तयारीमा सुस्तता
काठमाडौ, श्रावण १५ - लामो समयको सुस्तता, त्यसपछि बाँकी रहने अवधिको व्यस्तता । प्रत्येक अन्तर्राष्ट्रिय प्रतियोगिता मुखैमा आइपुगेपछि हतारिने नेपाली खेलकुदको परम्परागत विशेषता देखिन्छ । जिम्मेवार संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) पदाधिकारी पर्याप्त समय रहेसम्म कानमा तेल हालेर बस्ने गर्छन् । तीन महिनापछि चिनियाँ सहर गोन्जाउमा कात्तिक २६ देखि ११ मंसिरसम्म हुने १६ औं एसियाली खेलकुदको तयारीमा नेपाली परम्परा फेरि दोहोरिएको छ ।
सधैं खेलाडीलाई मात्र हतार हुने गर्छ । न्यून बजेटसँगै सीमित सुविधामा खेलाडीको प्रयास सधैं प्रशंसनीय हुने गर्छ । यस्तोमा कुनै प्रतिद्वन्द्वीलाई पराजित गरे पनि त्यो जित नेपाली खेलाडीका लागि पदकभन्दा कम हुने छैन । छनोट दिनदिनै रोकिने गरी भएको कराँते विवादले पक्कै पनि नेपालको गोन्जाउ यात्राको सुखद् संकेत गर्दैन । दशकौंपछि पनि खेलकुदमा अन्योलपूर्ण नेपाली राजनीतिको रङ हटेको छैन ।
कराँते छनोट शनिबार हुने बताइएको छ, निश्चित भने छैन । म्याराथनको छनोट पनि शनिबारै हुनेछ । त्यस्तै, क्रिकेटबाहेक बाँकी सबै खेलका पहिलो चरणको छनोट पूरा भइसकेको छ । एसियाली खेलकुदमा समावेश ४२ मध्ये १३ खेलमा नेपालले प्रतिस्पर्धा गर्नेछ । त्यसमा कुल ९१ खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । सर्वाधिक २८ खेलाडी क्रिकेटमा हुनेछन् ।
यसपल्ट नेपाली महिला खेलाडीको पनि उल्लेख्य उपस्थिति हुनेछ । कुल खेलाडीको ४५ प्रतिशत अर्थात् ४१ महिला नेपाली टोलीमा हुनेछन् । पुरुष खेलाडीको संख्या ५१ हुनेछ । बक्सिङमा पहिलोपल्ट यसै पालि नेपाली महिलाले चुनौती पेस गर्नेछन् । आर्चरी, कुस्ती र भारोत्तोलनमा पुरुष खेलाडी मात्र हुनेछन् ।
बाँकी दस खेलमा नेपाली चेली सामेल हुनेछन् ।
पदकको सम्भावना र विगतमा हात पारेको सफलताका आधारमा व्यक्तिगत स्पर्धाका खेललाई यसपल्ट नेपालले प्राथमिकता दिएको छ । चार वर्षअघि दोहा एसियाडमा प्रतिस्पर्धा गरेको सफ्ट टेनिस, गल्फ, बुद्धिचाल र शारीरिक सुगठनमा पदक जित्ने सम्भावना अत्यन्त कमजोर भएकाले यसपालि ती खेलमा नेपालले प्रतिनिधि नपठाउने निर्णय गरेको छ ।
व्यक्तिगत नतिजामा निर्भर नरहने गरी नेपालले खेल्ने टिम गेम हो, क्रिकेट । त्यसमा नेपालका महिला र पुरुष दुवै टिमले प्रतिस्पर्धा गर्नेछन् । एसियाली खेलकुदमा क्रिकेट पहिलोपल्ट समावेश गरिएको छ । ट्वान्टी-ट्वान्टी क्रिकेटमा २१ वर्षमुनिका खेलाडी टिममा
रहनेछन् । टिम छनोट नेपाल क्रिकेट संघले गर्नेछ ।
बढेको व्यस्तता
दुई साताअघि विश्वकप फुटबलको फाइनल प्रत्यक्ष प्रसारणमा तातिएको दशरथ रंगशाला परिसरको वातावरण अहिले फेरिएको छ । धेरैको दैनिकी फेरिएको छ । व्यस्तता बढेको छ । नेपालको यात्रा सुखद् बनाउने लक्ष्यसहित पहिलो चरणको छनोट पार गरेका र छनोट हुने आसमा रहेका खेलाडी कडा अभ्यासमा जुटेका छन् । उनीहरू सके पदक जित्ने, नसके प्रदर्शन सुधार्ने योजनामा छन् । प्रशिक्षकहरू आफूले जानेका सीप सिकाउँदै खेलाडीलाई योग्य र पारम्गत बनाउन प्रयासरत छन् ।
