पुँजी पालयन रोक्न विदेशी सम्बन्धन

(0 Votes)
सुजित महत

काठमाडौ, श्रावण १५ - प्रख्यात स्विस होटल स्कुलको सम्बन्धन पाउन लिटल एन्जेल्स एकेडेमीका सञ्चालक उमेश श्रेष्ठ अहिले स्विट्जरल्यान्डमा छन् । हिमालयन ह्वाइट हाउस कलेजको सहकार्यमा उनी होटल व्यवस्थापनका साथै बैंककस्थित एसियन इन्स्िटच्युट अफ टेक्नलोजीको सम्बन्धनमा इन्जिनियरिङको कक्षा सञ्चालन गर्ने योजनामा छन् ।

बेलायतको विख्यात क्याम्बि्रज विश्वविद्यालयको सम्बन्धनमा ए लेभल -प्लस टु) सञ्चालन गरिरहेको चेल्सी इन्टरनेसनल स्कुलका पि्रन्सिपल सुधीर झा कलेज खोलेर अमेरिकास्थित विश्वविद्यालयको सम्बन्धनमा बिबिए र एमबिएको कक्षा सञ्चालन गर्ने योजना बुनिरहेका छन् । 'सम्बन्धन लिएपछि मात्र कलेज सञ्चालन गर्छु,' उनले भने ।  

उच्च शिक्षामा ठूलो लगानी गरिरहेका निजी क्षेत्रको पछिल्लो समय विदेशका प्रतिष्ठानबाट सम्बन्धन लिन रुचि देखिएको छ । शिक्षाको गुणस्तर वृद्धिका साथै विद्यार्थीको आकर्षण बढाउन विदेशीसँग सहकार्य गर्न जरुरी रहेको हिमालयन ह्वाइट हाउसका प्रमुख कार्यकारी युवराज शर्मा बताउँछन् ।

होटल व्यवस्थापन विषयमा युरोप र अमेरिकाका प्रतिष्ठानको सहकार्यमा कक्षा सञ्चालन सुरु भइसकेको छ । राजधानीस्थित सिल्भर माउन्टेन होटल म्यानेजमेन्ट स्कुलले अमेरिकाको पि्रस्टो विश्वविद्यालय, इन्टरनेसनल स्कुल अफ टुरिजमले  अस्टि्रयाको साल्टवर्ग विश्वविद्यालय र गेट्ज कलेजले इन्टरनेसनल स्कुल अफ होटल म्यानेजमेन्टबाट सम्बन्धन लिई कक्षा सुरु गरिसकेका छन् ।    

बूढानीलकण्ठ स्कुलले सन् १९८६ मा क्याम्बि्रज विश्वविद्यालयको सम्बन्धनमा ए लेभलको कक्षा सुरु गरेर विदेशको पाठ्यक्रम भित्र्याएको थियो । अहिले क्याम्बि्रजको सम्बन्धनमा ए लेभलको कक्षा सञ्चालन गर्ने प्रतिष्ठानको संख्या २८ पुगेको छ । राजधानीका २४ का साथै पोखराका ३ र विराटनगरको १ स्कुलले ए लेभल सञ्चालन गरिरहेका छन् ।

क्याबि्रजको सम्बन्धनले मुलुकलभित्रै गुणस्तरीय पढाइका साथै पुँजी पलायन रोकिएको चेल्सीका झा बताउँछन् । 'यदि यहाँ ए लेभलको पढाइ नहुँदो हो त अहिले पढिरहेकाहरू भारत जान्थे,' उनले भने । भारतमा प्रतिमहिना ४० हजार रुपैयाँ शुल्क लाग्ने जनाउँदै उनले भने, 'यहाँ प्रतिमहिना १० हजार रुपैयाँ तिरेर पढ्न पाएका छन् ।'

विदेशका प्रख्यात विश्वविद्यालयसँग सहकार्य गर्न पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने उच्चमाध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्षसमेत रहेका श्रेष्ठ बताउँछन् । लिटल एन्जेल्सले उच्च शिक्षाको पूर्वाधारमा करिब ५० करोड रुपैयाँ लगानी गरिसकेको छ । यसका साथै दक्ष जनशक्ति पनि अपरिहार्य छ । 'विदेशको सम्बन्धन लिएको देखाउन जस्तोसुकै  विश्वविद्यालय पनि हुने भए त केही पनि चाहिँदैन,' उनले भने, 'प्रख्यात प्रतिष्ठानसँग सहकार्य गर्न त गाह्रो छ ।' हिमालयन ह्वाइट हाउसले पनि ठूलो लगानी गरिरहेको छ । उसले पूर्वाधार निर्माणका लागि खुमलटारमा ४० रोपनी जग्गामा पूर्वाधार निर्माण गरेको छ ।     

विदेशका प्रख्यात शैक्षिक प्रतिष्ठानको सम्बन्धन लिँदा स्थानीय प्रतिष्ठानको शैक्षिक गुणस्तर वृद्धि हुनुका साथै विद्यार्थीको आकर्षण बढ्ने शर्माको जिकिर छ । 'सम्बन्धन लिएर यहाँ कक्षा सञ्चालन गर्नु भनेको विदेशको त्यही विश्वविद्यालयमा पढेसरह हो,' उनले भने । मुलुकमै बसेर विदेशका विख्यात विश्वविद्यालयको प्रमाणपत्र पाइने भएपछि विद्यार्थीलाई बाहिर जाने बाध्यता हट्नेछ । प्रख्यात गुणस्तरको पाठ्यक्रम स्तरीय हुने भएकाले विद्यार्थी लाभान्वित हुने झाको भनाइ छ ।

विदेशका पाठ्यक्रम पढाउने जनशक्ति पनि क्रमशः तयार भइरहेके चेल्सीका प्रबन्ध निर्देशक प्रणिता विष्ट बताउँछिन् ।  उनका अनुसार क्याम्बि्रजले तयार गरेको प्रश्नपत्रको आधारमा संसारभरि एकै दिन हुने ए लेभलको परीक्षामा यहाँका विद्यार्थीले  उत्कृष्ट अंक हासिल गरेकाले गुणस्तर अन्तर्राष्ट्रियस्तरको पुष्टि गरिसकेको छ । विदेशको सम्बन्धनले शिक्षकहरूको दक्षता वृद्धि गर्ने भएकाले प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ ।  

 

प्रकाशित मिति: २०६७ श्रावण १५ ०९:०५

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।