माओवादीले सरकार बनाउन पहल गर्ने

(1 Vote)
गंगा बीसी

काठमाडौ, अषाढ १७ - माओवादीले बिहीबारदेखि सरकार बनाउन पहल गर्ने भएको छ । उसले पहिलो प्राथमिकतामा राष्ट्रिय सहमतिको सरकार र त्यो नभए बहुमतको सरकारका लागि दलहरूसँग वार्ता सुरु गर्ने बताएको छ ।

उसले 'जेठ १४ गते भएको सहमतिअनुसार प्रधानमन्त्रीले ढिलै भए पनि राजीनामा दिएको' उल्लेख गर्दै ठूलो पार्टीको हैसियतले 'राष्ट्रिय संयुक्त सरकार' का लागि पहल गर्न लागेको हो । अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीले राजीनामा दिनु सकारात्मक भएको प्रतिक्रिया दिए । 'यो राजीनामा पहिलै आउनुपथ्र्यो,' उनले कान्तिपुरसँग भने, 'यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं ।'

'हामी भोलि (बिहीबार) देखि नै राष्ट्रिय सहमतिको सरकारका लागि छलफल गर्छौं,' प्रधानमन्त्रीले राजीनामा दिएलगत्तै उपाध्यक्ष बाबुराम भट्टराईले कान्तिपुरसँग भने, 'राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता हो ।' उनले ठूलो दलको हैसियतले सरकारको नेतृत्वको हकदार माओवादी भएको बताए । 'विश्वको लोकतान्त्रिक मान्यताअनुसार ठूलो पार्टीले सरकारको नेतृत्व गर्छ,' उनको भनाइ छ ।

राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था नभए उसले बहुमतको सरकार बनाउन पहल गर्नेछ । तर भट्टराईले आफू सहमतिको सरकारको पक्षमा भएको बताए । 'हामी राष्ट्रिय सहमतिको सरकार बनाउन पूर्ण प्रतिबद्ध छौं,' भट्टराईको भनाइ छ, 'अहिले नै बहुमतको सरकार बनाउने सोचेका

छैनौं ।' गत साता सम्पन्न पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले सहमतीय र बहुमतीय सरकारका लागि विकल्प खुला गरेको बताएका थिए । 'सहमति वा बहुमतीय सरकार बनाउने दुवै विकल्प खुला छन्,' दाहालले पत्रकार सम्मेलनमा भनेका थिए, 'सहमतिको

सरकारको सम्भावना क्षीण हुँदै गएको देखेका छौं । तैपनि दुवै विकल्पका निम्ति तयार हुने निर्णय गरेका छांै ।'

भट्टराईले 'सहमति बन्दैन' भनेर अहिले नै आशंका गर्न नहुने बताए । 'राष्ट्रिय सहमतिको सरकार सबै दलले भनेका छन्,' उनले भने, 'शान्ति र संविधान सुनिश्चित गर्न राष्ट्रिय सहमतिको सरकारबाट हुन्छ ।'

अर्का उपाध्यक्ष मोहन वैद्यले सरकारको राजीनामापछि वार्ताको ढोका खुलेको उल्लेख गर्दै सरकार बनाउन पार्टीले पहल गर्ने बताए । 'सरकारका लागि परिस्थिति बन्नुपर्‍यो,' उनले कान्तिपुरसँग भने, 'त्यसका लागि पार्टीले स्वतः पहल गर्ने कुरा भइहाल्यो ।' सरकारको नेतृत्व गर्ने अवस्था आए नेतृत्वको पहिलो प्राथमिकतामा अध्यक्ष दाहाल नै भएको उनको भनाइ छ । 'पहिलो प्राथमिकता अध्यक्ष हुनुहुन्छ,' उनले भने, 'भएन भने अरू विकल्प पनि खुला रहन्छन्, हाम्रो सल्लाहले कुरा मिल्छ ।'

शान्ति र संविधान सुनिश्चित हुनु पहिलो प्राथमिकता भएको उल्लेख गर्दै वैद्यले दुई कुरा सुनिश्चित भए सरकारमा जानैपर्ने जरुरी नहुने बताए । 'शान्ति र संविधान सुनिश्चित भए सरकारमै जानुपर्छ भन्ने छैन,' उनको भनाइ छ, 'शान्ति र संविधान सुनिश्चित हुनु महत्त्वपूर्ण कुरा हो ।' प्रधानमन्त्रीको राजीनामा र शान्ति प्रक्रियासँग सम्बन्धित विषय सँगसँगै हुने कांग्रेस, एमालेले उठाउँदै आएका छन् । दलहरूबीच सहमति गरेपछि मात्र सेना समायोजन र पुनःस्थापना कार्यान्वयन हुने भट्टराईको भनाइ छ । 'अब बन्ने सरकारले शान्ति प्रक्रियाका विषयमा सहमति गर्छ,' उनले भने, 'कार्यान्वयन गरेपछि सहमति हुँदैन, त्यसैले सेना समायोजनबारे सहमति गरेपछि मात्र कार्यान्वयन हुन्छ ।'

 

प्रकाशित मिति: २०६७ अषाढ १७ ०८:३२

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।