फेरि 'बहुमतकै सरकार'
सहयोगी लिङ्कहरू
काठमाडौ, अषाढ १७ - प्रधानमन्त्रीले तीनबुँदे समझदारीबमोजिम राजीनामा दिए पनि फेरि राष्ट्रिय सहमतिको नभई बहुमतकै सरकार बन्ने प्रबल सम्भावना रहेको नेताहरूले बताएका छन् ।
माओवादी, कांग्रेस, एमाले, फोरमसहितका सबैजसो दलले सार्वजनिक रूपमा आ-आफ्नो पार्टी राष्ट्रिय सहमति निर्माणका लागि लाग्ने प्रतिबद्धता जनाए पनि तिनका नेताहरूले राष्ट्रिय सहमति बन्ने सम्भावना भने नरहेको बताए ।
कांग्रेस, एमाले, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का नेताले प्रधानमन्त्रीको राजीनामापछि प्रतिक्रिया व्यक्त गर्दै माओवादी हतियाररहित नागरिक पार्टी नभएसम्म उसको नेतृत्वमा सहमतिको सरकार गठन हुन नसक्ने बताए । ती दलका नेताले अब छिट्टै माओवादीको होइन वर्तमान सत्तारूढ गठबन्धनकै कुनै नेताको नेतृत्वमा बहुमतको सरकार गठन हुने दाबीसमेत गरे । कांग्रेस नेताले भने आफ्नै पार्टीका नेताको नेतृत्वमा बहुमतको सरकार गठन हुने दाबी गरे ।
प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि भन्दै राजीनामा दिए पनि दोस्रो ठूलो दल कांग्रेसको बटमलाइन त्योभन्दा फरक रहेको स्रोतले जनायो ।
हाल कांग्रेस र माओवादी एकअर्काका नेतृत्वको सरकार स्वीकार्न तयार नरहेको र यो परिस्थिति बुझी एमाले अध्यक्ष झलनाथ खनालले आफूलाई प्रधानमन्त्रीको सबल दाबेदारका रूपमा अघि सारेको स्रोतले जानकारी दियो ।
कांग्रेस भने एक वर्षसम्म आफूले एमालेका नेतालाई प्रधानमन्त्रीमा समर्थन गरेकाले अब आफ्नो पार्टीको नेतालाई स्वीकार्नुपर्ने पक्षमा छ । स्रोतका अनुसार निवर्तमान सत्तारूढ गठबन्धनसित स्पष्ट बहुमत छ र त्यो गठबन्धनका कुनै पनि दललाई माओवादीले आफूतिर तान्ने स्थिति खासै देखिन्न ।
यस स्थितिमा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना झीनो रहेको र बनिहालेमा त्यसको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल या उपाध्यक्ष बाबुराम भट्टराईमध्ये एकबाट हुने अनुमान छ । आफू सबभन्दा ठूलो दल भएकाले अरू पार्टीका नेताको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नहुने माओवादीका नेताले बताएका छन् ।
अहिलेकै गठबन्धनले नयाँ सरकारको नेतृत्व गर्ने अवसर पायो भनेचाहिँ कांग्रेस या एमालेका नेतामध्ये एक प्रधानमन्त्री हुनेछन् । कांग्रेसबाट संसदीय दलका नेता रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री केबी गुरुङ दाबेदार छन् भने एमालेबाट अध्यक्ष एवं संसदीय दलका नेता खनालमात्र ।
कांग्रेसले सरकारको नेतृत्व गठन गर्ने अवसर पाए, पौडेल, देउवा या गुरुङमध्ये एक प्रधानमन्त्री हुनेछन् ।
कांग्रेस केन्द्रीय सदस्य कृष्ण सिटौलाले पार्टीमा सरकारको नेतृत्व कसले गर्ने भन्ने सबालमा विवाद नरहेको दाबी गरे ।
एमालेको एउटा पक्ष वर्तमान सत्तारूढ गठबन्धनलाई छाडेर अध्यक्ष खनालको नेतृत्वमा माओवादीसहितको सरकार गठन गर्ने कसरतमा छ । तर कांग्रेसले त्यस्तो सरकारमा आफू सहभागी नहुने स्पष्ट संकेत एमालेलाई दिइसकेको छ । माओवादी हतियारविहीन नागरिक पार्टी नभएसम्म ऊ सम्मिलित कुनै पनि सरकारमा कांग्रेस सहभागी नहुने सिटौलाले बताए । माओवादीको नेतृत्वमा सहमतिको सरकार बन्नुअघि उसका लडाकु शान्ति मन्त्रालय मातहतमा ल्याउनुपर्ने र सम्पूर्ण हतियार सरकारलाई बुझाउनुपर्ने उनले बताए ।
