६ महिनासम्म आमाको दूध मात्रै
काठमाडौ, श्रावण १५ - सरकारी जागिरे निता दिनहुँ आठ घन्टा अफिसमा बिताउने गरे पनि उनकी तीनमहिने छोरीले आमाको दूध मात्रै खाने गरेकी छन् । यसका लागि नितालाई भने दूध ख्वाउने बेला आफू घर पुग्नुपरेको छैन, नानीलाई समेत आफूसँगै अफिस लैजानुपरेको छैन ।
जागिरे रहँदा पनि निताकी छोरी 'एक्सक्लुसिभ बे्रस्ट फिडिङ' अर्थात् जन्मदेखि ६ महिनासम्म मात्र आमाको दूध खाने भाग्यमानी शिशुमध्ये एक हुन् । यसो गर्न उनलाई खासै केही गर्नुपर्दैन । अफिस लाग्नुअघि उनी आफ्नो दूध निचोरेर सफा बट्टामा अलि चिसो ठाउँमा राख्छिन् । आफन्तले हरेक दुई घन्टामा त्यही दूध उनी घर नआउन्जेल छोरीलाई खुवाउने गरेका छन् ।
अधिकांश नेपाली जागिरे महिला मात्र नभई गाउँघरमा घाँसदाउरा गर्ने गृहिणीहरूले समेत शिशुलाई ६ महिनासम्म मात्र स्तनपान गराउनुपर्ने विश्वव्यापी सर्वमान्य सिद्घान्त अपनाउने गरेका छैनन् । निताको जस्तै प्रक्रिया अपनाएर मात्र अफिस वा कुनै पनि काममा जाने महिलाहरूले नानीलाई ६ महिनासम्म स्तनपान मात्रै गराउन सक्ने प्रसूति गृहका प्रमुख कन्सल्टेन्ट पेडियाटि्रसियन डा. धनराज अर्याल बताउँछन् ।
'आमाले दूध निचोरेर राख्ने र आफन्तले ठीकठीक समयमा ख्वाउँदा एक्सक्लुसिभ ब्रेस्ट फिडिङ हुन्छ,' उनी भन्छन् । उनका अनुसार कोठाको सामान्य तापक्रममा ५/६ घन्टा र फ्रिजमा भने यो २४ घन्टासम्म आमाको दूध राम्रो नै रहन्छ ।
समाजमा रहेको अवैज्ञानिक मान्यतालाई औंल्याउँदै डा. अर्याल आमाको दूध बासी नहुने बताउँछन् । निचोरेर राखेको दूध नानीलाई ख्वाउने समयमा भने मनतातो पानीको कचौरामा आमाको दूध भएको बट्टालाई डुबाएर अलिअलि तताउनुपर्ने हुन्छ ।
जन्मदेखि ६ महिनासम्म आमाको दूधबाहेक कहिलेकाहीँ आवश्यक परे औषधिका अतिरिक्त अरू केही नख्वाउनु एक्सक्लुसिभ ब्रेस्ट फिडिङ रहेको उल्लेख गर्दै कान्ति बाल अस्पतालका प्रमुख कन्सल्टेन्ट पेडियाटि्रसियन डा. चन्देश्वर महासेठ भन्छन्, 'हामीकहाँ जन्मँदैदेखि मह, मिस्रीको झोल, ग्राइप वाटर, पानी आदि ख्वाउने गरिन्छ ।' उनी निचोरेर राखेको आमाको दूध बोतलका माध्यमले कहिल्यै ख्वाउनु नहुने उल्लेख गर्दै बच्चालाई कचौरा र चम्चाका माध्यमले निचोरेर राखिएको दूध ख्वाउनुपर्ने बताउँछन् । बोतलका माध्यमले दूध ख्वाउँदा संक्रमणको सम्भावना धेरै हुन्छ ।
जन्मलगत्तै शिशुको पहिलो आवश्यकता हो, आमाको दूध । यसले शिशुलाई सम्पूर्ण पोषण मात्र दिँदैन, थुप्रै रोगबाट समेत जोगाउँछ । स्तनपान गराउनाले आमासमेत स्वस्थ रहन्छन् । डा. महासेठका अनुसार आमाको दूध बट्टाको दूधभन्दा छिट्टै पच्छ । यसमा बोसो, ग्लुकोज, पानी र प्रोटिनको सन्तुलित मात्रा हुन्छ, जुन शिशुको विकासका लागि आवश्यक हुन्छ । आमाको दूधमा पाइने प्रोटिन सजिलै पच्छ । यसले शिशुहरूको रोग प्रतिरोधात्मक क्षमतामा वृद्घि हुन्छ ।
६ महिनासम्म आमाको दूध मात्र खान पाउनुपर्ने बालअधिकार भएको उल्लेख गर्दै डा. महासेठ कामकाजी महिलालाई 'एक्सक्लुसिभ' स्तनपान गराउन ६ महिनासम्म बिदा दिने प्रावधान अविलम्ब लागू हुनुपर्ने औंल्याउँछन् ।
स्वास्थ्य मन्त्रालय, बाल स्वास्थ्य महाशाखाका अनुसार ६ महिनासम्म आमाको दूध मात्र खाने बालबालिकाको संख्या निरन्तर कम भइरहेको छ । सरकारी र निजी क्षेत्रले महिलालाई सरदर दुई महिना प्रसूति बिदा दिने गरेका छन् ।
नेसनल डेमोग्राफिक हेल्थ सर्भेका अनुसार सन् २००१ मा ६ महिनासम्म आमाको दूध मात्र खाने नानीहरू ६७ प्रतिशत थिए भने यो संख्या सन् २००६ मा ५३ प्रतिशतमा झरेको छ ।
