गोली प्रहार गरी दुईको हत्या/एक घाइते
सहयोगी लिङ्कहरू
दाङ, अषाढ १७ - रुकुमको महत गाविस २ दोमइमा लुटेराहरुको गोली प्रहारवाट दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । बुधबार राति हातहतियारसहित ८/९ जनाको संख्यामा आएका लुटेरा समूहको प्रतिकार गर्दा लुटेराको गोली प्रहारबाट महत २ निवासी ६४ वर्षीय पुर्ण वहादुर विक र वडा नम्वर ८ कोर्जा निवासी ४५ वर्षीय नारायण वुढाको मृत्यु भएको हो । गोली लागेर बिकका २३ वर्षीय छोरा शेरजंग बिक घाइते भएका छन् ।
मुखमा नकाव लगाएर आएको सशस्त्र समूहले गाउँमा यार्शा गुम्बा लगाएतका महत्वपूर्ण जडिबुटीका साथै धनमाल लुट्न खोज्दा गाउलेले प्रतिकार गरेका थिए । सशस्त्र समूहले अन्धाधुन्दा गोली चलाउँदा विकको घटनास्थलमै र वुढाको उपचारका लागि जिल्ला अस्पताल सल्ले लैजाँदै गर्दा वाटोमा मृत्यु भएको हो ।
घाइते विकको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । हतियारधारी समूहले विकको घरवाट धनमाल तथा वहुमुल्य जडीवुटी लुटेर लगेको छ । घटना राति ९ वजेतिर भएपनि थप विवरण आउन वाँकी रहेको र अनुसन्धान भैरहेको रुकुमका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले जानकारी दिएका छन् ।
अहिले घटनास्थलतर्फ प्रहरी हिडेको र लुटेराको खोजीका लागी व्यापक प्रहरी परीचालन गरीएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । मृतकहरु जडीवुटीका स्थानीय व्यापारी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: २०६७ अषाढ १७ ११:५२
















तपाईंको प्रतिकृया