दाउराका नाममा राम्रो काठ बेचबिखन
संसदीय टोलीको अनुगमन
देउखुरी (दाङ), अषाढ १३ - सामुदायिक वन समूहका पदाधिकारीहरूले वन कर्मचारीसँगको मिलेमतोमा राम्रो काठलाई दाउरमा मिसाएर बिक्री गर्ने गरेको रहस्य खुलेको छ । माथि दाउराले छोपेर तलतिर राम्रो काठ लुकाएर बिक्री गर्ने गरेको पाइएको छ । राम्रो काठलाई दाउराको मूल्यमा बिक्री गरेबापत ठेकेदारबाट समूहका पदाधिकारी र वन कार्यालयका रेञ्जरले कमिसन खाने गरेको वन अध्ययनका लागि आएको संसदीय टोलीले जनाएको छ ।
व्यवस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिअन्तर्गतको वन अध्ययन अनुगमन उपसमितिका संयोजक रामकुमार शर्माको नेतृत्वको टोलीले शुक्रबार देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनको अनुगमन गरेपछि उक्त निष्कर्ष निकालेको हो । 'अधिकांश वन समूहका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा राम्रो काठको गोलियालाई दाउराको नाममा बिक्री गरिएको छ,' शर्माले भने, 'यसबाट लाखौंको भ्रष्टाचार भएको देखिन्छ । गोलियालाई दाउरा बनाएर बेच्न पाइँदैन । यो ठूलो अनियमितता हो ।'
वन ऐनअन्तर्गत दाउराको साइज दुई फिट लामो हुनुपर्नेमा चार फिटसम्म काटिएको देखिएको शर्माले बताए । 'वन कर्मचारीको सहमतिविना यो सम्भव छैन,' उनले भने, 'दाउरामा ४० प्रतिशत राम्रो काठ मिसाइएको देखियो । यो सबै काठ फर्निचरमा प्रयोग हुन्छ । जसबाट दाउरा किन्ने ठेकेदारले ठूलो लाभ लिइरहेका छन् । लाभांश पाएर नै पदाधिकारीले राम्रो काठलाई दाउरामा घुसाएर बेचेको हुनसक्छ ।'
दाउरा बेच्दा पनि कम मूल्यमा कारोवार गरी समूहलाई राजस्व घाटा लगाउने गरेको अनुगमन टोलीले जनायो । टोलीमा सहभागीहरूका अनुसार एक चट्टा दाउरालाई कसैले ७ हजार, कसैले १२ हजार र कसैले ४५ हजार सम्ममा बिक्री गर्ने गरेका रहेछन् । 'दाउरा बिक्री गर्दा मनोमानी देखियो,' टोलीका सदस्य सभासद् गगन थापाले भने, 'मूल्यमा कतै पनि समानता पाउन सकिएन । दाउरा बिक्री गर्नकै लागि राम्रो काठलाई टुक्रा पार्ने र त्यसलाई व्यक्तिगत लाभका आधारमा बिक्री गर्ने गरेका रहेछन् ।'
एक चट्टामा ५ सय सेफ्टी काठ हुने गर्दछ । ५ देखि १० सेफ्टी बराबरको मूल्यमा ५ सय सेफ्टी नै बिक्री गर्ने गरेको पाइएको टोलीको भनाइ छ ।
शुक्रबार अनुगमन गरिएका सतबरियाको कर्री र गोबरडिहाको कुलपानी सामुदायिक वनमा चट्टा बनाएर राखिएका सबैजसो दाउरामा राम्रो काठ मिसाइएको फेला पारिएको थियो । पूर्व रेञ्जर समेत रहेका टोली संयोजक शर्माले चट्टामा रहेका प्रत्येक काठ नाप्न लगाएर साइजको विवरण लिएका थिए । जिल्लाका २५ देखि ३० सामुदायिक वनमा यही समस्या देखिएको शर्माले बताए । वन कार्यालयको उदासिनताका कारण प“mडानी र अतिक्रमण बढेको उनको भनाइ छ ।
