आकस्मिक रूपमा राजीनामा आयो: कांग्रेस

(1 Vote)
कुलचन्द्र न्यौपाने

१३

काठमाडौ, अषाढ १७ - प्रधानमन्त्रीको राजीनामाप्रति गठबन्धनकै प्रमुख घटक कांग्रेसले असन्तुष्टि प्रकट गरेको छ । वैकल्पिक प्रधानमन्त्रीको उम्मेदवारमा सहमति नहुँदासम्म पद नछाड्न आग्रह गर्दै आएको कांग्रेसले प्रधानमन्त्रीले राजीनामा दिनुभन्दा दुई घन्टाअघि मात्रै यसबारे सूचना पाएको थियो ।

बालुवाटारबाट कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र अर्का वरिष्ठ नेता शेरबहादुर देउवालाई अपराह्न चार बजेमात्रै राजीनामाको जानकारी गराइएको थियो । 'राजीनामा दिने कुरा त पहिल्यैदेखि भएको हो,' बालुवाटारमा संवाददाताहरूसँग पौडेलले भने, 'तर आजै राजीनामा दिने कुरा आएको थिएन ।'

प्रधानमन्त्री नेपालले सत्तारूढ र समर्थक २२ दलका नेतालाई ५ बजे बालुवाटार बोलाएर राजीनामाबारे औपचारिक जानकारी गराउनुका साथै धन्यवाद दिएका थिए । बैठकमा कांग्रेस संसदीय दलका नेता पौडेल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले 'वैकल्पिक सरकारको आकार ग्रहण गरेपछि मात्रै राजीनामा दिनुपर्दथ्यो, एकाएक राजीनामा दिनु गलत भयो' भनेका थिए ।

'प्रधानमन्त्रीजीलाई इतिहासमै विगतमा कांग्रेसकै प्रधानमन्त्रीलाई भन्दा बढी समर्थन जनाएका थियौं । तर तपाईं सल्लाहसमेत नगरी अचानक राजीनामा गर्नुभयो आश्चर्यमा परेका छौं,' कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले नेपाललाई भनेका थिए । नेता सिटौलाले 'अरू प्रधानमन्त्रीले आफ्नो कार्यकाल एक दिन भए पनि लम्बाउन खोज्छन् तर तपाईं एक दिन भए पनि घटाउन खोज्नुभयो किन हो ?' भनेर सोधेका थिए ।

राजीनामाबारे मन्त्रिपरिषद् सदस्यहरूलाई समेत संकेत थिएन । बिहान मन्त्रिपरिषद्को बैठकमा समेत प्रधानमन्त्रीले त्यस्तो संकेत नगरेको ऊर्जामन्त्री प्रकाशशरण महतले बताए । मन्त्रीहरूलाई प्रधानमन्त्रीका विदेश सल्लाहकार राजन भट्टराईले ५ बजेमात्रै जानकारी गराएका थिए ।

'मन्त्रिपरिषदको बैठकमा नियमित एजेन्डामा छलफल भयो तर प्रधानमन्त्रीले राजीनामा दिने कुनै संकेत गर्नुभएको थिएन,' महतले भने, '५ बजे बालुवाटारबाट खबर गर्दा पनि आउनुमात्रै भनिएको थियो । तर राजीनाका कुरा भनिएको थिएन । हामीले सोधेपछि मात्रै थाह पायौं ।'

कांग्रेसका शीर्ष नेताहरूलाई खबर गरेको समयमै प्रधानमन्त्रीले एमाले स्थायी कमिटी बैठकमा 'राजीनामा दिँदैछु' भनेर जानकारी गराएका थिए । त्यसपछि उनले सीधै बालुवाटार पुगेर २२ दलका नेतालाई जानकारी गराउँदै धन्यवाद दिएपछि सञ्चारमाध्यममार्फत आफ्नो राजीनामा पढेका थिए ।

२२ दलका नेताहरूसँग प्रधानमन्त्रीले सबैको समर्थन र बहुमत हुँदाहँुदै राजीनामा दिँदैछु भन्दै माओवादी नसुधि्रएको बताए । 'माओवादी स्वच्छाले सुधि्रएला भनेर मैले विभिन्न बाधा अवरोधका बीचमा काम गरें तर सुधि्रएन,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै अर्का एक मन्त्रीले भने, 'म जेठ १५ गते नै राजीनामा दिने निर्णयमा पुगेको