'माओवादी पूर्णरूपमा हतियारविहीन नागरिक पार्टीमा रूपान्तरण नभएसम्म उसको नेतृत्वमा राष्ट्रिय सरकार बन्न सक्तैन,' सिटौलाले भने, 'उसको नेतृत्वको सरकारमा कांग्रेसमात्र होइन अहिले सत्तामा रहेका दलसमेत सहभागी हुने सम्भावना मैले देखेको छैन ।'
एमाले महासचिव ईश्वर पोखरेलले राष्ट्रिय सहमति अपरिहार्य भए पनि माओवादीको अर्घेल्याइँले सहमतिको सरकार बन्न सकेन भने बहुमतको सरकार बन्ने बताए । 'राष्ट्रिय सहमति बन्नु अपरिहार्य छ तर माओवादीको अर्घेल्याइँपूर्ण व्यवहार र चिन्तनका कारण राष्ट्रिय सहमतिको सरकार बनेन भने सुन्दर बहुमतीय पद्धतिबाट सरकार गठन हुन्छ र त्यसले आफूलाई सहमतिको सरकार बनाउन पहल गर्छ,' पोखरेलले भने ।
उनले तीनबुँदे सहमतिबमोजिम प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि अब माओवादीले शान्ति प्रक्रियासँग गाँसिएका मुद्दा र प्रतिबद्धताको पूर्ण पालना गरेपछिमात्र राष्ट्रिय सहमति बन्ने बताए । उनले तीनबुँदे सहमतिबमोजिम सम्पत्ति फिर्ता, वाईसीएलको अर्धसैनिक संरचनाको विघटन, विस्थापितको ससम्मान घर फिर्ता र माओवादी लडाकुको समायोजन र पुनःस्थापना लगायतका शान्ति प्रक्रियासँग गाँसिएका मुद्दा समाधान नभएसम्म राष्ट्रिय सहमति नबन्ने बताए ।
'माओवादी राष्ट्रिय सहमतिप्रति इमानदार छ कि छैन ? साँच्चिकै सहमति चाहन्छ कि चाहन्न भन्ने कुराको अब कडा परीक्षा हुन्छ । शान्ति प्रक्रियासँग जोडिएका कुरा पूरा गरेन भने ऊ सहमति होइन धोकाघडीमात्र चाहन्छ भन्ने प्रमाणित हुन्छ,' पोखरेलले भने ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पहिला राष्ट्रिय सहमतिको सरकार गठनको पहल हुने, नभएमात्र बहुमतीय पद्धतिमा सरकार बन्ने बताए । उनले सहमति या बहुमत जुनसुकै आधारमा सरकार गठन भए पनि वर्तमान सत्तारूढ गठबन्धनबाटै प्रधानमन्त्री बन्ने दाबी गरे ।
मधेसी जनअधिकार फोरमका सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले आफ्नो पार्टी संविधानसभाबाट संविधान बन्नुपर्छ र त्यसका लागि सहमतिको सरकार अपरिहार्य छ भन्ने अडानमा रहेको बताए । फोरम सहमतिको सरकार माओवादीको नेतृत्वमा बन्नैपर्छ भन्ने पक्षमा नरहेको गुप्ताले बताए । 'हामीलाई यही पार्टीको नेतृत्व हुनुपर्छ भन्ने छैन, जसको नाममा राष्ट्रिय सहमति बन्छ, त्यो हामीलाई स्वीकार्य हुन्छ,' गुप्ताले भने । कांग्रेस, एमाले, फोरमलगायतका पार्टीका नेताले माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने या नबन्ने कुरा उसको व्यवहार र यसअघि गरेका सम्झौता र सहमतिको इमानदारीपूर्वक पालनामा भर पर्ने बताएका छन् ।
'प्रधानमन्त्रीको राजीनामापछि अब बल माओवादीको कोर्टमा पुगेको छ । ऊ शान्ति प्रक्रिया र संविधान निर्माणका बाँकी काम गर्नका लागि अरू दलसित सहमति र सहकार्य गर्न इमानदार छ कि छैन भन्ने प्रस्ट हुन्छ,' कांग्रेस महामन्त्री विमलेन्द्र निधिले भने । उनले पनि राष्ट्रिय सहमति बनेन भने बहुमतको सरकार गठन हुने बताए ।
प्रकाशित मिति: २०६७ अषाढ १७ ०८:२५
















तपाईंको प्रतिकृया