मधेसी दल राष्ट्रिय सहमतिको पक्षमा

(1 Vote)
अतुल मिश्र

काठमाडौ, अषाढ १७ - मधेसवादी पार्टीहरूले प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा संविधान निर्माण र शान्ति स्थापनाका लागि राष्ट्रिय सहमति बनाउने एउटा राम्रो अवसर रहेको प्रतिक्रिया दिएका छन् ।   

मधेसी दलहरूले गणितीय हिसाबले बनेको सरकारबाट संविधान निर्माण नहुने भन्दै राष्ट्रिय सहमतिको सरकार नै चाहिने बताएका छन् ।

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री नेपालले पहिल्यै राजीनामा दिनुपथ्र्यो भन्ने प्रतिक्रिया दिँदै ढिलै भए पनि यसलाई राष्ट्रिय सहमतिको सरकार बनाएर संविधान निर्माण र शान्ति स्थापनाको अवसरका रूपमा लिनुपर्ने बताए । बहुमतीय सरकार असफल भएकाले अब सहमतितर्फ जानुपर्ने उनको धारणा छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका प्रवक्ता तथा शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लले भने अब तीन दलले आत्मकेन्दि्रत र पार्टी केन्दि्रत नभई राष्ट्रिय केन्दि्रत भएर सहमतीय सरकारको लागि उदाहरण प्रस्तुत गर्नुपर्ने जनाए ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले सहमतीय आधारमा निकास नभएसम्म संविधान नबन्ने उल्लेख गरे ।

सद्भावना पार्टीका सहमहासचिव मनीष सुमनले पनि सहमतीय सरकारको माध्यमबाट संविधान निर्माण, शान्ति प्रक्रिया, संघीय संरचनालगायत मधेस केन्दि्रत मुद्दा स्थापित हुनुपर्ने बताए ।

सत्ताधारी तीनवटा मधेसी दलले संविधान निर्माण र शान्ति प्रक्रियाका लागि राष्ट्रिय सहमति र सहकार्यको सुनिश्चितता गरी राष्ट्रिय सरकार आवश्यक भएको संयुक्त रूपमा केही दिनअघि नै विज्ञप्तिमार्फत जनाएका थिए ।

हाल फोरम (लोकतान्त्रिक) को २७, तमलोपाको २० र सद्भावनाको ९ गरी सत्तारूढ मधेसी दलका ५६ सभासद छन् । सत्तामा नरहेका मधेसी जनअधिकार फोरमको २५ सभासद छन् । जम्मा मधेसी दलका ८१ सभासद छन् ।

 

प्रकाशित मिति: २०६७ अषाढ १७ ०८:२९

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।