जाम्बियामा थुनिएका विद्यार्थी फर्काउन पहल
काठमाडौ, श्रावण १४ - जाम्बियामा थुनामा रहेका ११ विद्यार्थी फर्काउन नेपाल सरकारले कूटनीतिक पहल थालेको छ ।
परराष्ट्र मन्त्रालयले ती विद्यार्थी नेपाली नागरिक भएको जनाउँदै उनीहरूको कसुर मिनाहा गरी स्वदेश फर्काउन केही दिनअगाडि जाम्बिया सरकारलाई पत्राचार गरेको हो । 'हराएका भनिएका ती विद्यार्थीलाई जाम्बिया अध्यागमनले पक्राउ गरी जेलमा राखेको रहेछ,' परराष्ट्र स्रोतले भन्यो, 'हामीले उनीहरूलाई छुटाउन जाम्बिया सरकारलाई पत्राचार गरेका छौं ।'
रोजगारीको प्रलोभनमा पारी नेपाल र बेलायतबाट दक्षिण अफ्रिका लगिँदै गरेका ११ नेपाली विद्यार्थी करिब ३ साताअघि जाम्बियामा पक्राउ परेका थिए । प्राप्त जानकारीअनुसार ती विद्याथी बेलायतबाट सन्तोष नामका नेपालीले रोजगारीको प्रलोभनमा पारी दक्षिण अफ्रिका लैजाने क्रममा जाम्बियामा पक्राउ परेका हुन् । पक्राउ परेकामा रेवतीप्रसाद नहर्की, भोजराज देवकोटा, राजेन्द्र रिजाल, विकास विश्वकर्मा, बुद्धि सापकोटा, राधा पौडेल, सन्ध्या लम्साल, किरण रिजाल, सन्तोष पौडेललगायत विद्यार्थी छन् । उनीहरू विद्यार्थी भिसामा पाँच महिनाअघि बेलायत पुगेका थिए । ती विद्यार्थी सम्पर्कबाहिर पुगेपछि खोजी गरिदिन आग्रह गर्दै आफन्तले परराष्ट्रमा निवेदन दिएका थिए । निवेदनमा बेलायतबाट दुबई, केन्या, तान्जेनिया, जाम्बिया हुँदै दक्षिण अफ्रिका जाने क्रममा उनीहरूलाई बेपत्ता बनाइएको उल्लेख छ ।
प्रकाशित मिति: २०६७ भाद्र २१ ०८:३३











तपाईंको प्रतिकृया