बत्ती र कानै खाने टिँ टिट्

शोधहरूका अनुसार स्वीकार गर्न नसकिने ध्वनिले गर्दा शरीरमा कर्टिसोल भन्ने हर्मोन बन्छ ।

(0 Votes)
जितेन्द्र साह

काठमाडौ, श्रावण १५ - सवारी साधनले मनपरी बजाउने हर्न र साइरनको आवाजले बूढानीलकण्ठकी नितु तामाङलाई दिक्क पार्छ । 'बसपार्कमा चालकबीच हर्न बजाउने प्रतिस्पर्धा हुन्छ, उनीहरूले अस्पताल, विद्यालय र आवासीय क्षेत्रको समेत विचार गर्दैनन्,' उनले भनिन्,' होइन, यसबारेमा आवाज उठाउने र कारबाही गर्ने निकाय छैन कि क्या हो ?'

नितु झैं अरूले पनि कान थुनेर हिंड्नु, सुत्नु र सवारी चढ्नु परेको छ । शंखमूलवासी निरज खरेल त सवारी साधनले जथाभावी प्रयोग गर्ने बत्ती देखेर अचम्म मान्छन् । 'जसले पनि रातो बत्ती प्रयोग गर्न त नपाउनु पर्ने हो,' उनले भने, 'यहाँ त फोहोर संकलन गर्ने गाडीले समेत रातो बत्ती बाल्दै हिंडिरहेका हुन्छन् ।'

महानगरीय प्रहरी ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी विनोद सिंहका अनुसार यो सम्बन्धमा ऐन/नियम नभएकाले अनुगमन र कार्यान्वयनमा समस्या छ । अन्तर्राष्ट्रिय प्रचलन अनुरूप अत्यावश्यक सवारी साधनले पहेंलो, एम्बुलेन्सले नीलो र सुरक्षा निकायको वाहनले रातो बत्तीको प्रयोग गर्नुपर्छ । उनीहरूले बजाउने साइरनको आवाज पनि पृथक हुनुपर्छ ।

'संसारभरि रातो बत्तीको निकै सम्मान हुन्छ, सुरक्षा निकायबाहेक अरूले यसको प्रयोग गर्न पाउन्नन्,' डिआइजी सिंहले कान्तिपुरसँग भने- 'अरू मुलुकमा रातो बत्तीको मनलागी प्रयोग गर्नेलाई कडा कारबाही र सार्वजनिक बेइज्जती गर्ने गरिन्छ ।' उनका अनुसार २०४२ मा कसले र कुनखाले बत्ती राख्नेबारे एक निर्णय भए पनि त्यसको कहिल्यै कार्यान्वयन हुन सकेन ।

महानगरभित्र फोहोरको गाडी, दमकल र अधिकांश एम्बुलेन्स सेवाले रातो बती मात्र होइन, एक-अर्कासँग मिल्ने आवाजको साइरन प्रयोग गर्दा भ्रम उत्पन्न हुने गरेको छ । कुन र कसको गाडी हो भन्ने छुट्टयाउन गाह्रो हुन्छ । कहिलेकाहीं त सर्वसाधारणमा अनावश्यक त्राससमेत उत्पन्न हुन्छ ।

यातायात व्यवस्था विभागले केही वर्षअघिदेखि चर्को आवाज निकाल्ने 'एयर प्रेसर र म्युजिक हर्न' को प्रयोगलाई चक्रपथभित्र बन्देज लगाएको छ । ट्राफिक र विभागले पाँच महिनाअघि तोकिएको मापदण्डविपरीतको हर्न र साइरन हटाउने अभियान सुरु गरेको थियो ।

महाशाखाले उपलब्ध गराएको शोध र अध्ययन अनुसार सामान्य सुन्ने क्षमता २६ डेसिबल हुन्छ र ६० डेसिबलसम्मको ध्वनि स्वीकारयोग्य हुन्छ । मानव स्वास्थ्यका लागि ७० डेसिबलको ध्वनिलाई हानिकारक मानिएको छ । अस्पताल क्षेत्रमा ५० डेसिबल र अस्पतालको कोठामा ३५ डेसिबलभन्दा चर्को ध्वनि हानिकारक हुन्छ । सामान्य हल्लाको आवाज ५० डेसिबलको हुन्छ । घरमा ५५ डेसिबलभन्दा बढी, बाहिर ८५ भन्दा बढी र उद्योगमा ९० डेसिबलभन्दा बढी आवाज हुनु हुँदैन । सामान्य सवारी साधनको हर्नको डेसिबल सयभन्दा बढी हुन्छ ।

