फँडानीकै लागि सरकारी वन समुदायमा

(2 Votes)
जे पाण्डे/चित्रांग थापा

कुसुम (बाके), अषाढ १६ - वन विभाग, मातहतका अधिकृत, सामुदायिक वन पदाधिकारी र काठ व्यवसायीको मिलेमतोमा सरकारी जंगललाई समुदायमा हस्तान्तरण गर्दै रूख काट्न थालिएको छ । संरक्षणको जिम्मेजारी पाएका उपभोक्ता समिति स्वयं फँडानीमा संलग्न छन् ।

बाँकेमा वन अधिकृतहरूले फँडानी गर्ने योजना अनुरूपै सरकारी जंगल सामुदायिकमा दर्ता गराई त्यसको दुई साताभित्रै कटान अनुमति दिएको समेत प्रमाणहरू फेला परेका छन् । कटानीमा मन्त्रालय र विभागका उच्च अधिकारीको समेत मिलेमतो देखिएको छ ।

डडेलधुराको जोगबुढा-४ स्थित चुरे क्षेत्रको झिलमिला चुरे सामुदायिक वनले साल र अस्ना काटेको छ । आफ्नो क्षेत्रको सीमा नाघेर कञ्चनपुरको चुरे वन क्षेत्रबाट समेत रूख कटानी गरेको र निकासीका लागि सडक बनाइरहेको कञ्चनपुर वन कार्यालयले जनाएको छ । सहायक वन अधिकृत गोपालदत्त जोशीका अनुसार जोगबुढा-४ को सामुदायिक वनका उपभोक्ताले कञ्चनपुरको चुरे क्षेत्रको राष्ट्रिय वनसमेत फँडानी गरेका हुन् । 'वन फँडानी भएको क्षेत्र नगरपालिकाको १ र ३ नं . वडाको सिरानीमा पर्ने वन क्षेत्र हो,' उनले भने ।

व्यवस्थापिका संसद्को प्राकृतिक साधनस्रोत उपसमितिको अनुगमन टोलीले बाँकेमा सरकारी अधिकारीकै संलग्नतामा अनियमितता भएको जनाएको छ । टोलीले विभिन्न स्थानमा ठूलो परिमाणमा काँचो साल काटिएको फेला पारेको छ । मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालयका निर्देशक ऋषिराम त्रिपाठी, जिल्ला वन अधिकृतद्वय श्याम शर्मा र विश्वनाथ महतो, कोहलपुर, कुसुम र बैजापुर इलाका वन कार्यालयका अधिकृत मातहतका रेन्जपोस्टका रेन्जरहरूको संलग्नतामा फँडानी भएको स्रोतको दाबी छ ।

'जंगल नै रित्तिने गरी हरियो साल, खयर र सिसौका रूख छानी-छानी ढालिएका छन्,' दुई दिनदेखि स्थलगत अध्ययनमा रहेका अनुगमन टोलीका संयोजक रामकुमार शर्माले भने, 'उनीहरूको संलग्नताबिना यस्तो ब्रह्मलुट हुनै सक्दैन ।' टोलीले हरिया र सोझा रूख ढालेर निकासाका लागि तयार पारिएका गिँडा ठाउँ-ठाउँमा फेला परेका छन् ।

कटान आदेशभन्दा दोब्बरसम्म रूखहरू काटिएको स्थानीयवासी बताउँछन् । कर्मचारी र माफियाले ९ महिनादेखि योजनाबद्ध ढंगले साल र खयरका हरिया रूख काट्न थालेको स्थानीयले बताएका छन् । कर्मचारीले बाँकेको पूर्व-पश्चिम राजमार्ग उत्तर र चुरेमुनिको जंगल राष्ट्रिय निकुन्जमा परेलगत्तै त्यस क्षेत्रको वन समुदायलाई दिएर फँडानी गर्ने क्रम तीव्र पारेका हुन् । वनले यसै वर्षमात्र ३४ वन समुदायमा हस्तान्तरण गरेको छ । त्यसमध्ये २१ वटामा शर्मा र १३ वटामा महतोले दर्ता गरी कटान आदेशको स्वीकृति दिएका छन् । अधिकृतहरूको अनुमतिपछि राम्रा साल र खयरका हरिया रूख  छानी-छानी काट्न थालिएको हो ।

अनुगमन टोलीले सबैभन्दा बढी कुसुम इलाकाअन्तर्गतका १९ वटा सामुदायिक वनमा फँडानी भएको जनाएको छ । सरकारीभन्दा सामुदायिक वनमा बढी अवैध फँडानी छ । दुई वन अधिकृतसँगै अनुगमनमा निस्केका टोलीका सदस्य मोहम्मद इस्तेयाक राईले भने, 'कर्मचारी नै मिलेर जताततै फँडानी गर्दा पनि मन्त्रालय चुप लाग्नुले उसको संलग्नता पुष्टि गर्छ ।' तीन साताअघि मन्त्रालयको टोलीले पनि फँडानीको निरीक्षण गरेको थियो । उपसचिव हरिहर सिग्देल नेतृत्वको टोलीले अवस्था नदेखेझैं गरी फर्केपछि फँडानी झनै बढेको हो ।