थिए । तर सहमति होला कि भनेर एक महिनाको समय पर्खेको हुँ । सहमतिका लागि पर्खेको एक महिना पनि हिजै पुग्यो, त्यसैले राजीनामा दिने निर्णयमा पुगेको हुँ ।'

उनले जाँदाजाँदै दलका नेताहरूलाई वर्तमान गठबन्धन कायमै राख्नुपर्नेमा पनि जोड दिएका थिए । सल्लाहै नगरी एकाएक राजीनामा दिनुपर्ने कारण के पर्‍यो त भन्दै कांग्रेस नेताहरूले प्रधानमन्त्रीसँग सोधेका थिए ।

एक कांग्रेस नेताका अनुसार प्रधानमन्त्रीले 'पर्सि केन्द्रीय समितिको बैठक बस्दैछ । त्यहाँ पनि राजीनामाको कुरा उठ्छ ।

बजेट अधिवेशनमा माओवादीले अवरोध गर्ने निर्णय लिइसकेको छ । यस्तो अवस्थामा अब म जवाफ दिन सक्दिन भन्दै कसैसँग सल्लाह नगरी राजीनामाको निर्णय लिएको' जवाफ दिएका थिए ।

सिटौलाले प्रधानमन्त्रीले राजीनामा गरेर 'त्याग' गरेको नभई जिम्मेवारीको भारी बिसाएको बताएका छन् । 'सबैले त्याग गरेको भनेका होलान्, तर म त्याग गरेको मान्दिन,' उनले भने, 'देशको भारी बोकाएका थियौं । बीचमा बिसाएको मात्रै हो ।'

अनायसै राजीनामा दिएपछि कांग्रेसले विदेश भ्रमणमा रहेका कार्यवाहक सभापति सुशील कोइरालालाई भ्रम्रण छोट्टयाएर र्फकन खबर गरेको छ । जिब्राको स्वास्थ्य परीक्षणका लागि अमेरिका गएका कोइराला अहिले बेलायतमा छन् । उनी २१ गते स्वदेश फिर्ने कार्यक्रम थियो ।

सहमतीय सरकार बन्ने अवस्था नभएमा कांग्रेसबाटै नेतृत्व लिनुपर्ने भएकाले त्यसका लागि कसरत सुरु गर्न कोइरालालाई बोलाइएको हो । कांग्रेसमा देउवा र पौडेलबीच कसलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भन्ने औपचारिक निर्णय भइसकेको छैन । विदेश जानुअघि कोइरालाले संसदीय दलको विधान र प्रक्रिया अनुसार निर्णय गर्ने सहमति भएको जानकारी गराएका थिए ।  आन्तरिक विवादका कारण पार्टीभित्रकै एउटा समूहले महाधिवेशनसम्म नेपाल गठबन्धनको सरकारलाई टिकाउन चाहेको थियो । एकाएक राजीनामा दिएपछि सबैभन्दा बढी असन्तुष्टि वरिष्ठ नेता देउवा भएका छन् । उनले राजीनामा दिने खबर थाहा पाउनासाथ प्रधानमन्त्रीसँग खुलेरै असुन्तष्टि जनाएको प्रधानमन्त्री निकट स्रोतले बतायो । अन्य दलसँग सहमति नहुँदासम्म नेपाललाई राजीनामा नदिन सबैभन्दा बढी जोडसमेत देउवाले दिँदै आएका थिए ।

'माओवादी सर्वसत्तावादतर्फ अझै उन्मुख रहेकाले लोकतान्त्रिक विकल्पको आकार नबन्दासम्म राजीनामा दिन हुन्न भन्ने जोड पार्टी र हामी मन्त्रीहरूले पनि राखेका थियौं,' देउवा निकट मन्त्री महतले भने, 'लोकतान्त्रिक विकल्प सुनिश्चित भएपछि मात्रै राजीनामा दिएको भएको भए राम्रो हुन्थ्यो ।'

 

प्रकाशित मिति: २०६७ अषाढ १७ ०८:४४

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।