पहिरोले थप २ घर बिस्थापित/ विस्थापित संख्या ३ सय ९० पुग्यो

(0 Votes)

संखुवासभा- , अषाढ १६ - सिसुवाखोला बेसिन्दामा पहिरोले २ परिवार बिस्थापित बनेका छन् । मंगलबार राति गएको पहिरोले रत्नबहादुर र जयराज कुलुङको परिवार विस्थापित भएको हो । उनीहरुका १४ जनाको परिवार विस्थापित बनेर बाह्रीमा बसेका छन् । राति ११ बजे पहिरो आएको र सबै भाग्न सफल भएको स्थानीय अमरसिंह निमाविका शिक्षक जीवन कुलुङले टेलिफोनमा बताए । यसअघि सोमबार राति सिसुवा- ४, ५ र ६ मा गएको पहिरोले १२ घर बगेका छन् । ५६ परिवारका ३ सय ८० जना बिस्थापित भएका छन् । उनीहरु बाह्रीमा बस्दै आएका छन् । १२ घर पूरै बगेका र ४४ घरमा पहिरोले बस्नेअवस्था नभएपछि उनीहरु घर छोडेर राति नै बाह्रीमा बस्न गएका हुन् ।

पहिरो गएको स्थानमा मंगलबार राति प्रहरी पुगेको छ । प्रहरीले बिस्थापितलाई उद्धार गर्न थालेको प्रजिअ राजिव पोखरेलले बताए ।

सिसुवाखोला गाविसको वडा ४ र ५ जोड्ने नेवाखोलाको झोलुङ्गे पुल बगाएको छ । गाविस भवन, कालिका  मावि र बालकन्या प्रावि भवनमा पनि क्षति पुगेको अदल राईले बताए । पहिरोमा घर परेकाहरु राति देखिनै बाह्रीमा बसेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा राख्न समस्या भइरहेको छ ।

पहिरोले श्यामबहादुर राईका ४ र कर्णबहादुर राईको १ वटा गाई बगाएको छ । पहिरो जान थालेपछि गाउँले घर छोडेर भाग्दा मानवीय क्षति हुन नपाएको सिसुवा- ६ का कर्ण राईले टेलिफोनमा बताए ।

गत वर्ष साउन २ गते ताम्कू- ९ सिकिदिममा पहिरोले १३ जनाको मृत्यु भएको र ३ सय ६० जना विस्थापित भएका छन् । ती विस्थापितलाई पुनर्वासको व्यवस्था गर्न नसकेको अवस्थामा पुनः सिसुवाखोलामा पहिरोले थप विस्थापित भएका छन् ।

पहिरो गएको क्षेत्रमा ताम्कू प्रहरी चौकीबाट १२ जना प्रहरी पठाएको प्रजिअ राजिव पोखरेलले बताए । 'ताम्कू प्रहरी चौकीबाट प्रहरी खटाएका छौं ।' प्रजिअ पोखरेलले भने । एमाले र माओवादीले पहिरो पीडित क्षेत्रमा टोली पठाउने भएको छ । बुधबार सिसुवाखोला क्षेत्रमा टोली पठाउने एमाले र माओवादीले जनाएको छ ।

सदरमुकाम खाँदबारीमा दैविप्रकोप उद्धार समितिको बैठक बसिरहेको छ । बिस्थापितलाई प्राथमिक राहत उपलब्ध गराउने विषयमा छलफल भइरहेको प्रजिअ पोखरेल बताउछन् ।  

प्रकाशित मिति: २०६७ अषाढ १६ ०६:२९

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।