२.५ लाखको सामान चोरी
विमानस्थलमा लापरबाही
काठमाडौ, अषाढ १४ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन युवाको सामान चोरी भयो । चार वर्षपछि अमेरिकाबाट स्वदेश फर्किएका प्रमोद झासहित मन्दिरा श्रेष्ठ र ललितपुरका सुगम श्रेष्ठको सामान चोरी भएको हो । यी सबै बोस्टनबाट मस्को हुँदै सिंगापुरसम्म सिगांपुर एयर र सिंगापुरबाट यहाँसम्म सिल्क एयरको एम आई ४१२ बाट आएका थिए । बिहान ११:४५ बजे विमानस्थल उत्रिएका यी यात्रुले १२ बजे आफ्नो सामान 'क्लेम' गर्न जादाँ झोला त थियो तर झोलाभित्रको सामान गायब ।
भारतबाट आउने विमान कम्पनीहरू र थाईबाहेक सबैको ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल वायु सेवा निगमले लिएको छ । आफ्नो बिहेका लागि नेपाल आएका प्रमोद दुई दिनमै जनकपुर जानुपर्नेछ । तर विमानस्थल 'ब्यागेज क्लेम' विभागले पनि उनको सामान खोजीबारे के भइरहेको छ भनेर जानकारी लिन दुई सातापछि फोन गर्नुस् भनेर पठाइदियो । 'तर यो अवधिमा पनि सामान पाइन्छ वा क्षतिपूर्ति पाइन्छ भन्ने ग्यारेन्टी छैन,' प्रमोदले भने ।
सामान चोरी भएपछि विभागले आफ्नो लोड/अनलोड गर्ने कर्मचारीको कार्यसमय सकिएकाले तत्काल खोजतलास गर्न नसक्ने बतायो । 'एयरवेजको कर्मचारीलाई पनि भन्यौं, उनीहरूले मतलवै गरेनन्,' उनले भने, 'प्रहरी त्यहीँ भएर पनि के गर्ने भन्छन् ?' भारतलगायत केही मुलुकको आफ्नै ह्यान्डलिङ टोली भए पनि अन्य विमान कम्पनीको सम्पूर्ण जिम्मा लिएको नेपाल वायुसेवा निगमका अधिकारी भने सम्पर्कमा आउन चाहेनन् । घटनाबारे बुझ्न विमानस्थल पुग्दा निगमका कर्मचारीले यसबारे भोलि आउनु भनेर फर्काए । प्रमोदको साढे २ लाख रुपैयाँ बराबरको एउटा मोबाइल, सोनीको डिजिटल क्यामेरा, क्यानोन क्यामेरा, आइपडलगायत चोरी भएको छ । त्यस्तै मन्दिराको झोलाबाट प्रतिवटा ४ सय अमेरिकी डलर पर्ने पाँच घडी र सुगमका दुई घडी र मोबाइल चोरिएका छन् ।
यो घटना नयाँ भने होइन । 'प्रत्येक दिन दुई/तीन यात्रुको सामान चोरिएकै हुन्छ,' विमानस्थलका ट्याक्सी चालक बसन सापकोटाले भने, 'सबैको मिलेमतो छ । थाहा भएर पनि हामीले बोल्न मिल्दैन ।' उनको यो अभिव्यक्तिलाई विमानस्थलमा खटिएका एक सुरक्षा अधिकारीले समेत स्वीकार गरेका छन् । 'चोरी हुन्छ,' उनले थपे, 'तर यसमा सुरक्षा निकायले के गर्नसक्छ । हामीले बाहिर ड्युटी गर्ने हो । ब्याग खोलेर कसैको सामान चोरी भयो/भएन भनेर हेर्न मिल्दैन ।' सामान चोरी भएकाले गुनासो दर्ता गराएपछि खोजी गर्ने र प्रमाण फेला परे सम्बन्धितलाई कारबाही गर्न सकिने ती अधिकारीले बताए ।
त्यस्तै घटना हुनासाथ जानकारी पाएको सिल्क एयरले पनि चोरीबारे छानबिन गर्न यो दिन कुनै पहल थालेन । एयरका वित्तीय अधिकृत सरोज खनालले आफ्नो आधिकारिक प्रतिनिधि नभएको भन्दै सोमबार मात्र पुलिस रिपोर्ट बनाउने जानकारी दिए । 'घटनाबारे तत्काल थाहा भएको थियो,' उनले भने, 'भोलि (सोमबार) सिंगापुरस्थित मुख्य कार्यालयलाई जानकारी पठाउनेछौं । उताबाट जस्तो प्रतिक्रिया आउँछ, त्यसैअनुसार कारबाही अगाडि बढाइनेछ ।'
प्रकाशित मिति: २०६७ अषाढ १४ ०९:२०















तपाईंको प्रतिकृया