हङकङमा काली सुन्दरी...

(4 Votes)
निर्मल श्रेष्ठ

हङकङ,, अषाढ २८ - 'म त काली सुन्दरी...' यस गीतमा चर्चित नायिका ऋचा घिमिरेको कम्मर मर्काइ त अधिकांश हङकङेलीका मस्तिष्कमा अझै ताजै थिए । आइतबार आयोजित गीत गुञ्जन सँझमा दर्शकहरुले यसै गीतकी गायिका अन्जना  गुरुङको कम्मर मर्काइ समेत प्रत्यक्ष साक्षात्कार गर्न पाए । उक्त सँाझ केहीबेर अघि मात्र डान्स आइडलकी विजेता सृजना गुरुङले चर्चित लोकभाकामा नाचेर माहौल तताइसकेकी थिइन् । यसैमौका छोपी उद्घोषक प्रदीप माल्बोलले अन्जनालाई बोलाउन ढिला गरेनन् । परम्परागत गुरुङ पहिरनमा ठँाटिएकी उनी नेपथ्यबाटै आफ्नो परिचय बोकेको गीत भाका हाल्दै स्टेजमा ओर्लिन 'म त काली सुन्दरी...।' सुरुमै आफ्नो मनपर्ने गीत सुन्न पाउदा हौसिएका दर्शकहरुले परर ताली पिटे । तर उनले सबैलाई निराश पार्दै बोलिन, 'यो अर्को चरणमा अहिलेलाई भने एकछिन देश सम्झिउ है ।' गायिकाले त्यसो भनेपछि दर्शकले कसरी नाइनास्ती गर्न सक्थे र  । फेरि उसैगरी ताली पिटेर स्वीकारेको संकेत गरे । लगत्तै पृष्ठभुमिमा ट्रयाक बज्यो । अनि उनी सुरु भइहालिन् ।

'अँाखैमा राख्छु मेरो देश

परेलीमा सजाउँछु मेरो देश...'

देशप्रेमले ओतप्रोत गीतमा अन्जनाको कर्णपि्रय स्वरले परदेशी दर्शकको मन पगाल्नु पगाल्यो । अन्नपुर्ण म्युजिक अवार्डमा उत्कृष्ट दरिएको गीत 'बदनाम भए म तिम्रै कारणले...' पनि दर्शकको उक्तिकै वाहवाही बटुल्यो । दोस्रोपटक भने उनी गीतलाई सुहाउँदो वनपिस कालो गाउनमा सजिएर देखा परिन् । 'गीतले काली सुन्दरी भने पनि म चाहि गोरी छु,' यसो भन्दै उनले गाइन 'म त काली सुन्दरी, चर्चा मेरो गाउँभरि...।' दर्शकहरुले पनि सँगसँगै स्वरमा स्वर मिलाई साथ दिए ।

मौलिक नृत्य शैलीले हङकङेली नेपाली समुदायमा बेग्लै पहिचान बनाएका सन्ध्या गुरुङ र धिरज लिम्बूको जोडीले यसपटक उक्त छापलाई अझ दह्रो पारे । सिने गुरुङ र सविन राईको स्वरमा स्लो विटमा रहेको सुन्ने गीत 'माया तिमीलाई छोडेर जान पनि म सक्दिन...' बोलको गीतमा यो जोडीले प्रस्तुत गरेको फरक शैलीको नृत्यले करिब पँाच मिनेट धेरैलाई अन्त कतै ध्यान मोडने मौकै दिएन । कार्यक्रमका अन्य स्थानीय प्रतिभाहरुका पनि कमी थिएन । पि्रया, ज्योति गुरुङका नृत्य र टोपराज लामाको गायकीले पनि धेरैको मन छोयो ।

टप माउन्टेन तेक्वान्दो डोजाङ द्वारा आयोजित सँाझमा अब भने पालो लोकपि्रय दोहोरी गायक राजु परियारको थियो । तेस्रोपटक हङकङ आएका उनी रुवाउने गीत भन्दै सुरु भए । तर नाच्न तम्तयार दर्शकहरुका मँाझ उनका मार्मिक गीत चलेनन् । दोस्रोपटक स्टेजमा उक्लदा भने उनले आफ्नो छविलाई चुक्न दिएनन् । सर्वसाधारणलाई मात्र होइन । हङकङका महाबाणिज्यदूत विनोद उपाध्यायलाई पनि उनले आफ्ना लोकपि्रय भाकामा सँगै नाच्न बाध्य पारे । अन्तिमपटक भने उनी गायिका अन्जनालाई साथै लिइ स्टेजमा ओर्लिए । दुबैले उही बहुचर्चित भाकामा दोहोरी खेले ।

'लालुपाते नुध्यो भुइतिर

कि लाउ माया मैतिर

कि लाउ उहीतिर

ये निर नलाउ दुईतिर...'

आफ्नै गाउँठाउँमा बज्ने बाजागाजा र चर्चित भाका सुनेर उसै फुर्किएका युवा हुन वा पाका कुर्सीमा बाधिरहन सकेनन् । समयले नेटो काटिसकेकाले कार्यक्रम सकिएको घोषणा भयो तर नाचगान गर्ने धित नमरेकाहरु भने अझै थकथक मानिरहेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: २०६७ अषाढ २८ ०६:३३

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।