बैठक नडाक्दा षडयन्त्रको शंकाः ओली
काठमाडौ, श्रावण १५ - एमाले नेता केपी ओलीले केन्द्रीय कमिटीको बैठक नडाकेर नेतृत्वले षडयन्त्र गर्न खोजेको आशंका व्यक्त गरेका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले अहिलेको परिस्थितिमा पार्टीले सरकारबारे निर्णय लिनुपर्ने बताए ।
'स्थगित केन्द्रीय कमिटीको बैठक बस्नुपर्छ ।' उनले भने, 'तर एमाले नेतृत्वले स्थगित बैठकलाई निरन्तरता नदिएर, पर धकेलेर, तर्किन, उम्कन खोजेर फरक ढंगले केही गतिविधि गर्न खोजेको हो कि भन्ने आशंका जन्माएको छ ।'
पार्टी अध्यक्ष झलनाथ खनाललाई सशर्त प्रधानमन्त्रीमा उम्मेदवार बनाउने निर्णय गरेयता एमाले केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन । अध्यक्ष पक्षधरले बहुमतीय सरकारमा पार्टी सहभागी नहुने निर्णय भइसकेकाले बैठक वसिरहनु जरुरी नभएको तर्क गर्दै आएको छ ।
उनले कहिलेसम्म सरकारमा जाँदैनौ भनेर तर्किरहने भन्दै पार्टी एउटा निर्णयमा पुग्नुपर्ने पनि बताए । ओलीले 'आतंकपूर्ण गतिविधि गरिरहेको' माओवादीलाई भन्दा कांग्रेसलाई सरकारको नेतृत्वमा सहयोग गर्नुपर्ने समेत बताए । 'कांग्रेसको नेतृत्वको सरकार स्विकार गर्न सकिन्छ', उनले भने, 'कांग्रेसको नेतृत्व किन स्विकार गर्दैनौ भनेर भन्नु पर्यो नि , के कांग्रेस सशस्त्र पार्टी हो ।'
प्रकाशित मिति: २०६७ श्रावण १५ ०३:४०

















तपाईंको प्रतिकृया