जिल्लाका केही सामुदायिक वनमा उपभोक्ताले प“mडानी गरी जग्गा भागबन्डा गरेको पनि देखएकाले यसलाई तत्काल रोक्नुपर्ने आवश्यक रहेको टोलीले बताएको छ । समुदायमा वन हस्तान्तरण गरिएलगत्तै काठ काट्ने अनुमति पनि दिने गरेकाले प“mडानी बढेको टोलीको प्रतिक्रिया छ । 'वन हस्तान्तरण र वन काट्ने अनुमतिका बीच केही वर्षको अन्तर हुनुपर्छ नत्र राष्ट्रिय वन काट्न लाइसेन्स दिएजस्तो हुन्छ,' टोली संयोजक शर्माले भने, 'यसका लागि वन कार्यालय जिम्मेवार हुनुपर्ने देखिएको छ ।'
दाउरामा काठ मिसाएर बेच्ने गरेको पाइएपछि जिल्ला वन अधिकृत किशोरचन्द्र गौतमले त्यस्ता सामुदायिक वनलाई तत्काल दाउरा र काठ छुट्याएर राख्न निर्देशन दिएका छन् ।
'काठको मूल्य धेरै फरक छ, दाउरामा बेच्दा ठूलो घाटा लाग्छ,' उनले भने, 'यस्तो काम गर्दै आएका सबै वन समूहलाई अब वन ऐनअनुसार मात्र काम गर्न भन्छौं ।' वन कार्यालयका अनुसार जिल्लाका २ सय ९६ स्थानमा ३ हजार ६ सय ८० दशमलव २१ हेक्टर वन क्षेत्र प“mडानी तथा अतिक्रमण भएको छ ।
देशका विभिन्न भागमा व्यापक वन फडानी भएका खबर बाहिर आएपछि संसदको प्राकृतिक स्रोत साधन समितिअन्तर्गत ६ वटा टोली वन अनुगमनका लागि खटिएका छन् । टोलीले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका वन अध्ययन गरी वनको अवस्थाका साथै नीतिगत सुधारसम्बन्धी सुझावसहित प्रतिवदेन तयार पार्ने संसदको वन अनुगमन टोलीले जानकारी दिएको छ ।
जमिनमुनिबाट निकालियो
टीकापुर (कास)- बलिया- ८ को प्रस्तावित 'हाम्रो त्रिशक्ति सामुदायिक वन' को अवैध रूपमा काटेर जमिनमुनि गाडेर राखिएका सालका गोलिया निकालिएको छ ।
सालको काठ जमिनमुनि गाडेको अवस्थामा फेला परेको समाचार कान्तिपुरमा प्रकाशित भएपछि सर्वदलीय टोलीले काठ निकालेको हो । जिल्ला वनको निर्देशनमा निकालिएका काठ घाटगद्दी गरिएको छ ।
जिल्ला वनका सहायक वन अधिकृत भैरव घिमिरे, इलाका वन कार्यालय बलचौरका पदाधिकारी र राजनीतिक दल सहितकोे बैठकले उक्त वन भित्र गाडेर राखिएका करिब ३ सय क्युफिट सालका १५ ओटा गोलिया इलाका वन कार्यालय बलचौरको हाताभित्र घाटगद्दी गरेर राख्ने निर्णय गरेको हो ।
सामुदायिक वनका पदाधिकारीकै संलग्नतामा जंगलभित्र जमिनमुनि काठ गाडेर स्याउलाले छोपी लुकाएको अवस्थामा काठ फेला परेको थियो ।
चार महिनादेखि सामुदायिक वनका उपभोक्ताको घर टहरा, सार्वजनिक भवन तथा पुल निर्माणका नाममा रुख कटानी सुरु भइरहेको छ । यो वनमा मिलोमतोमा करिब २ हजार क्युबफिट काठ काटिएको अनुमान स्थानीयको छ ।
पछिल्लो पटक समितिले अमराज बम, विष्णु न्योपाने, नरबहादुर रोकाया र दल बहादुर शाहीको नाममा घर बनाउन सामुदायिक वन समितिले दिएको पुर्जीका नाममा अन्धाधुन्ध काठ काटिएको थियो । इलाका वन अधिकृत हेमन्तकुमार शाहले काठ तस्करमा संलन्न बलिया- ८ थपालीपुरका बम र शाही भागेर भारत गएकाले र्फकने वित्तिकै उनीहरूलाई पक्राउ गरी वन ऐनअनुसार कारबाही गर्ने बताए ।
प्रकाशित मिति: २०६७ अषाढ १३ ०८:३५

















तपाईंको प्रतिकृया