यिनलाई बुझ्न भाषा चाहिएन

(1 Vote)
स्मिता मगर

काठमाडौ, अषाढ १७ - कोइलीको भाषा नबुझे पनि उसको कुहुकुहुमा मन्त्रमुग्ध नहुने को होला ? यसले के संकेत गर्छ भने संगीत सबै क्षेत्रको भाषा हो । फ्रेन्च ब्यान्ड 'साम स्मला' को संगीतमा झुमेका श्रोताले पनि यही कुरालाई पुष्टि गरे ।

अन्तर्राष्ट्रिय संगीत दिवस अवसर पारी तीन दिनअघि राष्ट्रिय नाचघरमा गरिएको कन्सर्टमा पाँच सदस्यीय ब्यान्डले   फ्रान्सेली, स्पेनी, इन्डोनेसियाली, अंग्रेजी र टर्केली गरी पाँच भाषामा दर्जनजति गीत सुनायो । ज्याज फ्युजनमा विदेशी श्रोताहरू मात्रै रमाएनन्, नेपालीहरू पनि उत्साहित बने ।  

'म्युजिक बुझ्न शब्द चाहिँदैन,' ब्यान्डका ड्रमर क्वेन्टिन ब्रेनले पछि कान्तिपुरसँग भने । साम स्मलाका लिड गायक/गितारवादक स्यामुअल स्ट्रोकले थपे, 'म्युजिकमा भाषा बाधक कहिल्यै हुँदैन । श्रोतालाई जोड्ने भनेको संगीतले हो ।'

ज्याज फ्युजन, हिप- अप, पप र वल्र्ड म्युजिकमा विशेष केन्दि्रत रहेको   फ्रान्सको 'नयाँ संगीतकर्मी पुस्ता' मा पर्ने ब्यान्डको यो पहिलो नेपाल टुर थियो । दस वर्षदेखि सहकार्य गर्दै आएका उनीहरूले दुई वर्षअघि मात्र 'साम स्मला' ब्यान्ड खोलेका थिए । स्यामुअल 'साम' को प्रस्तावमा सुरु भएको ब्यान्डको नाम 'स्मला' ले उत्तर अफ्रिकी भाषामा 'परिवार' जनाउँछ । ब्यान्डमा सामुअल र क्वेन्टिनलाई भोकलमा सेरेना फिसो, बेस गितारमा जेलोम मारिन र भ्वाइलिनमा मातिया लेभीले साथ दिने गरेका छन् ।   

गायिका सेरेना इन्डोनेसिया मूलकी   फ्रान्सेली हुन् । उनले गाउने विभिन्न भाषा स्पष्ट बोल्न नसक्ने भए पनि उनी राम्ररी गाउँछिन् । 'भाषा नबोले पनि गीतले के दिन खोजेको बुझेपछि व्यावसायिक रूपमा गाउन सकिन्छ,' उनले भनिन् । उनी इन्डोनेसियाली भाषामै गीत पनि रच्छिन्, जसलाई स्यामुअलले फ्रेन्चमा अनुवाद

गर्छन् । उनीहरूका सिर्जनामा विभिन्न देशको परम्परागत प्रभाव र प्रेरणाका साथै भ्रातृत्व र मायाप्रेमका सन्दर्भ हुन्छन् ।

साम स्मालाले नेपाल आउनुअघि भारतमा तीन साता बिताएको थियो । १२ सहरमा कन्सर्ट गर्नुका साथै मुम्बईको ब्लु   फ्रग स्टुडियोमा 'ड्युप पास...' गीत रेकर्ड गर्न भ्याए ।

