सहमतीय सरकारका लागि कुटनीतिक पहल

(1 Vote)
लोकमणि राई

काठमाडौं, श्रावण १४ - अनमिन र अमेरिकाले राजनीतिक गतिरोध अन्त्यका लागि सहमतीय सरकार बन्नुपर्नेमा जोड दिएका छन् त्यसका लागि प्रमुख राजनीतिक दलबीच सहमति कायम हुनुपर्ने उनीहरूको धारणा छ ।

बिहीबार नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधानमन्त्रीसमेत रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र अनमिन प्रमुख करिन लेनग्रेनले माओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई भेटी सहमतिका लागि जोड दिएका थिए । उनीहरूले राजनीतिक गतिरोध अन्त गरी शान्ति प्रक्रिया निस्कर्षमा पुर्‍याउन र माओवादी लडाकू समायोजन र पुनर्स्थापना गर्न सहमतिको सरकार आवश्यक रहेको जनाए । 'राजनीतिक गतिरोध अन्त गर्न, शान्ति प्रक्रिया निस्कर्षमा पुर्‍याउन र अनमिनको समयावधि रहँदै माओवादी सेना समायोजन र पुनस्थापना गर्न प्रमुख राजनीतिक दलले सहमतिको सरकार बनाउनु पर्नेमा जोड अनमिन प्रमुखले जोड दिनुभयो,' अनमिन प्रवक्ता कसमस विश्वकर्माले कान्तिपुरलाई भने ।

राजदूत डेलिसीले माओवादी अध्यक्ष दाहाललाई पार्टी मुख्यालय पेरिस डाँडामा भेटेका थिए । भेटमा राजनीतिक गतिरोध, सरकार निर्माण, प्रधानमन्त्री चयनमा मतभेद्, माओवादी लडाकू समायोजन र पुनस्थापना लगायतका विषयमा कुराकानी भएको माओवादी स्रोतले बताएको छ । 'समसामयिक राजनीतिक विषयमा कुराकानी भएको हो,' दाहालका स्वीय सचिव समिर दाहालले कान्तिपुरलाई भने ।

त्यसैगरि उपप्रधानमन्त्री गच्छदारसँग डेलिसीको भेट राजनीति केन्द्रित थियो । सिंहदरवारस्थित कार्यालयमा भएको भेटघाटमा गच्छदार र डेलिसीमात्र थिए । 'कुराकानी विशुद्ध राजनीतिक विषयमा केन्द्रित थियो,' गच्छदारनिकट स्रोतले कान्तिपुरलाई भन्यो ।

भेटमा माओवादी उपाध्यक्ष भट्टराईले पनि बहुमतीय सरकार बनाउनु नभएर सहमतीय सरकार आवश्यक रहेकोमा जोड दिएको उनका सहयोगी बिश्वदीप पाण्डेले बताए । भेटघाट भट्टराई निवास शान्तिनगरमा करिब आधा घण्टा भएको थियो । बहुमतिय सरकार कमजोर हुने भएकाले सहमतिय सरकार आवश्यक भएको धारणा लेनग्रेनले राखेकी थिइन् । 'बहुमतीय सरकार कमजोर हुनसक्ने र त्यसले शान्ति प्रकृयामै बाधा पुराउने भएकाले अनमिन प्रमुखले राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्न अनुरोध गर्नुभयो' लानग्रेनको भनाइ उद्धृत गर्दै पाण्डेले भने ।

सरकार गठन प्रक्रिया ढिला हुँदा सेना समायोजन र शान्ति प्रक्रिया अलपत्र पर्नसक्ने चिन्ता लेनग्रेनले व्यक्त गरेकी थिइन् । उनले अन्मिनको समयावधी नसकिदै सेना सयायोजन र पुनस्थापना प्रक्रिया अघि बढाउन आग्रह गरेकी थिइन् । भट्टराईले माओवादी शान्ति प्रक्रिया निश्कर्षमा नपुग्दासम्म अनमिनको समयावधी थप्नु पर्ने पक्षमा रहेको बताएका थिए ।

प्रकाशित मिति: २०६७ श्रावण १४ १२:०९

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।