रेडियो पत्रकार अपहरित
सहयोगी लिङ्कहरू
प्यूठान, अषाढ १६ - रेडियोमा प्रसारित बिषयमा धम्की खेपिरहेका स्थानीय रेडियो माण्डवीका पत्रकार केशव बोहोरालाई अज्ञात समूहले बुधवार दिउँसोदेखि बेपत्ता बनाएको छ । अपहरणमा माओवादी संलग्नताको शंका गरिएको छ ।
बोहोराले रेडियोमा प्रसारित बिषयलाई लिएर माओवादीको नाममा धम्की आइरहेको बताउँदै आएकाले अपहरण माओवादीले गरेको हुन सक्ने आशंका गरिएको हो । तर माओवादीले भने आरोप अस्वीकार गरेको छ । गत बैशाखे पुणिर्माको अवसरमा धार्मिकस्थल स्वर्गद्वारीमा लाग्ने मेलाको प्रत्यक्ष प्रसारणका क्रममा आश्रम गुठीको जग्गा माओवादीले अझैसम्म पनि कब्जा गरिरहेको विवरण प्रसारण गरेपछि त्यसको अर्को दिनबाटै बिभिन्न नम्बरबाट बोहोराले धम्की खेप्दै आएका थिए ।
बिहान तिराम जान हिडेका बोहोरा भालुवाङ-प्यूठान सडकखण्डमा पर्ने देविस्थानमा खाना खाएको भएपनि त्यसपछि उनको अवस्था अज्ञात रहेको प्यूठानमा प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाठीले बताए । उनको खोजीका लागि देविस्थान, तिराम, बड्डाडास्थित चौकीका प्रहरी परिचालन गरिएको त्रिपाठीले बताए ।
खोजीका लागि सदरमुकामबाट थप सुरक्षाकर्मी त्यसतर्फ पठाइएको र सिमाक्षेत्रमा सहयोग मागिएको त्रिपाठीले बताए । 'अहिलेसम्म फेला पार्न सकिएको छैन', राती अवेर त्रिपाठीले भने ।
बोहोराले पछिल्लो सम्पर्क दिउसो ठिक ३ बजे गरेको पत्रकार महासंघका शाखा सचिव दिपक भण्डारीले बताए । 'उनकै (केशवकै) नम्बरबाट फोन आयो', उनले भने, 'ठूलो स्वरमा दिपक तेरो साथि हाम्रो कब्जामा छ भन्ने आवाज आयो, त्यसको पछाडी दिप दाई मलाई बचाउनुस् । मलाई तिराममा मार्न लागेका छन् भन्ने केशब भाईको आवाज पनि सुने ।'
सो खवरपछि पत्रकार र अधिकारकर्मीहरुले समूह/समूहमा बिभाजन भै मर्काबाङ् र तिराम गाविसलाई घेरा बाहोरोको खोजी गरीरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी त्रिपाठीले घटनाको अनुसन्धान नसकी कारण पत्ता लगाउन कठिन हुने बताउछन् । 'मैले पनि करा गरे तर माओवादी नेताहरुले पनि हाम्रो नीति नै होइन भनिरहनुभएको छ' उनले भने ।
धम्की आएपछि बोहारोले सोबारे माओवादी जिल्ला इन्चार्ज धनेश्वर पोख्रेल, सञ्चारकर्मी र प्रहरी नायव उपरीक्षकलाई जानकारी गराएका थिए ।
प्रकाशित मिति: २०६७ अषाढ १६ ०९:२२
















तपाईंको प्रतिकृया