दाहाल र पौडेललाई उम्मेदवारी फिर्ता लिन खनालको आग्रह

(0 Votes)

काठमाडौं, श्रावण १३ - एमाले अध्यक्ष झलनाथ खनालले शान्ति, संविधानजस्ता राष्ट्रिय विषय पुरा गर्न राष्ट्रिय सहमतिका लागि एमाले जोसुकै उम्मेदवारलाई पनि समर्थन गर्न तयार रहेको बताएका छन् ।

युवा सङ्घ केन्द्रीय समितिद्वारा बिहीबार राजधानीमा आयोजित शान्ति र संविधानका लागि  राष्ट्रिय सहमति विषयक विचार गोष्ठीमा उनले कांग्रेस र माओवादीका प्रधानमन्त्रीका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सहमतिको नयाँ आधार तयार गर्न पनि आहृवान गरे । 'फेरि पनि बहुमतीय सरकारका लागि प्रतिस्पर्धा गरेमा हात लागे शून्य भई त्यो दुर्भाग्य हुनेछ, दश महिना फेरि त्यसै खेर जानेछ' खनालले भने ।

राष्ट्रिय सहमतिका लागि कांग्रेसलाई त्याग गर्न र माओवादीलाई विषयमा आधारित भएर विगतका सहमति कार्यान्वयन गरी उदाहरण प्रस्तुत गर्न उनले आग्रह गरे । नियम संशोधन गरेर भएपनि अहिलेको प्रधानमन्त्री चुनावको प्रक्रियाको अन्त गरेर सहमति खोज्न पनि खनालले आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले प्रधानमन्त्री निर्वाचनको अहिलेको चरण नटुङ्ग्याई नियम परिवर्तन गर्न नसकिने बताए । 'फुटबल खेल सुरु भयो तर हामी खेल्दैनौँ नियम परिवर्तन गरौँ भनेर हुन्छ? पहिले खेल टुङ्ग्याउँ,' उपसभापति सिंहले भने ।

नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार बनाउनका लागि मधेसवादी मोर्चाले उठाएको  एक मधेस एक प्रदेशको माग  स्वीकार गर्न नसकिने बताए । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सहमतिका लागि शान्ति प्रक्रियामा बाँकी रहेका काम सकेर लोकतान्त्रिक संविधान बनाउने र मधेस लगायतका विभिन्न क्षेत्रले उठाएका माग पुरा हुने आधार र विश्वास गराउनुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गरे ।

नेकपा मालेका महासचिव सिपी मैनालीले लोकतन्त्र, शान्ति र संविधानप्रति बेइमान हुनेलाई प्रधानमन्त्री दिन नसकिने र त्यो अर्थमा माओवादीलाई सरकारको नेतृत्व दिन नसकिने स्पष्ट पारे ।

प्रकाशित मिति: २०६७ श्रावण १३ ०६:२६

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।