जिल्ला वनले ७४ वटा सामुदायिक वन उपभोक्ता समूहलाई  कटान र लिलाम  अनुमति दिएको छ । करिब ५ लाख सिएफ्टी काठ कटान भएको फेला परेको छ । ७ वटाबाहेक सबै सामुदायिक वनमा रूख कटान भएका छन् । सिंहबाहिनी, हिमालय महिला, मनकामना, जलजला, सतिभवानी, बसेरी, सुनसरी, लालीगुराँस, तिल्कन्या, जनकल्यान, लामिलाडा, सनघर, धारापानी, जराटाकुरी सामुदायिक वनमा अनुमतिभन्दा दोब्बर रूख काटिएको छ ।

खासकुश्मा-५ वैरियास्थित हिमालय महिला सामुदायिक वन अधिकृत शर्माले गएको माघ १७ गते दर्ता गराई त्यसै दिन हस्तान्तरण गरेका हुन् । उक्त वनमा ४ हजार ५ सय ८९ सिएफ्टी काठ काट्ने अनुमति दिएकोमा ११ हजारभन्दा बढी काटिएको छ । खासकुश्मा-४ गोठेरीमा २४ घरधुरीलाइ ३६ घरधुरी बनाएर १ सय ९६ हेक्टर सरकारी वन चैत १५ गते सिंहबाहिनी सामुदायिक वनमा दर्ता र हस्तान्तरण गरी १३ दिनभित्रै अधिकृत महतोले ४ हजार ८१ सिएफ्टी काठ काट्न आदेश दिएका छन् । उक्त वनमा पनि हरिया साल र सिसौका रूख अनुमतिभन्दा दोब्बर  बढी काटिएको छ । कटानमा टिम्बर कर्पोरेसन र वन कर्मचारीको संलग्नता पाइएको छ ।

मोतीपुरस्थित भरैयाको गणपति सामुदायिक वन पूरै सखाप भएको छ । १ हजार २ सय हेक्टर क्षेत्रमध्ये २ सय हेक्टरमा वन काटेर स्थानीयले खेती गर्न थालेका छन् । अधिकृतद्वय शर्मा र महतोले  हरियो साल र सिसौ काटेको र कतिपय स्थानमा अनुमतिविपरीत कटान र घाटगद्धि गरेको स्वीकार गरेका छन् । तर अवैध फँडानीमा आफूहरू संलग्न नरहेको उनीहरूले दाबी गरे । कोहलपुर इलाका वनअन्तर्गत पर्ने महादेवामा भइरहेको फँडानीमा वन अधिकृत रामहरि सेढाई नै ठेकेदार रहेको स्रोतको दाबी छ ।

सामुदायिक र सरकारी वनमा राजस्व ठग्न हरिया सालका मोटा गोलियालाई दाउराको रूपमा बिक्री गर्न चट्टा बनाएका छन् । संसदीय टोलीले सामुदायिक वन ऐनविपरीत हरिया रूख काटेको भन्दै संलग्नलाई  तत्काल कारबाही गर्न सिफारिस गर्ने भएको छ । 'कुनै पनि हालतमा छुट दिन सकिँदैन,' टोलीका संयोजक शर्माले भने, 'यो ठूलो अपराध हो, कमिसन खाएर रूख काट्ने  डीएफओदेखि समूहका पदाधिकारी सबैलाई दण्ड गर्नुपर्छ ।'

यसैबीच डडेलधुरा वन प्रशासनले झिलमिला चुरे सामुदायिक वनलाई यस वर्ष उसको उपभोगमा रहेको वन क्षेत्रबाट २ हजार ७ सय ६५ क्युफिट काठ काट्ने अनुमति दिएको जनाएको छ । जसमध्ये अनुमानित २ हजार ६ सय २५ क्युफिट काठ कटानी भइसकेको वन कार्यालय स्रोतले बतायो ।

'सामुदायिक वनले ८१ रूख कटानी गर्ने सहमतिअनुसार आदेश  लिएको हो, छपान प्रक्रिया सुरु गरी एक डेढ महिनाअघि काठ कटान गरिएको' डडेलधुराका वन अधिकृत धनिचन्द ठकुरीले भने । उनका अनुसार कञ्चनपुरतर्फको चुरे क्षेत्रमा समेत सामुदायिक वनले रूखहरू काटेको सत्य तथ्य बुझ्न रेञ्जपोस्टलाइ पत्र पठाएको तथा उक्त सामुदायिक वन समितिका अध्यक्ष बुद्धि धामीलाई कार्यालयमा उपस्थित हुन पत्र पठाएको बताए ।

 

 

प्रकाशित मिति: २०६७ अषाढ १६ ०८:३१

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।