'नेपालप्रति गहिरो आकर्षण छ,' गत वर्ष एक्लै नेपाल आएका स्यामुअलले मंगलबार छाड्नुअघि भने, 'नेपालमा रहेको सांगीतिक आत्माको अनुभव गर्न मन छ । फेरिफेरि आउने छु ।' आफ्नो मौलिकका साथै पश्चिमी संगीतमा नेपाली संगीतकर्मी विज्ञ रहेको उनको ठहर छ । यसका साथै समय मिल्नासाथ नेपाली संगीतकर्मीसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरे, 'आफूले जानेको र उहाँहरूले जानेको संगीत सिक्न र सिकाउन चाहन्छु ।'  

स्यामुअललाई नेपाली श्रोताको विविध विधाको संगीतप्रति रहेको लगावले काठमाडौं 'म्युजिकको कस्मोपोलिटन सेन्टर' लागेको छ । कन्सर्टमा आफ्ना सिर्जनाप्रति नेपालीले देखाएको जोसिलो प्रतिक्रिया यादगार रहेन उनले बताए । ब्यान्डले 'पजल...', 'लाकिन...', 'भार्योक...', 'सिम्प्िलसिटी...', 'मि निनो म्युसिक...' लगायत चर्चित नम्बर प्रस्तुत गरेका थिए । फास्ट बिटमा रहेका यी गीतमा विदेशीहरू स्टेजअगाडि ब्यान्डसँग नाच्न लागेपछि नेपालीहरू पनि कम्मर हल्लाउँदै उठेका थिए ।

स्यामुअलले गीतका भाव अंग्रेजीमा उल्था गरेर नेपाली श्रोताहरूलाई सजिलो बनाइदिएका थिए । नेपाली पारखीले हुटिङ र सिठीले कन्सर्टलाई थप जीवन्त बनाए । तालीले गुञ्जायमान माहोलमा 'साँच्ची भाषा नबुझे पनि संगीतले संसार जोड्दो रहेछ' भन्ने धेरैले महसुस गरे ।

साम स्माललाई सुन्न 'कुटुम्ब', 'क्याच- २२', 'जिन्दाबाद', 'वाबास' ब्यान्डका सदस्यका साथै इमान शाह, एडि्रयन प्रधानलगायत पुगेका थिए । 'म्युजिक भनेको युनिभर्सल ल्याङ्वेज हो,' एडि्रयनले भने, 'यसको भाव मर्म बुझ्न भाषा जान्नुपर्दैन ।' उनले साम स्मालले भन्दा अगाडि बजाएको नेपाली ब्यान्ड 'सेभेन्थ ग्राभिटी' को परफर्मेन्सको खुब प्रशंसा गरे ।

सेभेन्थ ग्राभिटीले अन्तर्राष्ट्रिय म्युजिक सातामा (जून २१ देखि २७) गरिएको संगीत प्रतियोगितामा सहभागी ६ ब्यान्डलाई पछारेर नाच घरमा परर्फम गर्न पाएको थियो । जून २१ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय म्युजिक दिवसमा   फ्रान्सेली केन्द्रले भक्तपुरको दत्तात्रय स्क्वायर र नेपाल म्युजिक सेन्टरमा पनि कन्सर्ट आयोजना गरेको थियो ।

नाचघरमा साम स्माललाई सुन्नेमध्ये जापानी पर्यटक टाटसुरो सिनाटो पनि थिए । भ्वाइलिन बजाउने टाटसुरो ब्यान्डका भ्वाइलिनिस्ट मातियाले बाजालाई घरिघरि गितारका रूपमा प्रयोग गरेको देखेर अचम्भित बनेका थिए । 'भ्वाइलिनको कर्णपि्रय धुनले मन छोयो,' नेपाली नबुझ्ने र अंग्रेजीमा हल्का बातचित गर्ने टाटसुरोलाई त्यो संगीत बुझ्न भाषा तगारो बनेन । भने, 'मैले संगीत अनुभव गरें ।' सबैले यस्तै अनुभव गरे, किनकि संगीतमा प्रस्तोता र श्रोता बीच भाषाविहीन वार्तालाप हुन्छ ।

 

प्रकाशित मिति: २०६७ अषाढ १७ ०९:०८

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।