरालाल तण्डुकार निर्विरोध भएका छन । त्यस्तै ६ नम्वरबाट लुच्छेमान मानन्धर र ८ नम्वर क्षेत्रबाट मोहनबहादुर बस्नेत निर्वाचित भएका छन । उपभासपति प्रकाशमान सिंह पदेन महासमिति सदस्य रहने भएपनि उनी क्षेत्रबाटै महासमितिमा निर्विरोध निर्वाचित भएर आएका छन । ललितपुर क्षेत्र नम्बर ३ मा गणेश सिलवाल सभापतिमा निर्विरोध भएका छन् ।

प्रकाशित मिति: २०६७ श्रावण १६ ०१:२९

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।