सभामुख-माओवादी अध्यक्ष भेट/ सोमबार नयाँ प्रधानमन्त्री चयन हुन्छः दाहाल

(4 Votes)
कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण १५ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले आगामी सोमबार मुलुकले नयाँ प्रधानमन्त्री पाउने दाबी गरेका छन् ।

सभामुख सुवास नेम्वाङलाई शनिबार बिहान भेटेपछि सञ्चारकर्मीसँग उनले भने, 'व्यवस्थापिका-संसद्को साउन १७ गतेको बैठकले नयाँ प्रधानमन्त्री चयन गर्नेछ, बहुमत जुटाउन छलफल जारी राखेको छु ।'

अबको निर्वाचनमा आफ्नो पक्षमा बहुमत पुग्ने आशा व्यक्त गर्दै उनले उक्त दिन पनि प्रधानमन्त्री चयन नभए अन्य दलसँग सहमति कायम गरेर आफ्नो पार्टीले नै सरकार गठन गर्ने ठोकुवा गरे ।

 दाहाल र सभामुख नेम्वाङबीच नयाँ संविधानलेखन प्रक्रिया र शान्तिप्रक्रियाको बारेमा पनि कुराकानी भएको थियो । 'दलहरूबीचमा देखा परेका अप्ठ्यारालाई शीघ्र अन्त्य गरी संविधानलेखन प्रक्रियालाई अगाडि बढाउन अध्यक्ष दाहाललाई आग्रह गरे'भेटपछि सभामुख नेम्वाङले सञ्चारकर्मीसँग भने ।

सभामुखका अनुसार अध्यक्ष दाहालले आफू प्रधानमन्त्री भएमा शान्तिप्रक्रियालाई दुई/तीन हप्तामा टुङ्ग्याउने आधार तयार गर्ने जानकारी  दिएको राससले उल्लेख गरेको छ ।

प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि बहुमतीय पद्धतीबाट प्रधानमन्त्री चयन गर्न साउन ५ र ७ गते भएको निर्वाचनमा प्रधानमन्त्रीको चयन हुन सकेको छ्रैन । साउन १७ गते व्यवस्थापिका संसदमा पुनःप्रधानमन्त्रीको निर्वाचन हुन लागेको छ । बहुमतका लागि माओवादीले गरेको प्रयास बारे सभामुखले जिज्ञासा राखेको बुझिएको छ । दुई-दुई पटकको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेका छैनन् । गलत सन्देश जाने भएकाले सभामुख नेम्वाङले राजनीतिक परामर्श सुरु गरेका छन् ।

माओवादी अध्यक्ष दाहाल र काँग्रेस नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीका प्रत्यासी छन् । एमाले र मधेशी मोर्चा दुई निर्वाचनमा तटस्थ बसेका कारण प्रधानमन्त्रीको चयन हुन सकेको छ्रैन ।

 

प्रकाशित मिति: २०६७ श्रावण १५ ०९:२७

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।