आमाको दूध पर्याप्त हुँदा पनि शिशु बढी रुँदा दूध अपुग ठानेर आमाले बट्टाको दूध ख्वाउन थाल्ने चिकित्सकहरू बताउँछन् । डा. अर्यालका अनुसार अपवादबाहेक स्वस्थ आमामा आफ्नो बच्चालाई पुग्ने दूध स्वतः उत्पन्न भइरहेको हुन्छ । आमाले जति बढी दूध चुसाउँछन्, यति उत्पादन हुन्छ ।
विश्वमै आमाको दूधलाई नानीहरूका लागि सबैभन्दा पौष्टिक मानिएको छ । दूधमा हुने पोषकलगायतका विभिन्न तत्त्वको मात्रा नानीको उमेरअनुसार परिवर्तित भइरहेको हुन्छ । अर्थात् जुन उमेरमा जस्तो दूध उपयुक्त हुन्छ, शिशुका लागि त्यस्तै दूध उत्पादन भइरहेको हुन्छ । शिशुका लागि प्राकृतिक आहारा रहेको आमाको दूधको कुनै विकल्प छैन । यसले शिशुहरूलाई रोग र संक्रमणबाट बचाउँछ भने आमाले शिशुलाई दूध ख्वाउँदा उनीहरूबीचको भावनात्मक सम्बन्ध अझ बलियो हुन्छ ।
बोतलको दूध खाने शिशुहरू विकासका लागि आवश्यक पोषक तत्त्वले वञ्चित हुने चिकित्सातथ्यहरूमा उल्लेख छ । आमाको दूध नपाउने शिशुमा स्तनपान गर्ने शिशुको दाँजोमा मृत्युको खतरा २ देखि ७ गुणासम्म बढी मात्र हुँदैन, गम्भीर रोगको सम्भावनासमेत हुन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार जन्मको एक घन्टाभित्र नवजात शिशुलाई आमाको दूध ख्वाउनुपर्छ । सामान्य डेलिभरी भए आधा घन्टापछि र शल्यक्रिया (सिजेरिङ) बाट जन्म भएको हो भने अधिकतम दुई घन्टापछि बच्चालाई दूध चुसाउनुपर्छ । जब शिशु रुन्छ, त्यतिखेर धेरैजसो आमा उनीहरूलाई दूध ख्वाउन थाल्छन् । तर बच्चालाई प्रत्येक दुई घन्टापछि अर्थात् दिनभरिमा ११/१२ पटक दूध ख्वाउनुपर्छ । केही शिशु विस्तारै दूध खान्छन् भने केही छिटो । त्यसैले नानीहरूलाई उनीहरूको धित मरुन्जेल दूध चुसाउनुपर्छ ।
कुनै-कुनै समुदायमा बच्चा जन्मेको दुई/तीन दिनसम्म आमाको दूध ख्वाउन नहुने धारणा छ । यो पूर्णतः गलत हो । पहिलो दुई/तीन दिनको दूध गाढा पहेंलो हुन्छ, बिगौतीजस्तो । त्यो दूध शिशुका लागि झन् अत्यावश्यक हुन्छ । 'बिगौती भनेकै शिशुका लागि पहिलो खोप हो,' डा. अर्याल भन्छन् । यसमा प्रोटिन, शक्ति र भिटामिन, रोग प्रतिरोधक क्षमता (प्रोटेक्टिभ एन्टिबडी) हुन्छ, जसले शिशुलाई थुप्रै रोगबाट बचाउँछ । यो दूध जन्मदेखि ४/५ दिनसम्म उत्पन्न हुने गर्छ । यस्तो दूधले शिशुलाई रतन्धोजस्तो रोगबाट समेत जोगाउँछ ।
नवजात शिशुले रोग प्रतिरोधक शक्ति आमाको दूधबाट प्राप्त गर्छन् । अनुसन्धानअनुसार आमाको दूधमा हुने 'लैक्टोफोर्मिन' नामक तत्त्वले शिशुको आन्द्रामा लौहतत्त्व -आइरन) लाई
बाँध्छ । यसले शिशुको आन्द्रामा रोगका कीटाणु उत्पन्न हुन दिँदैन । आमाको दूधबाट आएका साधारण जीवाणु शिशुको आन्द्रामा बस्छन् । रोगाणुसँग प्रतिस्पर्धा गरेर तिनलाई हटाउँछ ।
वातावरणबाट आमाको आन्द्रामा आएको रोगाणु आन्द्रामा रहेको विशेष भागको सम्पर्कमा आउँछ, अनि ती रोगाणुको विषविरुद्घ प्रतिरोधक तत्त्व बनाउँछ । यो तत्त्व विशेष नली 'थोरासिक डक्ट' बाट सीधै आमाको स्तनमा पुग्छ । यसपछि यो तत्त्व दूधको माध्यमले शिशुको पेटमा जान्छ । यस प्रकार आमाको दूध खाएर शिशु सदैव स्वस्थ रहन्छ ।
६ महिनासम्म निरन्तर स्तनपानले झाडा-पखाला, निमोनिया र एलर्जी हुन सक्ने अवस्था कम गर्ने उल्लेख गर्दै डा. महासेठ भन्छन्, '६ महिनासम्म आमाको दूध मात्र ख्वाउनाले संक्रमणबाट बँच्न र लड्न सघाउँछ ।'
प्रकाशित मिति: २०६७ श्रावण १५ ०८:५५

















तपाईंको प्रतिकृया