प्रायःजसो शारीरिक र मानसिक समस्या हर्नबाट हुने ध्वनि प्रदूषणका कारणले हुनसक्छ । पन्ध्र मिनेटभन्दा बढी चर्को ध्वनिमा बस्ने स्थायी वा अस्थायीरूपले बहिरो हुनसक्छ । टाउको दुःखने, कान कम सुन्ने, चिडचिडापन बढ्ने, तनावमा रहने, एकाग्रता नहुने, वाकवाकी हुने, मुटुसम्बन्धी समस्या हुने, निन्द्रा कम लाग्ने, बोलीमा प्रभाव पर्ने र रिस उठ्नेलगायतका स्वास्थ्य समस्याहरू देखा पर्दछ ।

डिआइजी सिंहका अनुसार व्यावहारिक आधारमा दैनिक ६०/७० गाडीबाट मानसिक विचलन ल्याउने हर्न निकाल्ने गरिएको छ । टाढासम्मका यात्रुलाई जनाउ दिन राजमार्ग र पहाडी भेगमा भने यसको प्रयोजनलाई व्यावहारिक मानिएको छ । 'हामीसँग कारबाही गर्ने कानुनी अधिकार भने छैन,' उनले भने, 'कानुन नभएकाले यातायात व्यवसायीले यो कारबाहीलाई अदालतमा चुनौती दिएमा के गर्ने ?'

उनका अनुसार हालसम्मको अध्ययनमा मानवीय र व्यावहारिक आधारमा ९९ प्रतिशत चालकले केही नबोले पनि १ प्रतिशतले भने यससम्बन्धी ऐनको खोजी गर्छन् । 'धेरैले यसको दुरुपयोग गरेका छन्, कानुन नभए पनि यसको जथाभावी प्रयोग गर्नुहुन्न,' काभ्रेका चालक मिलन लामा भन्छन्, 'यसले राम्रो सन्देश दिंदैन ।'

शोधहरूका अनुसार स्वीकार गर्न नसकिने ध्वनिले गर्दा शरीरमा कर्टिसोल भन्ने हर्मोन बन्छ । यसले प्रतिरक्षात्मक प्रणालीलाई राम्ररी काम गर्न दिंदैन । यसले क्यान्सर र एड्स भएकालाई हानि गरिरहेको हुन्छ । तनावले गर्दा विभिन्न किसिमका 'स्ट्रेस हर्मोन' निस्कनुका साथै मुटुको ढुकढुकीमा परिवर्तन आउने, रगतमा कोलेस्ट्रोलको स्तर बढ्ने र पाचन क्रियामा उतार-चढाव आउने हुन्छ । तनावले गर्दा उच्च रक्तचाप र मुटुसम्बन्धी अनेक रोगहरू लाग्न सक्छन् । यसले गर्दा सिक्ने क्षमतामा ह्रास आउनुका साथै प्रदर्शन दक्षतामा समेत कमी आउँछ ।

गर्भवती महिला चर्को ध्वनि प्रदूषणबाट प्रभावित भएमा जन्मने बच्चाको श्रवण शक्ति कमजोर हुनसक्ने र विकास क्रममा समेत असर पर्ने हुन्छ । अत्यधिक ध्वनिले मानिसलाई मात्र असर पर्ने नभई व्यस्त सडक वरिपरि बस्ने चरा र जन्तुलाई समेत असर पुर्‍याएर दिशा ज्ञान तथा प्रजनन जस्ता जीवनचक्रमा असर पर्छ ।

विभागका निर्देशक अनील गुरुङका अनुसार गाडीमा तोकिएको मापदण्डविपरीत ध्वनि संयन्त्र राख्न मिल्दैन । 'कम्पनीले चाहिने अनुरूपको संयन्त्र राखेको हुन्छ, त्यसलाई परिवर्तन गर्न मिल्दैन,' उनले भने । यस सम्बन्धी मार्गनिर्देशिका जारी गरिएको उनले जानकारी दिए । 'विभागले यो समस्या बढेको हुनाले फेरि यो महिनादेखि मापदण्ड अनुरूप हर्न राखे/नराखेको हेर्न अनुगमन गरिरहेको छ,' गुरुङले कान्तिपुरसंग भने ।

 

प्रकाशित मिति: २०६७ श्रावण १५ ०८:४५

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।