गोल्डेनगेट अन्तिम चारमा
सहयोगी लिङ्कहरू
काठमाडौ, श्रावण १५ - डिफेन्डिङ च्याम्पियन गोल्डेनगेट र नासा शुक्रबार 'मोर्गन कप' नवौं पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् । यी दुई टिमसँगै पेन्टागन र ह्वाइटहाउस 'ए' पनि सेमिफाइनल पुग्न सफल भए ।
सेमिफाइनलमा गोल्डेनगेट र ह्वाइटहाउस 'ए' तथा पेन्टागन र नासाबीच भिडन्त हुनेछ । राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले रिभल्बरलाई ९८-५० ले हरायो । उसका सुशील गुरुङले सर्वाधिक २२ स्कोर गरेका थिए । सबै क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेनगेट खेल आफ्नो पकडमा पार्न सफल भयो । गोल्डेनगेटले पहिलोमा १७-८, दोस्रोमा २७-१२, तेस्रोमा २४-१२ र चौथो क्वाटरमा ३०-१८ स्कोर गरेको थियो ।
अर्को खेलमा नासाले नकआउट चरण पार गर्न सफल एकमात्र मोफसलको टिम कास्कीलाई ८६-४७ ले पाखा लगायो । पहिलो क्वाटरमा २८-८ को अग्रता लिएको नासाले अन्तिमसम्म त्यसलाई कायमै राख्यो । अन्यमा उसले क्रमशः २१-१५, २०-१५ र १७-९ स्कोर गरेको थियो । नासाको जितमा रोविन खत्रीले २१ स्कोर गरे ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा ह्वाइटहाउसले प्राइमको यात्रा ८०-५३ ले पूर्णविराम लगायो । पहिलो क्वाटरमा १५-११ को अग्रता लिएको ह्वाइटहाउस दोस्रोमा १६-१९ ले पछि परेको थियो । पुनः खेलमा र्फकंदै ह्वाइटहाउसले तेस्रोमा २४-६ र चौथोमा २५-१७ को अग्रता हासिल गर्यो । उसको जितमा सदिश प्रधानले २६ स्कोर गरे ।
पेन्टागनले जेभियर इन्टरनेसनललाई ९०-५२ ले हरायो । दोस्रो क्वाटरमा १४-१३ को झीनो अग्रता हासिल गरेको जेभियर अन्यमा भने पछाडि परेको थियो । पेन्टागनले पहिलो, तेस्रो र चौथोमा क्रमश २४-८, २५-१७ र २८-१३ ले अग्रता लिएको थियो । पेन्टागनका मनोज शेरचन र गजेन्द्र कार्कीले समान १५-१५ स्कोर गरे ।
प्रकाशित मिति: २०६७ श्रावण १५ ०९:१३
















तपाईंको प्रतिकृया