'युनेस्को साक्षरता पुरस्कार' नेपाललाई

(0 Votes)

काठमाडौं, श्रावण ११ - संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को) पेरिसले 'अनौपचारिक शिक्षा केन्द्र' लाई २० हजार अमेरिकी डलरको 'साक्षरताका लागि युनेस्को कन्फ्युसियस पुरस्कार २०१०' प्रदान गर्ने भएको छ ।

नेपालको साक्षरता अभियान प्रभावकारी भएको मूल्याङ्कनसहित शिक्षा मन्त्रालयअन्तर्गतको नेपालको साक्षरता अभियान सञ्चालन गर्ने उक्त सरकारी निकायलाई उक्त पुरस्कार दिने भएको हो ।

शिक्षा मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार छोटो समयमा नै निरक्षरता न्यूनीकरण गर्न राष्ट्रिय साक्षरता अभियान कार्यक्रम सञ्चालन गरेकाले केन्द्रलाई पुरस्कार दिइन लागेको हो ।

युनेस्को पेरिसबाट आएको इमेलमा साक्षरता अभियानबाट ग्रामीण विकास, लैङ्गकि समानता र मानव अधिकारको क्षेत्रमा प्रभावकारी उपलब्धी भएकाले पुरस्कार दिने निर्णय भएको जनाइएको छ ।  उक्त पुरस्कार अन्तर्राष्ट्रिय साक्षरता दिवस (८ सेप्टेम्बर) का अवसरमा युनेस्कोको मुख्यालय पेरिसमा आयोजना हुने समारोहमा वितरण गरिनेछ ।

नेपाल सरकारले दुई वर्ष अघि सुरु गरेको अभियानबाट १ देखि ६० वर्ष उमेरका ७८ लाख निरक्षरमध्ये हालसम्म करिब २८ लाख मानिस साक्षर भएका छन् । 'यो पुरस्कारले अभियानलाई सीपसँग जोड्दै थप प्रभावकारी बनाउन हौसला मिलेको छ,' शिक्षा मन्त्रालयका सचिव शङ्कर पाण्डेले भने, 'यो नेपालका लागि गौरवको विषय हो ।'

केन्द्रका निर्देशक जीवछ मिश्रले पुरस्कारबाट प्राप्त हुने रकम नेपाल सरकारको राजस्वमा जम्मा हुने जानकारी दिए । त्यस अवसरमा वितरित तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा १२ लाख १० हजार ५६० जनालाई साक्षर गराउने लक्ष्य लिइएकोमा हालसम्म जम्मा १० लाख ३ हजार ७३९ साक्षर भएका छन् ।  साक्षरमध्ये महिलाको साक्षरता प्रतिशत ७६ रहेको दाबी गरिएको छ ।

प्रकाशित मिति: २०६७ श्रावण ११ ०५:५८

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।