मुलुक अव आर्थिक एजेण्डामा जानुपर्छः शान्तिमन्त्री
सहयोगी लिङ्कहरू
बागलुङ, श्रावण १५ - शान्ति तथा पुनर्निर्माणमन्त्री रकम चेमजोङले मुलुकले जतिसक्यो छिटो राजनीतिक एजेण्डाको अन्त्य गरेर आर्थिक विकासको एजेण्डामा प्रवेश गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयको सहयोगमा निर्मित यहाँको एक विद्यालय निरिक्षणको क्रममा आएका मन्त्री चेमजोङले आर्थिक विकासको एजेण्डामा प्रवेश नगरेसम्म मुलुक अगाडि बढ्न नसक्ने बताएका हुन् ।
संक्रमणकाल जति लामो भयो त्यति देश विकासमा अवरोध आउने भएकोले सबैको ध्यान आर्थिक विकासमा जानुपर्नेमा उनले जोड दिए । द्वन्द्वको दलदलमा फसेको नेपालको आर्थिक विकास गर्न नसकेमा विश्वमै नेपाल पछाडि पर्ने भएकोले अवका दिनमा सरकारले पनि सहकारीहरुको विकासका लागि सहज वातावरण तयार गर्ने नीति अवलम्बन गर्नुपर्ने बताए । सरकारले ल्याएका सबै कार्यक्रम सहकारीको विकासमा लक्षित हुनुपर्ने समेत मन्त्री चेमजोङको जोड थियो ।
विहुँ गाविसको भीमसेन उमाविको निर्मित भवन अनुगमनको काम लिएर आएका चेमजोङले सुविधा बहुउद्धेश्यीय सहकारी संस्थाको दोश्रो साधारणसभा पनि उद्घाटन गरेका थिए । उक्त अवसरमा देश विकासका लागि सरकारी निकाय, निजी क्षेत्र र सहकारी संस्थाहरुको प्रमुख हात रहने पनि उनको भनाइ थियो । दुइ बर्ष अघि स्थापना भएको सहकारीले बार्षीक एक करोड ३३ लाख कारोवार गर्दै आएको अध्यक्ष पुनम शर्माले बताए । सहकारीको बार्षीक प्रतिवेदन सचिव राजु खड्का र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विकास बुढाले प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: २०६७ श्रावण १५ ०१:०६
















तपाईंको प्रतिकृया