जेल छाडेर संसार हेर्दा...

कृष्ण आचार्य

गोरखा, श्रावण १४ - जेलमै जन्मेका सविन मझकोटीले साढे चार वर्षपछि बुधबार पहिलोपटक बाहिरी संसार देखे । मध्याह्न १२ बजे कारागारबाहिर निस्केका सविन गाडी देख्नेबित्तिकै निकै कहालिए ।

सरिताको कोखबाट जेलमा जन्मेका उनी पहिलोपटक कारागारबाहिर निस्कन पाउँदा निकै खुसी पनि भए ।

सविनले बाहिर भेटेका अधिकांश पुरुषलाई मामाको साइनो लगाए । उनीसँगै रहेका कारागारका कर्मचारी कृष्णहरि ढकालका अनुसार सुरक्षाका लागि खटिएका प्रहरीलाई मामा भन्ने गरेकाले उनले यस्तो न्यानो साइनो लगाएका हुन् ।

विद्यालय भर्ना हुन बाहिर निस्केका सविनले सुरक्षाकर्मीकै व्यवहार देखेर होला, मन परेको व्यक्तिलाई सैनिक शैलीमा सलाम समेत गरे । सदरमुकामबाट सेन्ट जोसेफ स्कुल पुर्‍याउन गाडी चढाउँदा भने उनी बेहोसै भए । कहिल्यै गाडी नदेखेको र नचढेको हुनाले बेहोस भएको कारागारका कर्मचारी ढकालले बताए ।  उनलाई पत्रकार, कारागारका कर्मचारी र हिमालयन बैंकका शाखा प्रबन्धक तुलसी कार्कीले विद्यालय लगेका थिए ।

पढ्ने उमेरमा कारागारभित्र भन्ने समाचार सार्वजनिक भएपछि सोही बैंकका स्वयम्भू शाखा प्रबन्धक कपिल लोहनीले उनलाई पढाउने जिम्मा लिएका हुन् ।

'बन्दी जीवनमा के नै देख्न पाइन्छ र ?' ढकालले भने, 'उनले त झन् जन्मेदेखि नै केही देख्न पाएका थिएनन् ।' ज्यान मुद्दामा १० वर्षे जेल सजाय पाएकी सरिताबाट सविन कारागारभित्रै जन्मेका हुन् । तनहुँ मिर्लुङकी सरिता जिल्लामा महिला कारागार नभएकाले पोखरा हुँदै यहाँ सरुवा भएर आएकी थिइन् ।

सरिता जेलमुक्त हुन अझै पाँच वर्ष छ । उनी जेल परेपछि परिवार सम्पर्कमा छैनन् । आमा कारागारमा रहुन्जेल सविनले अब गोरखा नगरपालिकास्थित गण्डकी होस्टलमा बसी सेन्ट जोसेफ विद्यालयमा पढ्नेछन् ।

लोहनीले उनलाई भर्नासमेत गराइदिसकेका छन् । आमा जेलमुक्त भएपछि सविनलाई उनीहरूको इच्छा अनुसारकै विद्यालयमा पढाइदिने लोहनीले बताए ।

 

प्रकाशित मिति: २०६७ भाद्र २१ ०८:३१

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]