व्यवस्थापनको जिम्मेवारी पाएका खेल संघ र राखेपका पदाधिकारी पनि नेपाली टिमको गोन्जाउ यात्रा सुखद् तुल्याउन जुट्न थालेका
छन् । धेरैको व्यस्ततामा खेलाडीको प्रदर्शन र हात लाग्ने नतिजाले नै कुनै पनि टोलीको तयारी कस्तो थियो भन्ने प्रस्ट पार्ने गर्छ । गोन्जाउमा आउने नतिजाले नै एसियाली खेलकुदमा नेपालको स्तर मापन गर्नेछ ।
तयारी तीन चरणमा
खेलाडी छनोट र एसियाली खेलकुदको तयारीलाई राखेपले तीन चरणमा विभाजन गरेको छ । कराँते र एथलेटिक्सतर्फ म्याराथनको मात्र पहिलो चरणको छनोट बाँकी छ । तयारीको पहिलो चरण साउन १ बाट सुरु भएको छ र ३१ गते सकिनेछ । प्रतियोगिता सुरु हुनु १५ साताअघि मात्र सुरु भएको तयारी राम्रो होइन । अहिले नै तयारीमा आमूल परिवर्तन गर्ने स्थिति पनि छैन ।
ढाकामा ६ महिनाअघि सम्पन्न दक्षिण एसियाली खेलकुद -साग) का पदक विजेता र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेका खेलाडीको हकमा भने प्रारम्भिक छनोटमा भिड्नु पर्दैन । उनीहरूले भदौ १ देखि १६ गतेसम्म हुने दोस्रो चरणमा सीधैं अवसर पाउनेछ ।
बक्सिङमा भने ढाकामा पदक जितेका खेलाडीले पनि प्रारम्भिक छनोटबाटै यात्रा सुरु गरे । यस्तोमा कहिलेकाहीँ उत्कृष्ट खेलाडी पनि खराब स्थितिबाट गुज्रने गर्छन् । सागमा रजत पदक चुमेका अजित गुरुङको स्थिति ठीक यस्तै रह्यो । उनलाई अविश्वसनीय रूपमा छनोटमै दिनेश श्रेष्ठले हराए । त्यसैले अहिलेका उत्कृष्ट नेपाली मुक्केवाजका लागि कम्तीमा चार वर्ष एसियाली खेलकुदको ढोका बन्द भएको छ ।
भदौ १७ देखि कात्तिक २४ गतेसम्म हुने अन्तिम चरणको तयारीमा गोन्जाउ यात्रा गर्ने निश्चित भएका खेलाडी हुनेछन् । अन्तिम तयारीको बन्द प्रशिक्षण विदेशी भूमि वा नेपालमै विदेशी प्रशिक्षक झिकाएर सञ्चालन गर्ने राखेपले योजना बनाएको छ ।
अहिलेसम्म एसियाली ओलम्पिक मानिएको बृहत् खेलकुदमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने स्पर्धा टुंगो लागेको छैन । बन्द प्रशिक्षणमा खेलाडीले प्रदर्शन गर्ने उत्कृष्टताका आधारमा स्पर्धाको निर्धारण गर्ने राखेपअन्तर्गत प्रशिक्षण विभागका निर्देशक नारायणदेव यादवले
बताए ।
आस मार्सल आर्ट्समा
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको इज्जत सधैं मार्सल आर्ट्सले धान्दै आएको छ । यसपालि पनि नेपाललाई मार्सल आर्ट्सले नै पदक तालिकामा स्थान दिलाउने आस गरिएको छ । यस्तोमा नेपाल तेक्वान्दो र कराँतेमा बढी निर्भर छ । चार वर्षअघि दोहामा कांस्य चुमेका तेक्वान्दोका आयशा शाक्य, मनिता शाहीसहित ११ औं सागका पदाधकारीले नै नेपालको झन्डा गोन्जाउमा फहराउने अपेक्षा गरिएको छ ।
अहिलेसम्म खेलेको १३ संस्करणमा नेपालले कुल एक रजत र २० कांस्यपदक जितेको
छ । सुरुका सात संस्करणमा खाली हात फर्केको नेपालले सन् १९८६ को सोल एसियाडबाट पदकको खाता खोलेको थियो । त्यसमा जितेको ८ कांस्य कुनै पनि एसियाडमा नेपालले हात परेको सर्वाधिक पदक संख्या हो । त्यसयता नेपाल रित्तो हात र्फकनुपरेको छैन ।
प्रकाशित मिति: २०६७ श्रावण १५ ०९:१०

















तपाईंको प्रतिकृया