बाँदरमुढे घटना/ 'न्याय होइन, धम्की पायौं’

(1 Vote)
दीपेन्द्र बडुवाल

नारायणगढ , जेष्ठ २४ - पाँच वर्षअघि माओवादीले बस एम्बुसमा पार्दा ३५ सर्वसाधारणसहित ३८ जनाको ज्यान जाने गरी भएको चितवनको माडी उपत्यकाको बाँदरमुढे घटनाका दोषीलाई अझै कारबाही गरिएको छैन । घटनामा संलग्नहरू माडीमै खुलमखुला हिँड्ने गरेका छन् । दोषी किटान भइसक्दासमेत कारबाही नगरिएकामा पीडितले आक्रोश व्यक्त गरेका छन् ।

अर्कोतर्फ न त पीडितले कुनै राहत वा क्षतिपूर्ति नै पाएका छन् । कतिपयले त आर्थिक अभावमा उपचार गर्नसमेत कठिनाइ बेहोरिरहेका छन् ।

'घाइतेलाई मलमपट्टी लगाउन पनि सरकार र माओवादी दुवै उदासीन देखिए,' दुःखद घटनाको पाँच वर्ष पुगेकाले आइतबार 'कालो दिन' का रूपमा सम्भिmँदै घाइते र मृतकका आफन्तले आयोजना गरेको शोकसभामा बाँदरमुढे पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपानेले भने, 'गाली, धम्कीभन्दा केही पाएनौं ।'

मृतकको सम्झनामा माडीमै दुई वर्षअघि बनाइएको स्मारकमा 'घटना तत्कालीन आतंककारी माओवादीले घटाएको' उल्लेख गरेपछि त्यसलाई हटाउन माओवादीले दबाब दिएको उनले सुनाए । 'नहटाएपछि माओवादीहरू हामीसँग भेट हुँदा पनि बोल्दैनन्,' उनले भने, 'पीडितले कहिले, कहाँ पुगेर न्याय पाउने हो अन्योल छ ।' 

घटनामा संलग्नहरू माडीमै खुलमखुला हिँड्ने गरेको पीडितले बताए । 'दोषी किटान भइसक्दासमेत कारबाही गरिएन,' पीडित यमनाथ सुवेदीले आक्रोश व्यक्त गरे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला माडी जाने कार्यक्रम तय गरे तर गएनन् । उनले करिब चार वर्षअघि चितवनको फूलबारी गाविसमा घाइतेलाई भेटेर राहतको आश्वासन दिएका थिए तर कार्यान्वयन गरेनन् । घटना सम्बन्धमा माओवादीले त्यतिबेलै माफी मागेको थियो ।

माओवादीले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको स्थानीयले बताए । 'सरकारमा हुँदासमेत माओवादीले राहत दिएन,' घटनामा परिवारका पाँच सदस्य गुमाएका पीडित नमप्रसाद घिमिरेले भने । घाइते तथा समितिका उपाध्यक्ष कृष्ण अधिकारीका अनुसार केही घाइते अहिले पनि आफ्नै घरजग्गा बेचेर उपचार गराउन बाध्य छन् । घाइते अधिकारी, विष्णुमाया विक, हरिकला पुन, दुर्गामाया मगर, सीता सुवेदी लगायतले नियमित औषधि सेवन गरिरहेका छन् । आठ जना घाइते अझै उपचार गराइरहेका छन् ।

'घाइते परिवारले घरबाट ४/५ हजार रुपैयाँ निकाल्न सक्दैनन् । उनीहरू बाँचिन्छ कि मरिन्छ भन्ने द्विविधामा छन्,' अधिकारी भन्छन् । उपचारको व्यवस्था नगरिए गम्भीर अवस्थाका बाँकी घाइतेको पनि ज्यान जोखिममा रहेको स्थानीयले बताए । 'झट्ट हेर्दा असर देखिन्नँ,' अधिकारीले भने, 'दीर्घकालमा ज्यान जाने गरेको छ ।'  अधिकारी आफैंले भने एक वर्षदेखि पत्रकार युवराज घिमिरेको सहयोगमा निःशुल्क उपचार गराइरहेका छन् । 'नियमित परीक्षण र औषधि निःशुल्क पाएको छु,' घिमिरेकै सहयोगमा काठमाडौंको मेडिकेयर अस्पतालमा खुट्टाको शल्यक्रिया गराएको अधिकारीले भने ।

समितिका अनुसार प्रभावकारी उपचार नहुँदा दुई जना घाइतेको मृत्यु भइसकेको छ । टाउकोमा गम्भीर चोट लागेका घाइते अयोध्यापुरी २ का गंगाबहादुर गुरुङको दुई वर्षअघि मृत्यु भएको थियो ।

टाउको र करङमा चोट लागेका अर्का घाइते नारायणप्रसाद पौडेलको पनि साढे दुई वर्षअघि मृत्यु भएको थियो । घटनामा घाइते र मृतकका आफन्तले आइतबार बिहानै दीप प्रज्ज्वलन र शोकसभा गरे । त्यहाा एमालेबाहेक अन्य दलका प्रतिनिधि थिएनन् । नेपाली सेनाको सहयोगमा बाँदरमुढेमा स्मारक निर्माणपछि स्थानीयले प्रत्येक वर्ष त्यसमा दीप प्रज्ज्वलन गर्दै आएका छन् ।

पाँच वर्षअघि अयोध्यापुरीस्थित बगईबाट भरतपुरतर्फ आउँदै गरेको ना१ख ३२४५ नम्बरको बस माओवादीले गराएको धराप विस्फोटमा पर्दा ३५ सर्वसाधारण र तीन सैनिक गरी ३८ जनाको ज्यान गएको थियो । करिब ७२ घाइते भएका थिए । एक सय ५० भन्दा बढी यात्रु रहेको बसमा सैनिक सवार भएको भन्दै माओवादीले निसाना बनाएका थिए ।

 

प्रकाशित मिति: २०६७ जेष्ठ २४ ०७:५२

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।